सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार भएको छ। मतगणनास्थललाई तार-जालीले घेर्ने, सुरक्षा व्यवस्था मिलाउनेलगायतका काम सम्पन्न भएको सहायक निर्वाचन अधिकृत श्यामहरि अधिकारीले जानकारी दिएको छ।
मतपेटिका मतगणनास्थलमा प्राप्त भइसकेपछि विलम्ब नगरेर सर्वदलीय बैठक, कानुनी प्रक्रियालगायतका काम सम्पन्न गरी मतगणना सुरु हुने उनले जनाए।
सप्तरी १ का लागि कन्चनरूप नगरपालिकाको वडा नम्बर ८ स्थित रौनियार सेवा समितिमा, सप्तरी २ का लागि राजविराज नगरपालिका वडा नम्बर ७ स्थित जिल्ला खेलकुद विकास समितिमा, सप्तरी ३ का लागि शम्भुनाथ नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा र सप्तरी ४ का लागि खडक नगरपालिकाको वडा नम्बर ७ को कार्यालयमा मतगणनास्थल बनाइएको छ।