मतदानको दिन आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्न दिने निर्णय
प्रतिनिधिसभा निर्वाचनको मतदानको दिन आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानहरू यथावत् सञ्चालन गर्न दिइने भएको छ। उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो।
यसैगरी, हवाई टिकट भएका यात्रुहरूलाई विमानस्थलदेखि बसोबास स्थलसम्म र बसोबास स्थलदेखि विमानस्थलसम्म यात्रा गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न दिने निर्णय पनि भएको आयोगले जनाएको छ।
साथै, मतदानको दिनका लागि निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी हुने सवारी पास उपलब्ध गराउन आयोगको सचिवालयपरिसरमा पास वितरण इकाइ खडा गर्ने र सो इकाइमा आयोगको तर्फबाट दुईजना र जिल्ला प्रशासन कार्यालय काठमाडौंको तर्फबाट दुईजना कर्मचारीलाई तोक्ने बैठकको निर्णयमा उल्लेख छ।
सौन्दर्य प्रतियोगिताका नाममा शोषण गर्न खोजेको आरोपमा आयोजक पक्राउ
सौन्दर्य प्रतियोगिताका नाममा प्रतिस्पर्धीलाई दुर्व्यवहार गरी शोषण गर्न खोजेको आरोपमा प्रहरीले आयोजकलाई पक्राउ गरेको छ। मिस बिभा ब्युटी पिगेन्टका आयोजक चितवनको भरतपुर २२ घर भएका ४१ वर्षीय उद्धव अधिकारीलाई ललितपुर प्रहरीले बिहीबार पक्राउ गरेको हो।
यो प्रतिस्पर्धीलाई आयोजकले उपाधि दिलाइदिने आश्वासनमा बानेश्वरस्थित कार्यालयमा बोलाएर ‘आयोजक तथा विदेशीहरूलाई समेत खुसी पार्नुपर्छ, बेड सेयर गर्नुपर्छ, नगरकोट घुम्न जाउँ भन्नेजस्ता कुराकानी गरी विभिन्न प्रलोभनमा पारी सोही दिन काठमाडाैंको बानेश्वरबाट ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ६ सानागाउँमा पुग्दा कुराकानी गर्दै जाने क्रममा मनमुटाव भई एक्कासि हातपात गरी सार्वजनिक स्थलमा अभद्र व्यवहार गरेको’ भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको ललितपुर प्रहरीले भनेको छ।
प्रचण्डको स्पष्टीकरण– कसैसँग तालमेल गर्दैनौँ
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न निर्वाचनमा कुनै पनि दलसँग तालमेल नगर्ने स्पष्ट पारेका छन्।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले नेकपा पहिलो दिनदेखि नै आफ्नै एजेन्डाको बलमा चुनावमा जानेमा दृढ रहेको बताए।
‘हामी यसपटक न २३ गतेको निम्ति जिम्मेवार दलहरूसँग समीकरण गर्ने पक्षमा छौँ, न २४ को विध्वंस गर्नेहरूसँग नै समीकरण गर्ने पक्षमा छौँ,’ प्रचण्डले भने।
नेप्से ६ अंकले बढ्यो, कारोबार रकम चार अर्बभन्दा माथि
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से ६.०३ अंकले बढेर दुई हजार ६५४.९३ विन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ०.४२ प्रतिशतले बढेको छ।
आज ३३५ कम्पनीका एक करोड ५३ हजार कित्ता सेयर चार अर्ब १७ करोड ४६ लाख ३० हजार रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा गिरावट आएको हो। बुधबार चार अर्ब ३७ करोडको सेयर खरिद–बिक्री भएको थियो।
सिरहाको नवराजपुर गाउँपालिका भवन निर्माण भ्रष्टाचारमा गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत समेत चार जना दोषी पाइएका छन् । बिहीबार विशेष अदालतले नौ महिना अघि दायर मुद्दामा आंशिक ठहरको फैसला गरेको हो ।
फैसलाअनुसार अमरेन्द्र कुसियैत, कृष्णा साह र जयनारायण यादवमाथि कसूर कायमको फैसला भएको छ । विश्वमोहन प्रसाद यादवपनि दोषी ठहर भएका छन् । झन्डै ३४ लाख ४० हजार रुपैयाँको भ्रष्टाचार मुद्दामा दोषी पाइएका उनीहरु चारै जनाको हकमा सजायनिर्धारणका लागि २६ फागुनको पेसी तोकिएको छ । विशेषका सदस्य नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले यस मुद्दामा फैसला सुनाएको हो ।
चोरीका गाडी दर्ता प्रकरणः सहसचिवसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
चोरीका गाडी आर्थिक चलखेलका आधारमा दर्ता गरी बिक्री गरेको घटनामा सहसचिवसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार सहसचिव उमेश ढुंगाना, यातायात कार्यालयका बाँकेका तत्कालीन प्रमुख लोकबहादुर सुनार, उपसचिव रमेश गौतमलगायतविरुद्ध मुद्दा दायर गरेको हो।
सहसचिव ढुंगाना पछिल्लो समय लमजुङको सिडिओका रुपमा कार्यरत थिए। मुद्दा दायर भएसँगै उनी निलम्बनमा परेका छन्। त्यस्तै, लोकबहादुर सुनार लुम्बिनीको आन्तरिक मामिला मन्त्रालयमा सचिवका रुपमा कार्यरत थिए।
४८ वटा नेपाली राहदानीसहित दिल्ली जान लागेकी महिला विमानस्थलबाट पक्राउ
४८ वटा नेपाली राहदानीसहित दिल्ली जान लागेकी एक महिलालाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको छ।
भुटान एयरलाइन्सको उडान नं बि३ ७७३ बाट दिल्ली जान लागेको अवस्थामा प्रहरीले काठमाडौं नागार्जुन नगरपालिका– १ स्थायी ठेगाना भएकी ४५ वर्षीया ताराचन्द चौधरीलाई पक्राउ गरेको हो।
पछाडि भिर्ने कालो रंगको झोला एक्स–रे मेसिनबाट स्क्रिनिङ गर्ने क्रममा ४८ वटा अवैध पासपोर्ट भेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरनबाट खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पठाइएको छ।
लमजुङका सिडिओ ढुंगाना निलम्बित
लमजुङका सिडिओ उमेश ढुंगाना निलम्बनमा परेका छन्। उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
ढुंगाना गत वर्ष लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सचिवको रुपमा कार्यरत रहँदा भारतबाट चोरी गरी ल्याइएका गाडीको दर्ता प्रकरणमा मुछिएका हुन्। जसमा उनीसहित ३२ जनाविरुद्ध मुद्दा दायर भएको छ।
चुनावी तालमेलबारे फैलिएको चर्चाप्रति नेकपा उम्मेदवार तामाङको स्पष्टीकरण– सहकार्यको सम्भावना छैन
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले झापा ५ मा कुनै पनि दलसँग चुनावी तालमेलको सम्भावना नरहेको बताएका छन्।
सामाजिक सञ्जालमा फैलिएका अड्कलबाजीप्रति प्रतिक्रिया दिँदै उनले भने, ‘पार्टीले वर्तमान अवस्थामा अन्य दलसँग सहकार्य नगर्ने स्पष्ट नीति लिएको छ र कुनै छलफल भएको छैन।’ उनले मतदातालाई भ्रममा नपर्न आग्रह गर्दै घरदैलो र प्रत्यक्ष बहसमार्फत समर्थन आह्वान गरे।
सरकारले २३ सहसचिवको सरुवा गरेको छ। फागुन १२ को मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सहसचिवहरूको सरुवा भएको हो।