साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से ६.०३ अंकले बढेर दुई हजार ६५४.९३ विन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ०.४२ प्रतिशतले बढेको छ।
आज ३३५ कम्पनीका एक करोड ५३ हजार कित्ता सेयर चार अर्ब १७ करोड ४६ लाख ३० हजार रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा गिरावट आएको हो। बुधबार चार अर्ब ३७ करोडको सेयर खरिद–बिक्री भएको थियो।
नेप्सेका १३ समूहमध्ये आज चार समूहको सूचक ओरालो लागेको छ। होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचल फन्ड एक प्रतिशतभन्दा कमले घटेका हुन्। निर्जीवन बिमा समूह १.०९ प्रतिशतले बढ्दा बाँकी समूहको वृद्धि एक प्रतिशतभन्दा कम छ।
आज सर्वाधिक कमाउनेमा सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ता छन्। यी कम्पनीको मूल्य नौ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ। सर्वाधिक गुमाएको श्रीनगर एग्रिटेकको मूल्य तीन प्रतिशतभन्दा धेरैले घटेको छ।