अमेरिकामा मानवतस्करी गरेर अकुत आर्जन गरेका दुई अभियुक्तसँग करोडौँको सम्पत्ति भेटिएको छ। उनीहरूविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर गरेको छ।
रुकुम पश्चिमको बाफीकोट– २ घर भएका कुलबहादुर बस्नेत र रुकुम पूर्वको सिस्ने गाउँपालिका– २ घर भएका अमित बस्नेतविरुद्ध मानव बेचबिखन अनुसन्धान ब्युरोले जिल्ला अदालत, काठमाडौंमा सोमबार मुद्दा दायर गरेको हो।
कुलबहादुरले ७० करोड ६० लाख ५३ हजार ७३३ तथा अमितले २७ करोड ४५ लाख २९ हजार रुपैयाँबराबरको रकम कारोबार गरी शुद्धीकरण गरिएको भेटिएपछि मुद्दा दायर गरिएको ब्युरोका एसपी राजन लिम्बूले जानकारी दिए।
कांग्रेस छोडेर एमाले रोजेका जितेन्द्रनारायण फेरि कांग्रेसमै फर्किए
नेपाली कांग्रेस छोडेर केही वर्ष एमाले प्रवेश गरेका जितेन्द्रनारायण देव फेरि कांग्रेसमै फर्किएका छन् । संविधानसभा सदस्यसमेत रहेका देव त्यतिवेला कांग्रेस छोडेर एमाले प्रवेश गरेका थिए । तर, उनले एमाले पनि छोडेका छन् । केही दिनअघि एमाले छोडेका देवले आफू कांग्रेसमै फर्किएको घोषणा गरेका छन् ।
नेपाली कांग्रेसको विशेष राष्ट्रिय महाधिवेशनद्वारा पारित भएको नीति, विचार, योजना, प्रस्ताव तथा प्रतिबद्धताहरूलाई स्वागत, समर्थन तथा आत्मसात् गर्दै कांग्रेसमा फर्किएको विज्ञप्ति जारी गर्दै घोषणा गरे ।
निर्वाचनविरोधी गतिविधिमा लागेको आरोपमा नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले नेकपा बहुमतका महासचिव धर्मेन्द्र बाँस्तोलालाई पक्राउ गरेको छ। प्रहरीले मंगलबार दिउँसो उनलाई काठमाडौंको टेबहालबाट पक्राउ गरेको हो।
सो पार्टीले निर्वाचनलाई बहिष्कार गरी निर्वाचनविरोधी गतिविधि बढाएपछि प्रहरीले पक्राउ गरेको हो। सो पार्टीका अन्य नेताहरू पनि निगरानीमा रहेको प्रहरी स्रोत बताउँछ।
खोकनाको विवाद थाती राखेर ‘फास्ट ट्रयाक’लाई अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं-तराई/मधेश द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकी छिन्।
ललितपुरको खोकनामा धार्मिक-सांस्कृतिक सम्पदा तथा आस्थामा असर पर्ने भन्दै स्थानीय समुदायले विरोध गर्दै आएका छन्। द्रुतमार्गबारे मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री कार्कीले वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकी हुन्।
यसअघि गत माघ १३ गते प्रधानमन्त्री कार्कीले निर्माणाधीन द्रुतमार्गको निरीक्षण गरेकी थिइन्। त्यस क्रममा पनि उनले विकास निर्माणका काम गर्दा स्थानीयका सरोकारलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएकी थिइन्। सुरुवातको बिन्दु परिवर्तन गरेर भए पनि राष्ट्रिय गौरवको आयोजना चाँडो सम्पन्न गर्नेतर्फ लाग्नुपर्ने उनको भनाइ थियो।
बंगलादेशमा तारिक रहमानले लिए प्रधानमन्त्रीको शपथ
बंगलादेशमा हालै भएको निर्वाचनमा बहुमत ल्याएको बंगलादेश नेशनललिष्ट पार्टी(बिएनपी)का नेता तारिक रहमानले प्रधानमन्त्रीको समथ लिएका छन्। सोमबार ढाकामा रहमान र मन्त्रीहरुले सपथ लिएका हुन्। उनले मंगलबार नै पदभार ग्रहण गरेका छन्।
तत्कालिन प्रधानमन्त्री शेख हसिना आन्दोलनबाट अपदस्त भएको १४ महिनापछि गत १२ फेब्रुअरीमा सम्पन्न निर्वाचनमा बिएनपी तीन सय मध्ये २१२ सिटमा विजयी भएको थियो।
रहमान पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा हुन्। उनी तीन महिनाअघि मात्र निर्वाचनसबाट स्वदेश फर्किएका थिए। पहिलोपटक निर्वाचनमा भाग लिएका उनले पार्टी र देशको नेतृत्व सम्हाल्ने अवसर पाएका छन्।
रास्वपाका डोलप्रसाद अर्यालको चुनावी वाचापत्र सार्वजनिक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति र काठमाडौँ क्षेत्र नं. ९ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डोलप्रसाद अर्यालले आफ्नो चुनावी वाचापत्र मंगलबार सार्वजनिक गरेका छन्।
‘तपाईंको एक मत, विश्वासको सार, काठमाडौं क्षेत्र नं.९ को समृद्धिको आधार’ भन्ने नारासाथ उनले समग्र विकास र सुशासनमा केन्द्रित योजनाहरू प्रस्तुत गरेका हुन्।
अर्यालले वाचापत्रमा भ्रष्टाचार नियन्त्रणलाई पहिलो प्राथमिकता राख्दै शून्य सहनशीलताको नीति अपनाउने र प्रत्येक वडामा नागरिक अगुवासहितको खबरदारी टोली गठन गर्ने प्रतिबद्धता जनाएका छन्। सार्वजनिक सेवामा मासिक क्षेत्रगत सुनुवाइ आयोजना गरी जनगुनासोको समाधान एक हप्तादेखि ३० दिनभित्र गर्ने योजना पनि समेटिएको छ।
नेपाल र स्कटल्यान्डबिचको खेल हेर्न वानखेडे स्टेडियम पुगेका नेपाली समर्थक (फोटोफिचर)
विश्वकै ब्रान्डिङ सहरमा अहिले १०औँ आइसिसी टी–२० विश्वकप चलिरहेको छ। आइसिसीले नेपालको सबै खेल वानखेडे रंगशालामा राखेको कारण पनि अहिले वानखेडे रंगशाला र नजिकै रहेको मरिन ड्राइभ एक किसिमले नेपाली समर्थकमय बनेको छ।
आज भइरहेको नेपाल र स्कटल्यान्डबिचको खेल हेर्न पुगेका दर्शकले वानखेडे स्टेडियम नेपाली समर्थकमय बनेको छ।
अपहरण मुद्दामा फरार अभियुक्त १५ वर्षपछि पक्राउ
अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर भई फरार अभियुक्त पक्राउ परेका छन्। पर्साको बहुदरमाई- ८ का ६० वर्षीय मनोज साह कानुलाई इलाका प्रहरी कार्यालय पोखरियाले पक्राउ गरेको हो।
जिल्ला अदालत, पर्साले अपहरण मुद्दामा उनलाई २५ माघ २०६७ मा नौ वर्ष कैद र ५० हजार जरिवाना हुने फैसला सुनाएको थियो। फरार भएको १५ वर्षपछि प्रहरीले उनलाई गाउँबाटै पक्राउ गरेको हो।
फैसला कार्यान्वयनका लागि अभियुक्त कानुलाई जिल्ला अदालतमा बुझाइएको इप्रका पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक बुधबार बिहान ११ बजे
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११:०० बजे भर्चुअल माध्यमबाट बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयले जारी गरेको सूचनाअनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूका साथै सातै प्रदेश कार्यसमितिका सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।
बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीका संगठनात्मक गतिविधि तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल हुने जनाइएको छ।
समूह चरणबाटै बाहिरियो अस्ट्रेलिया, जिम्बावे अघिल्लो चरणमा
आइसिसी टी २० विश्वकपमा उपाधि दाबेदारमध्ये एक मानिएको अस्ट्रेलिया समूह चरणबाटै बाहिरिएको छ। समूह बीबाट श्रीलंका र जिम्बावे सुपर ८ मा प्रवेश गरेका छन्।
मंगलबारका लागि तय भएको जिम्बावे र आयरल्यान्डबिचको खेल वर्षाका कारण रद्द भएर उनीहरूले अंक बाँडेसँगै अस्ट्रेलियाको सम्भावना समाप्त भएको हो। अस्ट्रेलियाले यसअघि तीन खेलमा दुई खेल हारिसकेको छ। श्रीलंका र जिम्बावेसँग अस्ट्रेलिया पराजित भएको थियो। जिम्बावे मंगबार आयरल्यान्डसँग पराजित भएको अवस्थामा उसको सम्भावना कायम रहन्थ्यो।