नेपाली समर्थकमय वानखेडे

शनिबार, २ फागुन, २०८२
डिजिटल संस्करण
  • टी–२० विश्वकपमा अमेरिका, बेलायत, अस्ट्रेलियालगायत देशबाट समेत नेपाली समर्थक मुम्बई आएका छन् 

विश्वकै महँगो सहरमध्ये एकमा पर्छ मुम्बई । बलिउड स्टारदेखि भारतका ठुला धनाढ्यको निजी महल भएको सहर पनि मुम्बई नै हो । बलिउड स्टारदेखि  क्रिकेटका ‘भगवान्’ भनेर चिनिने सचिन तेन्दुलकर तथा विश्वकै धनाढ्य सूचीमा आउने मुकेश अम्बानी पनि मुम्बईकै हुन् । 

विश्वकै ब्रान्डिङ सहरमा अहिले १०औँ आइसिसी टी–२० विश्वकप चलिरहेको छ । समुद्री किनार (मरिन ड्राइभ)को मुखैमा रहेको विश्व क्रिकेटकै प्रसिद्ध वानखेडे रंगशालामा नेपाली दर्शकको उपस्थितिले विश्वलाई नै चकित बनाएको छ । आइसिसीले नेपालको सबै खेल वानखेडे रंगशालामा राखेको कारण पनि अहिले वानखेडे रंगशाला र नजिकै रहेको मरिन ड्राइभ एक किसिमले नेपाली समर्थकमय बनेको छ । 

नेपालको खेल हुँदा कम्तीमा १५ देखि १९ हजार दर्शकले रंगशाला भरियो । इंग्ल्यान्डविरुद्धको सानदार प्रदर्शन वा इटालीसँग १० विकेटले पराजित हुँदा नेपाली समर्थकले मिश्रित अनुभव बटुले । मैदानभित्रको नतिजा मैदानभित्र नै रहन्छ । जब मैदानबाट निस्केको केही सेकेन्डमै मरिन ड्राइभ पुगिन्छ । हार या जित सबै बिर्सेर त्यहाँको अनुभव लिन र मेमोरी क्लिक गर्न सबैलाई हतार हुन्छ । यतिवेला नेपाली समर्थक मुम्बईमा रमाइरहेका छन् । बिहान वा साँझ सयौँ संख्यामा समुद्री किनारमा चन्द्र र सूर्य अंकित नेपाली जर्सीमा नेपाली भेटिन्छन् ।

नेपालको खेल हेर्न काठमाडौंको मूलपानीबाट रेवा आचार्य परिवारसहित मुम्बई आइपुगिन् । ‘हाम्रो घरमै क्रिकेटको माहोल छ । मूलपानीको क्रिकेट माहोलले होला, मैदानमै गएर वा घरको छतबाटै भए पनि खेल हेर्छु,’ रेवा भन्छिन्, ‘त्यसैले पनि मुम्बईले तान्यो । अब, वेस्ट इन्डिजको खेल हेरेर नेपाल फर्किन्छु ।’

विश्वकपको पहिलो खेलमै नेपालले इंग्ल्यान्डसँग खेल्यो । कप्तान रोहितकुमार पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरी तथा लोकेश बमले सानदार प्रदर्शन गरे । टेस्ट राष्ट्रविरुद्धको पहिलो भेटमै नेपालले सनसनीपूर्ण प्रदर्शन गर्यो । अन्तिम बलमा मात्रै नेपालजस्तो देशविरुद्ध इंग्ल्यान्डले जित निकालेको थियो । यही कारण पनि रेवाको परिवारजस्तै धेरै समर्थक मुम्बई आएका छन् । 

विपना शाह भारतकै प्रयागनगरीमा आफ्नो दैनिकी बिताउँदै आएकी छिन् । पछिल्लो दशक भारतमै रहेकी विपना पहिलोपटक नेपालको खेल हेर्न मुम्बई पुगेकी हुन् । ‘म पहिलोपटक नेपालको खेल हेर्न मुम्बई आइरहेको छु,’ उनले सुनाइन्, ‘सँगै मुम्बई सहर यही मौकामा घुमाैँ भनेर साथीहरूसँगै आएँ ।’

मुम्बईमा मरिन ड्राइभ, गेट वे अफ इन्डिया र जुहुबिचमा धेरै भिड लाग्ने रहेछ । यी स्थानमा ‘फोटो क्लिक’ नगर्दासम्म मुम्बई आएकोजस्तो लाग्दैन । विश्वकप चलिरहँदा यी ठाउँमा अधिकांश नेपाली नै देखिन्छन् । खासमा ती नेपाली नेपालको खेल हेर्न मात्र आएका हुन् । यसै अवसर पारेर मुम्बई सहरका मेमोरी संकलन गरिरहेका छन् । 

बिहीबारको माहोल भने फरक रह्यो । समूह ‘सी’मा आइसिसी वरीयताको २७औँ स्थानमा रहेको इटालीसँग नेपाल १० विकेटले स्तब्ध भयो । खेल पनि निर्धारित समयभन्दा एक घन्टा अगाडि सकियो । जुन नतिजा समग्र नेपाली खेलाडीले सोच्दै नसोचेको थियो । वानखेडे रंगशालामा बोकेको पीडा बिसाउन हजारौँ नेपाली समर्थक मरिन ड्राइभमा इभिनिङ वार्कमा निस्किएका थिए । ‘अहिले मुम्बईको मौसम सबैभन्दा उत्तम हो । भारतमा कुनै पनि समय चिसो हुँदैन,’ अछामका नरेश विश्वकर्माले भने, ‘साथीहरूसँग ३–४ घन्टा नै मरिन ड्राइभमा सुतेर आनन्दित हुने गर्छु ।’ 

नरेशको कर्मक्षेत्र नै मुम्बई हो । केही वर्षअघि उनले वानखेडे रंगशालानजिकै रहेको होटेलमा काम गरेका थिए । विश्वकपमा नेपालको सबै खेल वानखेडेमा तय भएपछि नरेश धेरै खुसी भएका थिए । ‘मुम्बईमै केही बढी पैसा तिरेर नेपालको जर्सी र झन्डा किनेँ । पहिलो खेलमा इंग्ल्यान्डविरुद्धको नेपाल हारे पनि मन प्रफुल्लित भएको थियो,’ उनले भने, ‘दुईपटकको विश्व विजेताविरुद्ध नेपालले बहादुरी प्रदर्शन गरेका थिए । नेपाली खेलाडीको सबैले तारिफ गरे ।’

दोस्रो खेल कमजार भयो । विश्वकपमा नेपालले इतिहासकै कमजोर प्रदर्शन गर्यो । इंग्ल्यान्डसँगको खेल हेर्न जोकोहीले अनुमान पनि गर्न सकेका थिएनन् । वानखेडे रंगशालामा वालसाहेब ठाकरे  प्रेस रुममा पुग्दा पनि अधिकांश भारतीय पत्रकारले नेपालले सहज जित निकाल्ने घोषणा गरेका थिए । तर, मैदानबाट नतिजा भने ठिक उल्टो आयो । नेपाली खेलाडी क्रिजमा टिक्नै सकेनन्, धैर्य कम देखियो । यही हारपछि दुखी भएर नरेश मरिन ड्राइभमा पुगेका थिए । ‘यस्तोखाले हार कहिल्यै देख्न नपरोस्, कस्तो खेलेको नेपालले ?’ उनले प्रश्न गरे । 

मुम्बईमा धेरै नेपाली बस्छन् । त्यहाँ प्राय: सुदूरपश्चिम र कर्णाली प्रदेशका नेपाली भेटिन्छन् । अधिकांश नेपाली होटेलमा काम गर्छन् । यहाँको धनाढ्यदेखि साना–ठुला  होटेल र अपार्टमेन्टमै नेपाली सुरक्षा गार्डमा रूपमा खटिरहेका हुन्छन् । खेल हेर्न आउने पनि धेरै यहीँका नेपाली छन् । त्यही भएर पनि आइसिसीले नेपालको सबै खेल वानखेडे राखेको हो । नेपालको खेल हेर्न लन्डन, अमेरिका, अस्ट्रेलिया, ओमान र अन्य राष्ट्रमा रहेका नेपालीसमेत आएका छन् । 

बेलायतदेखि नेपालको समर्थन गर्न आएकामध्ये एक हुन् विशाल गौतम । विशाल दुई वर्षअघि बेलायत पुगेका थिए । उनी नेपालकै खेल हेर्न भनी मुम्बई आएका हुन् । गत वर्ष नेपालले आयरल्यान्डमा गएर गेम खेल्दा गौतम अन्य साथीसँगै त्यहीँ पुगेका थिए । ‘नेपालको खेल भनेपछि राष्ट्रिय भावना जागृत हुन्छ । त्यही भएर १०औँ संस्करणको विश्वकपमा नेपाल पुग्दा समय निकालेर मुम्बई आएको हुँ,’ विशालले भने ।

मध्यप्रदेशमा बस्दै आएका अछामका करण साउद पनि मुम्बई आएका छन् । उनले नेपालका चारै खेलको टिकट बुक गरिसकेका छन् । एनपिएलमा सुदूरपश्चिमको समर्थन गर्दै आएका करणले भेट हुनेबित्तिकै टाढैबाट भने, ‘खेल्नु पडो, लड्न पडो, जित्नु पडो ।’ यो स्लोगन एनपिएलमा सुदूरपश्चिम रोयलको हो । ‘नेपालमा छँदा एनपिएल पनि हेरियो । अहिले मुम्बईमा खेल हेर्न आएँ,’ उनले भने ।

होटेल बुक गर्दा स्क्याममा पर्ने खतरा 
पर्साका सञ्जयकुमार साह चार दिनका लागि ओमानबाट मुम्बई आएका छन् । शुक्रबार र शनिबार उनको छुट्टीको दिन हो । तर, साह बिहीबार र आइतबार बिदा मिलाएर खेल हेर्न यहाँ आएका छन् । उनी बिहीबार छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थल झरेर सोझै वानखेडे रंगशालातिर हानिएका थिए । तर, पहिलो गाँसमै ढुंगा भनेझैँ इटालीसँगको भिडन्त हेर्न पुगेको उनले टिम हारेको हेर्नुपर्यो । त्यसपछि मरिन ड्राइभनजिकै रहेको होटेल पुगे । ओमानै छँदा उनले अनलाइनबाट होटेल बुकिङ गरेका थिए ।  होटेलमा पुग्दा उनलाई थाहा भयो, आफू स्क्याममा परेको । ‘अनलाइनमा देखिएकोजस्तो होटेल रैनछ । बस्नै घिन लाग्ने । ओसिलो रुम । निकै फोहोर गल्लीमा रहेछ होटेल,’ पीडा सुनाउँदै सञ्जयले भने । 

सञ्जयले ओमानबाटै तनहुँका साथी दिलबहादुर विकलाई पनि आफूसँगै ल्याएका थिए । ‘हामी त स्क्याममा पर्यौँ नि,’ उनले भने, ‘चार दिनका लागि नेपालको खेल हेर्न आएको । अनलाइनबाट भारु ४५ सयको रुम लिएका थियौँ । निकै खराब होटेल रहेछ,’ उनले भने, ‘कतारमै फिफा विश्वकप हुँदा जान पाइएन । यसपटक नेपाल क्रिकेटको विश्वकप खेल्दै छ । त्यही भएर दुई–चार लाख खर्च गरेर आइयो । नपत्याउने गरी स्क्याममा परियो ।’

काठमाडौंबाट समाचार संकलन गर्न आएका पत्रकारले पनि सञ्जयकैजस्तो समस्या भोगेका छन् । मरिन ड्राइभनजिकै होटेल निकै महँगा छन् । मुम्बईमा रहेका धेरैजसो खेल हेर्न पुगेकाहरूले होटेलको समस्या भोगिरहेका छन् । ८०–९० दशकका पुराना शैलीका होटेलमा अधिकांश मान्छे खेल हेरेर सुत्न मात्रै पुग्छन् । 

होटेलले एक बोतल पानी पनि दिँदैन । किन्दा बोतललाई तेब्बर–चौब्बर मूल्य पर्छ । रुमभित्र दुईजनालाई हिँड्ने ठाउँसम्म हुँदैन । मरिन ड्राइभमै रोहित साहुखेसँग भेट भयो । धनगढीका उनले आफ्नो अनुभव सुनाए, ‘कसैसँगै सल्लाह र जानकारीविना आएका अधिकांश मान्छे यस्तै स्क्याममा पर्छन् । रंगशालानजिकै होटेल खोज्दा भारतमा यस्तै समस्या हुन्छ ।’ 

See More On

सुझावित समाचार