महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपाल, स्कटल्यान्ड र थाइल्यान्डको सम्भावना बराबर

समूह ‘बी’मा स्कटल्यान्डलाई हराए नेपालको सुपर सिक्स पुग्ने सम्भावना बलियो, पराजित भए थाइल्यान्ड सुपर सिक्समा

सोमबार, १२ माघ, २०८२
डिजिटल संस्करण

आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा आयोजक नेपालसहित स्कटल्यान्ड र थाइल्यान्डले सोमबार महŒवपूर्ण खेलमा प्रतिस्पर्धा गर्दै छन् । त्रिवि क्रिकेट मैदानमा समूह ‘बी’को अन्तिम खेलमा नेपालले स्कटल्यान्डको सामना गर्नेछ । यसै समूहमा नेदरल्यान्ड्सले मूलपानी मैदानमा थाइल्यान्डविरुद्ध खेल्नेछ । समूह ‘बी’बाट नेदरल्यान्ड्सले सुपर सिक्समा स्थान पक्का गरिसकेको छ ।

दोस्रो र तेस्रो स्थानका लागि नेपाल, स्कटल्यान्ड र थाइल्यान्डबिच त्रिकोणात्मक भिडन्त हुनेछ । समूह ‘बी’को पाँचौँ टोली जिम्बावे लगातार चार खेलमा हार सामना गरी बाहिरिसकेको छ । नेपाल, स्कटल्यान्ड र थाइल्यान्डमध्ये दुई टोली मात्र सुपर सिक्समा पुग्नेछन् । यसकारण उनीहरूको सम्भावना बराबर छन् । एक किसिमले गर या मरको अवस्थामा प्रतिस्पर्धा हुनेछ । जितले अगाडि बढ्ने मौका मिल्नेछ भने हारले प्रतियोगिताबाट बाहिरिनेछ । 

लगातार तीन खेलमा जित निकालेको नेदरल्यान्ड्सको ६ अंक छ । स्कटल्यान्ड र थाइल्यान्डले तीन खेलमा समान दुई जित र एक हार निकाली ४ अंक जोडेका छन् । रनरेटमा स्कटल्यान्ड दोस्रोे र थाइल्यान्ड तेस्रो स्थानमा छन् । आयोजक नेपाल तीन खेलमा एक जित र दुई हारको नतिजासहित २ अंक बटुली चौथो स्थानमा छ । नेपालले शनिबार टेस्ट राष्ट्र जिम्बावेलाई हराउँदै सुपर सिक्सको आशा जीवितै राखेको हो ।

एसोसिएटमा स्कटल्यान्ड शीर्ष स्थानमा
नेपालले सामना गर्न लागेको स्कटल्यान्ड आइसिसीको एसोसिएट महिला राष्ट्रको टी–२० वरीयतामा शीर्ष स्थानमा छ । पछिल्लो वरीयताअनुसार स्कटल्यान्ड ११औँ स्थानमा छ । एसियाली राष्ट्र नेपाल २१औँ स्थानमा छ । यस अर्थमा नेपालले आफूभन्दा १० स्थान माथि रहेको स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । फेरि स्कटल्यान्डले एकपटक टी–२० विश्वकप खेलिसकेको छ । 

पछिल्लो संस्करणमा स्कटल्यान्डले विश्वकप खेलेका आधारमा सिधै सन् २०२६ को ग्लोबल छनोटमा स्थान पक्का गरेको हो । गत संस्करणको विश्वकपमा स्कटल्यान्ड समूह चरणबाटै बाहिरिएको थियो । आधिकारिक रूपमा नेपालले टी–२० आईमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गरेको छैन । यद्यपि, ग्लोबल छनोटका लागि भएको अभ्यास खेलमा नेपाल २७ रनले पराजित भएको थियो । विश्वकपको अनुभव बटुलिसकेको स्कटल्यान्डविरुद्ध नेपालले ब्याटिङ र बलिङमा निकै सुधार गर्नुपर्छ । नेपालले दोस्रो र तेस्रो खेलमा फिल्डिङमा राम्रो सुधार गरेको थियो । 

नेपाली टोलीकी पूर्वकप्तान रुविना क्षेत्रीले स्कटल्यान्डसँगको महत्वपूर्ण खेलमा नेपाललाई अवसर रहेको बताइन् । ‘यो खेलमा नेपाललाई अवसर छ । यस्तो अवसर गुमाउनुहुँदैन,’ रुविनाले भनिन् । यसैगरी जिम्बावेमाथिको जितमा अर्धशतकीय इनिङ्स खेलेकी उपकप्तान पूजा महतो खेलाडीको मनोबल उच्च भएको बताउँछिन् । ‘सुरुका दुई खेलमा पराजित हुँदा दबाबमा थियौँ । जिम्बावेविरुद्ध जित निकालेपछि मनोबल बढेको छ । अन्तिम खेलमा पनि उही लय कायम राख्छौँ,’ उनले भनिन् । जिम्बावेलाई ६ विकेटले हराउँदा पूजाले अन्तिम बलमा चौका प्रहार गर्दै ऐतिहासिक जित दिलाएकी थिइन् ।

पहिलो खेलको नतिजामा निर्भर थाइल्यान्ड 
समूह ‘बी’को अन्तिम खेलमा सन् २०२० को विश्वकप खेलेको थाइल्यान्डले भने नेपाल र स्कटल्यान्डबिचको नतिजाका आधारमा प्रतिस्पर्धा गर्नेछ । किनभने स्कटल्यान्डले नेपाललाई हराउँदा थाइल्यान्ड मैदानमा उत्रिनुअघि नै सुपर सिक्समा पुग्नेछ । नेपाल पराजित हुँदा २ अंकमै सीमित हुनेछ । यस्तोमा ४ अंक बटुलेको थाइल्यान्ड प्रतिस्पर्धाअघि नै अगाडि बढ्नेछ । 

तर, नेपालले स्कटल्यान्डलाई हराउँदा थाइल्यान्डलाई समूह विजेता बन्ने अवसर छ । उसले नेदरल्यान्ड्सलाई हराउँदा पनि रनरेटका आधारमा शीर्ष स्थानमा पुग्नेछ । यस्तोमा नेपाल र स्कटल्यान्डको समान ४ अंक हुनेछ । रनरेटका आधारमा यी दुईमध्ये एक टोलीले सुपर सिक्समा स्थान बनाउनेछ । यसै समीकरणका कारण नेपालले सुपर सिक्सको आशा जीवितै राख्न राम्रो रनरेटका साथ स्कटल्यान्डलाई हराउनुपर्ने हुन्छ । हारले नेपालको विश्वकप खेल्ने सपना ग्लोबल छनोटमै सीमित रहनेछ । 

सुझावित समाचार