प्रभुराम राई आमन्त्रित फुटबल कपको उपाधि नेर्पा स्पोर्टस् क्लबलाई

आइतबार, ११ माघ, २०८२
डिजिटल संस्करण

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा सम्पन्न जिल्लाकै सर्वाधिक राशिको ‘प्रभुराम राई आमन्त्रित फुटबल कप २०८२’को उपाधि नेर्पा स्पोर्टस् क्लब नेर्पाले जितेको छ। यलम्बर खेलमैदानमा आइतबार साँझ सम्पन्न फाइनल खेलमा गछिया युवा समाज मोरङलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै नेर्पा स्पोर्टस् क्लब नेर्पा खोटाङले प्रथम उपाधि जितेको हो।

बुइपाका स्थायी बासिन्दा ८२ वर्षीय प्रभुराम राईको सम्मानमा उनको परिवारका सदस्यको प्रायोजन तथा बुइपा–११ स्पोर्टस्. क्लबको आयोजनामा भएको प्रतियोगिताको उपाधि विजेता नेर्पाले नगद रु. तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

जिल्लाभित्रका ६ तथा बाहिरी जिल्लाका चार गरी १० टोलीको सहभागिता रहेको प्रतियोगिताको उपविजेता गछिया युवा समाज मोरङले नगद रु एक लाख ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

फाइनल खेलको निर्धारित समयमा दुवै टोलीको एक÷एक गोल भएको थियो। निर्धारित समयमाबराबरी गोल भएपछि समय अभावका कारण सिधै टाइब्रेकरमार्फत छिनोफानो गरिएको हो।

प्रतियोगिताका सेमिफाइनलिष्ट दुई समूह खारम्बु स्पोर्टस् क्लब खार्मी र आयोजक बुइपा–११ स्पोर्टस् क्बल बुइपाले नगद रु ५०/५० हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगिता अवधिभरका सर्वोउत्कृष्ट खेलाडी घोषित नेर्पा स्पोर्टस् क्लबका सलिन ढकाल ‘राम’लेरु ३० हजार प्राप्त गरेका आयोजक क्लबका सचिव रोशन चाम्लिङले जानकारी दिए।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता समान पाँच÷पाँच गोल गर्ने नेर्पा स्पोर्टस क्लबका बिकी चाम्लिङ र गछिया युवा समाजका मिक्चेन दास, उत्कृष्ट गोलरक्षक नेर्पाका रोहन परियार, उत्कृष्ट डिफेन्डर बुइपाका रामसुर राई, उत्कृष्ट मिडफिल्डर गछियाका योना लिम्बु, उदयीमान खेलाडी बुइपाका एलन राई, उत्कृष्ट फरवार्ड गछियाका रोहन गुरुङ र उत्कृष्ट प्रशिक्षक नेर्पाका डिगेन्द्र गुरुङलाई समेत नगदसहित पुरस्कृत गरिएको छ। प्रतियोगिताको विधागत पुरस्कार जनही रु १५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

सुझावित समाचार