जनताले नै लखेटेर भगाएकाहरूको आलोचना गर्न आवश्यक छैन : सभापति लामिछाने
रास्वपा सभापति रवि लामिछानेले जनताले नै लखेटेर भगाएकाहरूको आलोचना गर्न आवश्यक नभएको बताएका छन्। जनकपुरधाममा आयोजित पार्टीको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै लामिछानेले भने, ‘म उनीहरूको आलोचना गर्न चाहन्न। जसलाई जनताले लखेटेर भगाए, तिनको आलोचना गरिरहन आवश्यक छैन।’
बालेनलक्षित ओलीको टिप्पणी– चर्चाका लागि मविरुद्ध उम्मेदवारी दिन लागे
नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूविरुद्ध उम्मेदवारी दिँदा चर्चा हुन्छ भन्ने सोचेर अन्य उम्मेदवारले उम्मेदवारी दिने कुरा गरेको आरोप लगाएका छन् । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले झापा ५ बाट उम्मेदवारी दिने टुंगो लागेपछि ओलीले चर्चाका लागि उम्मेदवारी दिन लागेको टिप्पणी गरेका हुन्।
मधेशीको छोरा प्रधानमन्त्री बन्छ भनेर मात्रै भोट नदिनुस्, एउटा असल मान्छे प्रधानमन्त्री बन्छ भनेर भोट दिनुहोला : बालेन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह बालेनले संघीयतालाई अझ प्रभावकारी र बलियो बनाउनुपर्ने बताएका छन् । रास्वपाले जनकपुरको त्रिभुवनिया गाछीमा सोमबार आयोजना गरेको ‘परिवर्तनको उद्घोषण सभा’लाई सम्बोधन गर्दै उनले अधिकारका लागि नागरिकहरू काठमाडौं धाउन नपर्ने किसिमको संघीयता निर्माण गर्नुपर्नेमा बताए ।
जेन–जी आन्दोलनका घाइते प्रकाशलाई रास्वपाले बनायो समानुपातिक उम्मेदवार
जेन–जी आन्दोलनमा गम्भीर घाइते भएका नारायण नगरपालिका–८, दैलेखका प्रकाशबहादुर बोहोराको नाम समानुपातिक उम्मेदवारको सूचीमा समावेश भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोहोरालाई समानुपातिक उम्मेदवार बनाएको हो। निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिक बन्दसूचीमा बोहोराको नाम ‘खस आर्य’ क्लस्टरको चार नम्बरमा समेटिएको छ।
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानका संयोजक मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । निर्वाचन आयोगको विषयमा भ्रामक सूचना फैलाएको आरोपमा उनी प्रक्राउ परेका हुन् । अभियानको कार्यक्रमका लागि पोखरा आएका वेला उनलाई प्रहरीले पक्राउ गरेको हो ।
झापाका एसपीको सरुवा गरिएकोमा ओली असन्तुष्ट
झापाको प्रहरी प्रमुख एसपी राजन लिम्बूलाई सरुवा गरिएकोमा एमाले अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेका छन्। सोमबार झापा आएर पत्रकार सम्मेलन गरेका ओलीले एसपी सरुवाको विषयमा सरकारको आलोचना गरे। प्रहरी प्रधान कार्यालयले आइतबार लिम्बूलाई हटाएर एसपी बसुन्धरा खड्कालाई झापाको एसपीमा सरुवा गरेको थियो। ओलीले दबाब, धम्की र कसैको आवश्यकतामा एसपी लिम्बूको सरुवा गरिएको दाबी गरे।
काठमाडौं ५ मा एमालेले ईश्वर पोखरेललाई उठाउने
काठमाडौंको क्षेत्र नम्बर ५ मा नेकपा(एमाले)ले ईश्वर पोखरेललाई उठाउने निर्णय गरेको छ। यसअघिको निर्वाचनमा पनि पोखरेल सो क्षेत्रबाट एमालेको उम्मेदवार थिए। सो क्षेत्रबाट कांग्रेसले अझै निर्णय गर्न सकेको छैन। राष्ट्रिय स्वतन्त्र पार्टीले भने सस्मित पोखरेललाई टिकट दिएको छ।
प्रतिनिधिसभा निर्वाचन लड्न बागमती प्रदेशका ६ सांसदले दिए राजीनामा
फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न बागमती प्रदेशसभाका ६ जना सांसदले पदबाट राजीनामा दिएका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा र नेकपाका सांसदहरूले संघीय संसदमा प्रतिस्पर्धा गर्ने तयारीसँगै प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका हुन्।
कुलमान घिसिङ काठमाडौं ३ बाट चुनाव लड्ने
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तय भएको छ। पार्टीका केन्द्रीय सदस्य कुमारराज सुवेदीका अनुसार घिसिङले मंगलबार काठमाडौं क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गर्ने तय भएको छ।
एकदिवसीय क्रिकेटः अरण्यज्योतिको जित
अरण्यज्योति क्रिकेट क्लबले पोखरामा जारी एकदिवसीय क्रिकेट प्रतियोगितामा जित हात पारेको छ। कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न समूह ‘ए’ तर्फको खेलमा अरण्यज्योतिले लेकसाइड क्रिकेट क्लबलाई १६ रनले पराजित गरेको हो।