मधेशीको छोरा प्रधानमन्त्री बन्छ भनेर मात्रै भोट नदिनुस्, एउटा असल मान्छे प्रधानमन्त्री बन्छ भनेर भोट दिनुहोला : बालेन

सोमबार, ६ माघ, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह बालेनले संघीयतालाई अझ प्रभावकारी र बलियो बनाउनुपर्ने बताएका छन् । रास्वपाले जनकपुरको त्रिभुवनिया गाछीमा सोमबार आयोजना गरेको ‘परिवर्तनको उद्घोषण सभा’लाई सम्बोधन गर्दै उनले अधिकारका लागि नागरिकहरू काठमाडौं धाउन नपर्ने किसिमको संघीयता निर्माण गर्नुपर्नेमा बताए । 

उनले भने, ‘अहिले एउटा पालिकाले प्रमुख प्रशासकीय अधिकृत फेर्नुपर्दा काठमाडौं जानुपर्छ, उखु किसानले उचित मूल्य पाउन काठमाडौं पुगेर आन्दोलन गर्नुपर्छ, मिटरब्याजपीडितले न्यायका लागि सिंहदरबार घेराउ गर्न बाध्य छन् ।’ तर, अब देशभरबाट काठमाडौं पशुपतिनाथ र शम्भुनाथको दर्शन गर्नका लागि मात्रै जानुपर्ने वातावरण बनाउनुपर्ने उनले उल्लेख गरे।

आफू काठमाडौं महानगरपालिकाको मेयर हुँदा देशका विभिन्न ३५ वटा पालिकालाई एम्बुलेन्स उपलब्ध गराइएको, २० हजार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको र १० हजारजनालाई काठमाडौंका महँगा अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएको स्मरण गर्दै उनले यसले समाजवादको असली अभ्यास भएको दाबी गरे।

मैथिली भाषामा सम्बोधन गरेका बालेनले भने, ‘म काम गर्न आएको हुँ। काम गरेर देखाउँछु र काम गर्ने वातावरण तपाईंहरूले बनाइदिनुस् । काठमाडौंको मेयर हुँदा कामको व्यस्तताले सार्वजनिक मञ्चमा धेरै बोलिनँ। राजीनामा दिएपछि आज पहिलोपटक यहाँ बोल्दै छु । मधेशीको छोरा प्रधानमन्त्री बन्छ भनेर मात्रै भोट नदिनुस्, एउटा असल मान्छे देशको प्रधानमन्त्री बन्छ भनेर भोट दिनुहोला ।’

बालेनले मधेशमा पहिलोपटक सबै जात–समुदायका मानिसहरू एकैठाउँमा जुटेको उल्लेख गर्दै देशको विकास भनेको सबै जात र समुदायको समान विकास हुनुपर्ने बताए ।

सुझावित समाचार