नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूविरुद्ध उम्मेदवारी दिँदा चर्चा हुन्छ भन्ने सोचेर अन्य उम्मेदवारले उम्मेदवारी दिने कुरा गरेको आरोप लगाएका छन्।
रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले झापा ५ बाट उम्मेदवारी दिने टुंगो लागेपछि ओलीले चर्चाका लागि उम्मेदवारी दिन लागेको टिप्पणी गरेका हुन्। २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि मनोनयन दर्ता गर्न झापा आएका ओलीले प्रेस चौतारी झापाले गरेको पत्रकार सम्मेलनमा कसले उम्मेदवारी दिने आफूलाई थाहा नभएको बताए।
‘अलिकति चर्चा होस् भनेर पनि मेराविरुद्ध उम्मेदवारी दिने भनेको हुन सक्छ। लड्ने हो होइन मलाई थाहा छैन,’ ओलीले भने, ‘लड्ने हो भने पनि त अरूले पनि लडिखेली आएकै हुन् त ! पहिला अरूले पनि लडेकै हुन्। त्यसकारण यसबारे सोच्नुपर्दैन।’
बालेनलाई झापा ५ मा कसैले नचिनेको दाबी गर्दै ओलीले दारी पालेको मान्छे देख्नेबित्तिकै यहाँका मतदाताले बालेन हो ? भनेर प्रश्न गर्ने गरेको टिप्पणी गरे। ‘न यहाँ घर छ, न डेरा छ, न परिवार, न आफन्त, न नातागोता न चिनजानको । यस्तासँग महाभिडन्त हुन्छ ? के भनेको ?’ ओलीले भने, ‘मैले सुनेको दारी पालेको देख्दा बालेन भनेर सोध्छन्। यहाँका नागरिकले चिनेका छैनन्।’
आफूलाई भने बालेनलाई डेरा खोज्न सहयोग गर्ने र सुरक्षा दिने भन्दै नडराउन कटाक्ष गरे। झापा ५ का जनताले फैसला गर्ने उनको भनाइ छ।
ओलीले आफू दमक आउँदा बस्न दिएकै कारण पनि अरूकाे घर जलाएर अपराध कर्म गरेको बताए। ‘मलाई कसैले कहिलेकाहीँ बस्न दियो भनेर घर जलाउने अपराधी हाेइनन् ? २३ वर्षअघि मैले बेचेको घर जलाउने ? अर्काको घर म बसेको थिएँ भनेर आगो लगाउने ? यो पनि कुनै राजनीति हो ?’ उनले प्रश्न गरे।
बनाउने र जलाउनेबिच प्रतिस्पर्धा हुन लागेको ओलीको टिप्पणी छ। ‘टावर बनाउने र जलाउने को हो तपाईंहरूलाई थाहा नै छ,’ उनले भने, ‘यो बनाउन खोजेको भाष्य होइन, यथार्थ हो।’
ओलीले झापाको विकासमा आफ्नो ठुलो योगदान रहेको जिकिर गरे। उत्तरी क्षेत्रमा आधारभूत विकास भएको बताउँदै उनले अब दक्षिणी क्षेत्रमा विकास गर्न बाँकी रहेको उल्लेख गरे। ओलीले निर्वाचन नजिकिँदै गर्दा पनि सुरक्षाको प्रत्याभूति नभएको बताए।