टी–२० महिला विश्वकप ग्लोबल छनोट आजबाट, नेपाल पहिलोपटक थाइल्यान्डलाई हराउने योजनामा

आइतबार, ४ माघ, २०८२
डिजिटल संस्करण

आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट आजबाट नेपालमा सुरु हुँदै छ । पहिलोपटक नेपालले आयोजना गर्न लागेको सबैभन्दा ठुलो प्रतियोगिताको उद्घाटन खेलमै नेपालले बलियो थाइल्यान्डको सामना गर्दै छ । खेल कीर्तिपुरको त्रिवि मैदानमा बिहान ९ बजे सुरु हुनेछ । हालसम्म यी दुइबिच सात खेल हुुँदा सबै खेल थाइल्यान्डले जितेको छ ।

प्रतियोगितामा नेपालसहित १० टिम सहभागी भएका छन् । यसबाट छनोट भएका चार टिम पाँच महिनापछि इंग्ल्यान्ड र वेल्समा हुने टी–२० महिला विश्वकप खेल्नेछन् । विश्वकपमा कुल १२ टिम हुनेछन् । समूह ‘बी’मा नेपाल र थाइल्यान्डसहित नेदरल्यान्ड्स, स्कटल्यान्ड, र जिम्बावे छन् । समूह ‘ए’मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी (पिएनजी) र अमेरिका छन् । छनोट खेल त्रिवि मैदान र माथिल्लो मूलपानी मैदानमा हुनेछन् । 

नेपालमा आयोजना हुनलागेको यो नै आइसिसीको सबैभन्दा ठुलो क्रिकेट प्रतियोगिता हो । यसअघि नेपालले पुरुषतर्फ टी–२० विश्वकपको एसिया छनोट आयोजना गरेको थियो । तर, कुनै पनि विश्वकपका लागि नेपालमा ग्लोबल क्वालिफायर हुन लागेको यो नै पहिलोपटक हो ।

यता, प्रतियोगिता घरमै हुन लागेपछि नेपालका लागि निकै संघर्ष गर्नुपर्ने देखिन्छ । विश्वकपमा स्थान बनाउने योजनासहित नेपाल क्रिकेट संघ (क्यान)ले भारतका हर्षल जयन्त पाठकलाई प्रशिक्षक नियुक्त गरेको थियो । उनले पनि नेपाललाई विश्वकपमा पुग्न कठिन भएको बताउँदै कोसिस गर्ने बताएका छन् । इन्दु बर्माको कप्तानीमा रहेको नेपाल प्रतियोगिताअघि भएको वार्मअप खेलमा स्कटल्यान्ड र अमेरिकासँग नै पराजित भएको थियो । 

नेपालविरुद्ध थाइल्यान्ड अपराजित
नेपालले हालसम्म्म थाइल्यान्डलाई हराउन सकेको छैन । महिला टी–२० अन्तर्राष्ट्रियमा हालसम्म यी दुईबिच सात खेल हुुँदा सबै खेल थाइल्यान्डले जितेको छ । नेपालका लागि नेदरल्यान्ड्स, स्कटल्यान्ड र जिम्बावे नयाँ प्रतिद्वन्द्वी हुन् । थाइल्यान्ड विश्वकप एसिया छनोटको च्याम्पियनका रूपमा ग्लोबल क्वालिफायरमा स्थान पक्का गरेको हो । थाइल्यान्डले हालसम्म पाँचपटक ग्लोबल क्वालिफायर खेल्दा एकपटक विश्वकपमा स्थान बनाएको छ । थाइल्यान्डले सन् २०२० को आइसिसी टी–२० महिला विश्वकप खेलेको थियो । 

चार टिम विश्वकपमा पुग्ने 
आइतबारबाट सुरु हुने छनोटबाट १० मध्ये चार टोली विश्वकपमा स्थान बनाउनेछन् । समूह चरणमा एक–अर्कासँग प्रतिस्पर्धा गरेपछि समूहका शीर्ष तीन टोली सुपरसिक्समा पुग्नेछन् । सुपरसिक्समा हरेक टिमले अर्को समूहबाट आएका टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । जसबाट चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । सेमिफाइनल पुग्ने चार टोलीले नै आइसिसी महिला टी–२० विश्वकपको यात्रा तय गर्नेछन् ।

सन् २००९ देखि महिला विश्वकप 
सन् २००९ देखि आइसिसी टी–२० विश्वकप सुरुवात भएको हो । आइसिसीले ग्लोबल क्वालिफायर भने २०१३ देखि मात्र आयोजना गर्न थालेको हो । जुन २०१४ को चौथो संस्करणको टी–२० महिला विश्वकपका लागि थियो । त्यसयता निरन्तर ग्लोबल छनोट आयोजना भइरहेको छ ।

नेपाली टिम
इन्दु बर्मा (कप्तान) पूजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता रानामगर, विन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सोमु विष्ट, राजमती ऐरी र मनीषा उपाध्याय ।
 

सुझावित समाचार