- गत शनिबार एनभिए राष्ट्रिय भलिबलको फाइनलमा न्यु डायमन्डले नेपाल पुलिसलाई ३–० को सोझो सेटमा हराएको थियो । न्यु डायमन्डले शुक्रबार नवौँ शेरबहादुर खड्का स्मृतिको राउन्ड रोबिन लिगको अन्तिम खेलमा पुलिसमाथि नै ३–२ को रोमाञ्चक जित हात पार्यो ।
न्यु डायमन्ड युथ स्पोर्टस् नवौँ एनभिए राष्ट्रिय भलिबल च्याम्पियनसिपदेखि उत्कृष्ट फर्ममा छ । गत शनिबार राष्ट्रिय खेलकुद परिषद्मा च्याम्पियन बनेको न्यु डायमन्ड फेरि अर्को उपाधि जित्न तयारीमा छ । अस्ट्रेलियाबाट प्रतिभा माली फर्केपछि न्यु डायमन्ड थप बलियो भएको छ । यसैको उदाहरणका रूपमा न्यु डायमन्ड शुक्रबार नवौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको राउन्ड रोबिन लिगमा अपराजित रह्यो । राउन्ड रोबिनमा कुनै पनि खेल नगुमाएर उसले विजेताका रूपमा फाइनलमा स्थान पक्का गर्यो ।
एक साताभित्र पुलिस र न्यु डायमन्डबिच दोस्रो भेट भएको हो । दुवै अवसरमा न्यु डायमन्ड विजयी रह्यो । राउन्ड रोबिन लिगको अन्तिम खेलमा न्यु डायमन्ड र साबिक विजेता नेपाल प्रहरीबिच खेल भएको थियो । यद्यपि, यो खेल गुमाउँदा दुवै टोलीलाई केही फरक पर्ने थिएन । उनीहरू एक खेलअगाडि नै फाइनलमा पुगिसकेका थिए । खेलाडीहरूको संगठित प्रदर्शनको सहयोगमा न्यु डायमन्डले रोमाञ्चक भिडन्तमा नेपाल प्रहरीलाई ३–२ को सेटमा निराश बनायो ।
न्यु डायमन्ड २५–१४, २५–१९, २०–२५, २७–२९ र १५–१० ले विजयी भएको हो । लिगमा न्यु डायमन्डले तेस्रो जित निकालेको हो । पुलिसले तीन खेलमा पहिलो हारको सामना गर्यो । पुलिसविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गरेकी न्यु डायमन्डकी प्रतिभा माली प्लेयर अफ दी म्याच घोषित भइन् ।
न्यु डायमन्डको उत्कृष्ट सुरुवात
राउन्ड रोबिन लिगमा पुलिसविरुद्ध न्यु डायमन्डले उत्कृष्ट सुरुवात गर्दै पहिलो दुई सेटमाथि सहजै कब्जा जमाएको थियो । पुलिसका खेलाडीले ब्लकमा गल्ती गर्नु र विपक्षी खेलाडीलाई खुला प्रहार गर्ने अवसर दिँदा न्यु डायमन्डले पहिलो सेट २५–१४ र दोस्रो सेट २५–१९ ले जितेको थियो । सहज अवस्थामा पुगेको न्यु डायमन्डले तेस्रो सेटमा पुलिसलाई अवसर प्रदान गर्यो । विपक्षीको कमजोरीको फाइदा लिएको पुलिसले तेस्रो सेट २५–२० ले हात पार्दै खेलमा फर्कने प्रयास गरेको थियो ।
पुलिसले चौथो सेटमा पनि मिहिनेत गरेको थियो । यद्यपि, यो सेटमा दुईमध्ये एक टोलीले विजेता बन्न कडा मिहिनेत गर्नुपरेको थियो । प्रत्येक अंकका लागि दुवै टोलीका खेलाडी संघर्षरत देखिन्थे । सबैभन्दा रोमाञ्चक बनेको सेटमा पुलिसले बाजी मार्यो । सामान्य गल्ती गर्दा न्यु डायमन्डले चौथो सेट २७–२९ ले गुमाएको थियो । चौथो सेटको समाप्तिसम्म पुलिस र न्यु डायमन्डले समान दुई सेट जिते । पुलिसले सुरुका दुई सेटमा आफ्ना नियमित खेलाडीलाई आराम दिएको थियो । यसको फाइदा न्यु डायमन्डले निकाल्यो ।
राउन्ड रोबिन लिगको विजेताको छिनोफानो पाँचौँ तथा अन्तिम सेटमा भएको थियो । जसमा न्यु डायमन्डले अघिल्ला दुई सेटमा गरेको गल्ती दोहोर्याएन् । यस सेटमा न्यु डायमन्डले प्रत्येक क्षेत्रमा उत्कृष्ट खेल देखाउँदै साबिक विजेता पुलिसलाई १५–१० ले निराश बनायो । अर्को खेलमा नेपाल आर्मीले एपिएफलाई २७–२५, २१–२५, २५–२१ र २५–२२ ले हरायो । आर्मी र एपिएफबिच तेस्रो स्थानका लागि खेल हुनेछ ।
पुलिसलाई बदला लिने अवसर
न्यु डायमन्डविरुद्धको फाइनल भिडन्तमा पुलिसले बदला लिने अवसरका रूपमा लिनेछ । गत साता यिनै दुई टोलीबिच नवौँ एनभिए भलिबल च्याम्पियनसिपको फाइनल भएको थियो । जसमा न्यु डायमन्डले एकपक्षीय खेलका रूपमा फाइनल ३–० को सहज सेटमा जितेको थियो । सो फाइनलमा न्यु डायमन्डका प्रतिभाले उत्कृष्ट खेल देखाइन् । अब नवौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबलको फाइनलमा पनि उनीहरूबिच नै प्रतिस्पर्धा हुँदै छ । पुलिसमाथि न्यु डायमन्डको अपराजित यात्रा कायम राख्ने प्रयास हुनेछ । पुलिस भने लगातार दुई खेलमा हार तोड्ने प्रयासमा रहने छ ।
प्रतियोगिताका विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ पाउनेछन् । तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँ जित्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ दिइनेछ । यसैगरी, सात उत्कृष्ट खेलाडीलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।