आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा

सोमबार, २१ पुष, २०८२
डिजिटल संस्करण
आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

राष्ट्रपति रामचन्द्र पौडेलले टी–२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताउँदै यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको बताएका छन्।

राष्ट्रपति भवन शीतलनिवासमा सोमबार आयोजित विश्वकप ट्रफी सार्वजनिकीकरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन्। 

‘नेपाल आज खेलप्रेमी राष्ट्रको रूपमा सशक्त तवरले स्थापित हुँदै गएको छ, क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। यसको व्यावसायिक विकाससँगै खेल क्षेत्रमार्फत नेपाली युवाहरूको उज्ज्वल भविष्य निर्माण हुने आधारसमेत सुदृढ बन्दै गएको छ,’ उनले भने। आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपाली खेलकुद क्षेत्रका लागि सकारात्मक संकेत भएको उनको भनाइ थियो।

राष्ट्रपति पौडेलले नेपालमा आयोजना हुन गइरहेको महिला विश्वकप छनोट प्रतियोगिता तथा भारत र श्रीलंकामा आयोजना हुन गइरहेको टी–२० पुरुष विश्वकपमा सहभागी हुने महिला तथा पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरे।

सुझावित समाचार