सन् २०२६ मा अन्तर्राष्ट्रिय खेलको लहरै चल्नेछ । फुटबलदेखि क्रिकेटको विश्वकप पनि यही वर्षमा हुँदै छ । भारतले पुरुषतर्फको टी–२० विश्वकप र इंग्ल्यान्डले महिलातर्फको विश्वकप आयोजना गर्नेछ । इतिहासमै पहिलोपटक तीन आयोजक राष्ट्रले फिफा विश्वकप यसै वर्ष गर्नेछन् । अमेरिका, क्यानडा र मेक्सिकोले विश्वकप आगामी जुनमा गर्नेछन् । प्रत्येक चार वर्षमा हुने एसियन खेलकुद जापानमा हुनेछ । यसका साथै विन्टर, युथ तथा कमलवेल्थ खेलकुद प्रतियोगिता पनि यसै वर्ष हुनेछन् । सन् २०२६ मा हुने अन्तर्राष्ट्रिय खेल यस्ता छन् :
पुरुष र महिलाको आइसिसी टी–२० विश्वकप
क्रिकेट समर्थकलाई यो वर्ष भ्याइनभ्याइ हुन सक्छ । यस वर्ष पुरुष तथा महिला आइसिसी टी–२० विश्वकप आयोजना हुँदै छन् । सुरुमा पुरुषतर्फको टी–२० र त्यसपछि महिला विश्वकप हुने आइसिसीले जनाएको छ । भारत र श्रीलंकाले संयुक्त रूपमा ७ फेब्रुअरीदेखि ८ मार्चसम्म विश्वकप गर्दै छन् । प्रतियोगितामा २० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । आइसिसीले विश्वकप खेल्ने राष्ट्रको संख्या बढाउँदा रोमाञ्चकता बढ्नेसँगै एसोसिएट राष्ट्रले अवसर पाउने जनाएको छ । टी–२० विश्वकपमा नेपाल लगातार दोस्रो र समग्रमा तेस्रोपटक खेल्दै छ । सन् २०१४ मा नेपाली पुरुष टोलीले पहिलोपटक विश्वकपमा स्थान सुरक्षित गरेको थियो । गत कातिकमा एसियन ग्लोबल छनोटको शीर्ष स्थानमा रहँदै नेपाल विश्वकपमा पुगेको हो । समूह ‘सी’मा रहेको नेपालले पूर्वविजेता इंग्ल्यान्ड र वेस्ट इन्डिजविरुद्ध मुम्बईको वानखडे रंगशालामा प्रतिस्पर्धा गर्नेछ । नेपालको समूहमा बंगलादेश र पहिलोपटक विश्वकपमा डेब्यु गरेको इटाली रहेका छन् ।
आइसिसी टी–२० विश्वकपको ‘ड्र’मा प्रत्येक समूहमा पाँच टोली समावेश गरिएको छ । प्रत्येक समूहका शीर्ष दुई राष्ट्र सुपर एटमा पुग्नेछन् । आगामी जुनमा महिलातर्फको प्रतिस्पर्धा हुनेछ । इंग्ल्यान्डले १२ जुनदेखि ५ जुलाईसम्म महिला टी–२० विश्वकप आयोजना गर्दै छ । यसमा १२ राष्ट्रले भाग लिँदा कुल ३३ खेल हुनेछन् । विश्वकपमा अस्ट्रेलिया, भारत, पाकिस्तान र दक्षिण अफ्रिका समूह ‘ए’मा छन् । समूह ‘बी’मा इंग्ल्यान्ड, न्युजिल्यान्ड, श्रीलंका र वेस्ट इन्डिज रहेका छन् ।
फिफा विश्वकप
प्रत्येक चार–चार वर्षमा आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगिता यसै वर्ष हुँदै छ । इतिहासमै पहिलोपटक तीन राष्ट्र आयोजक बनेका छन् । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा विश्वकप आयोजना गर्न लागेका हुन् । अमेरिकाले सन् १९९४ पछि विश्वकप गर्दा क्यानडाको भने पहिलो हुनेछ । फिफाका अध्यक्ष गिआनी इन्फाटिनोले विश्वकपको संख्या ४८ राष्ट्र पुर्याएका छन् । यसअघि कतार विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दा अर्जेन्टिनाले फ्रान्सलाई टाइब्रेकरमा हराउँदै उपाधि जितेको थियो । विश्वकपको २३औँ संस्करणमा एसियाबाट जोर्डनले डेब्यु गर्नेछ । आगामी ११ जुनदेखि ११ जुलाईसम्म हुने विश्वकपका खेल विभिन्न १६ भेन्युमा हुनेछन् । फाइनल अमेरिकाको जर्सीमा हुनेछ । वर्तमान समयकै उत्कृष्ट खेलाडीद्वय लियोनल मेसी र क्रिस्टियानो रोनाल्डाले कीर्तिमानी रूपमै छैटौँपटक विश्वकप खेल्दै छन् ।
नेपालमै टी–२० महिला विश्वकपको ग्लोबल छनोट
इंग्ल्यान्डले आयोजना गर्ने आइसिसी महिला टी–२० विश्वकपका लागि नेपालले ग्लोबल छनोट आयोजना गर्दै छ । समग्रमा नेपालले पहिलोपटक विश्वकपको ग्लोबल क्वालिफायर आयोजना गर्ने अवसर पाएको हो । प्रतियोगितामा आयोजक नेपालसहित १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । ग्लोबल छनोट पुसको अन्तिम साताबाट सुरु हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । नेपाली महिला क्रिकेट टोली पहिलोपटक ग्लोबल छनोटमा पुगेको हो । एसियन छनोटको शीर्ष दुईमा रहँदै नेपाल पहिलोपटक ग्लोबल क्वालिफायरमा पुगेको हो । क्यानले यो छनोट प्रतियोगिता मूलपानीको माथिल्लो मैदान र कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा गर्दै छ । ग्लोबल छनोटको समूह ‘ए’मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छन् । यसैगरी समूह ‘बी’मा नेपालसहित नेदरल्यान्ड्स, स्कटल्यान्ड, थाइल्यान्ड र जिम्बावे छन् । नेपालले आफ्नो पहिलो खेल १८ जनवरीमा थाइल्यान्डविरुद्ध खेल्नेछ । समूह चरणको खेलपछि दुवै समूहबाट समान तीन शीर्ष टोली सुपर सिक्स चरणमा पुग्नेछन् । सुपर सिक्समा हरेक टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछ । सुपर सिक्समा पुग्ने शीर्ष चार विश्वकपमा छनोट हुनेछन् ।
जापानमा २०औँ एसियन खेलकुद
एसियाका खेलाडीका लागि एसियन खेल ओलम्पिकसहर नै हो । जापानको आइची र नागोया सहरमा आगामी ११ सेप्टेम्बरदेखि ४ अक्टोबरसम्म २०औँ एसियन खेलकुद प्रतियोगिता हुँदै छ । जापानले तेस्रोपटक एसियन खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा ४६ राष्ट्रले प्रतिस्पर्धा गर्ने ओलम्पिक काउन्सिल अफ एसियाले जनाएको छ । जसमा ४२ खेलका लागि ४६० इभेन्ट्सका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपाल ओलम्पिक कमिटीले नेपालबाट ३२ खेलमा सहभागिता जनाउने जनाएको छ । एनओसीले ३२ खेलमा २४९ पुरुष र महिलामा १९५ खेलाडी गरी कुल ४३४ खेलाडीको नाम दर्ता गराएको छ ।
डाकार युथ ओलम्पिक्स
अफ्रिकी महादेशमा पहिलोपटक युथ ओलम्पिक खेलकुद प्रतियोगिता हुँदै छ । सेनेगलले डाकार युथ ओलम्पिकका रूपमा ३१ अक्टोरदेखि १३ नोभेम्बरसम्म आयोजना गर्नेछ । एनओसीले डाकार युथ ओलम्पिक्समा पनि नेपालको सहभागी हुने जनाएको छ ।
विन्टर ओलम्पिक
यसै वर्ष अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेमध्ये विन्टर ओलम्पिक र विन्टर पारा ओलम्पिक पनि हुन् । आगामी ६ देखि २२ फेब्रुअरीसम्म इटालीको मिलानमा विन्टर ओलम्पिक हुँदै छ । विन्टर ओलम्पिकमा १६ खेल समावेश छन् । विश्वका ९० राष्ट्रबाट करिब तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि इटालीले नै ६ देखि १५ मार्चसम्म विन्टर पारा ओलम्पिक खेल आयोजना गर्दै छ ।
एसियन बिच गेम्स
चीनको सान्याले छैटौँ एसियन बिच खेलकुद प्रतियोगिता आयोजना गर्दै छ । यो २२ देखि ३० अप्रिलसम्म हुनेछ । प्रतियोगितामा विभिन्न १४ खेलमा खेलाडीले भाग लिनेछन् । ओसिएका अनुसार यसमा ४५ राष्ट्रले सहभागिता जनाउनेछन् । सान्या एसियन बिच खेल आयोजना गर्ने चीनको दोस्रो सहर हो । सन् २०१२ मा चीनकै हाइयाङमा प्रतियोगिता आयोजना गरेको थियो । एसियन बिच खेलकुदमा नेपालबाट पनि भाग लिने एनओसीले जनाएको छ ।
कमनवेल्थ गेम्स
स्कटल्यान्डले कमनवेल्थ गेम्स आगामी २३ जुलाईदेखि २ अगस्टसम्म आयोजना गर्नेछ । यो प्रतियोगितामा बेलायतको उपनिवेशमा रहेका राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । कमनवेल्थ गेम्स एसोसिएसनअन्तर्गत रहेका ७४ राष्ट्रले भाग लिनेछन् । १० खेलको २१५ इभेन्टका लागि तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।