- राजेन्द्र तामाङको प्रशिक्षणमा ०७५ को ‘ए’ डिभिजन लिगमा एपिएफले पाँचौँ स्थान रक्षा गरेको थियो । उनी सात वर्षपछि फेरि एपिएफमै जोडिए ।
नेपाल एपिएफ क्लबले राष्ट्रिय लिग फुटबल प्रतियोगिताका लागि अनुभवी प्रशिक्षक राजेन्द्र तामाङलाई भित्र्याएको छ । तामाङ सात वर्षपछि एपिएफमा फेरि आबद्ध भएका हुन् । ०७५ को सहिद स्मारक ‘ए’ डिभिजन लिगपछि उनले एपिएफ छाडेका थिए । सात वर्षको अवधिमा उनले घरेलु तथा राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकका रूपमा काम गरेका थिए । ०७५ को लिगमा एपिएफले ‘ए’ डिभिजन लिगमा पाँचौँ स्थान रक्षा गर्दा उनी नै प्रशिक्षक थिए ।
त्यसवेला एपिएफले १३ खेलमा सात जित, दुई बराबर तथा चार हारको सामना गरी २३ अंक जोडेको थियो । तामाङको प्रशिक्षणमा एपिएफले आक्रामक खेल प्रस्तुत गरेको थियो । एपिएफले विपक्षी पोस्टमा २० गोल गर्न सफल भयो । फेरि एपिएफमै फर्किंदा उनी खुसी छन् । एपिएफले आसन्न राष्ट्रिय लिग फुटबल प्रतियोगितालाई मध्यनजर गरी उनलाई भित्र्याएको सामाजिक सञ्जालमा उल्लेख गरेको छ ।
‘घरेलु फुटबलकै अनुभवी प्रशिक्षक भित्र्याउँदा लिगमा राम्रो नतिजा आउने विश्वास लिएका छौँ,’ एपिएफले भनेको छ, ‘तामाङको आगमनसँगै एपिएफले राष्ट्रिय लिगमा अझ मजबुत प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।’ घरेलु फुटबलमा तामाङलाई रणनीतिक क्षमता र खेलाडी विकासका रूपमा लिने गरिन्छ । तामाङले सन् २०२४–०२५ सम्म राष्ट्रिय महिला टोलीको प्रशिक्षकका रूपमा काम गरेका थिए ।
उनकै प्रशिक्षणमा दक्षिण एसियाली महिला साफ च्याम्पियसिपमा नेपाल उपविजेता बनेको थियो । गत १७–२६ फेब्रुअरीमा दशरथ रंगशालामै भएको अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपाल उपविजेता हुँदा तामाङ नै टोलीको प्रमुख प्रशिक्षक थिए । फाइनलमा नेपाल म्यानमारसँग २–० ले पराजित भएको थियो । साफ च्याम्पियनसिपमा नेपाललाई उपाधि दिलाउन नसक्दा उनले महिला टोलीको प्रमुख प्रशिक्षकबाट राजीनामा दिएका थिए ।
कुलदीपले सातदोबाटोबाट खेल्ने
एन्फा राष्ट्रिय लिगमा घरेलु फुटबलका अनुभवी खेलाडी कुलदीप कार्कीले सातदोबाटो युवा क्लबबाट प्रतिस्पर्धा गर्ने भएका छन् । सातदोबाटोले बिहीबार सामाजिक सञ्जालबाट डिफेन्डर कुलदीपलाई अनुबन्ध गरेको जनाएको छ । राष्ट्रिय खेलाडी सुरजजिउ ठकुरीलाई सातदोबाटोले भित्र्याएको छ ।
कुनै समयमा सुरज र कुलदीपले जावलाखेल युवा क्लबबाट खेलेका थिए । गत वैशाखमा भएको तेस्रो नेपाल सुपर लिग (एनएसएल)मा उनले काठमाडौं रेन्जर्सको कप्तानी गरेका थिए । यसअघि दोस्रो संस्करणमा पनि उनले काठमाडौंको कप्तानी गरे । पहिलो नेपाल सुपर लिगमा उनले चितवन एफसीबाट खेलेका थिए ।
एक महिनाअघि भएको एन्फा प्रेसिडेन्ट लिगमा कुलदीपले चित्लाङ एफसीको प्रतिनिधित्व गरेका थिए । उनकै कप्तानीमा चित्लाङ टोली राष्ट्रिय लिगका लागि छनोट भएको थियो । ०७९ को सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उनी संकटा क्लबमा आबद्ध भएका थिए । सातदोबाटोमा यसअघि पासाङ लामा र स्ट्राइकर समीर तामाङबाट खेल्ने सम्झौता गरेका थिए । गोलरक्षकको जिम्मेवारी अभिषेक बराललाई नै दिएको छ।
एपिएफमा सन्तोष र अनिश
मुख्य प्रशिक्षकका रूपमा तामाङलाई अनुबन्ध गरेको एपिएफले मिडफिल्डर सन्तोष खत्री र स्ट्राइकरमा अनिश क्षेत्रीसँग पनि सम्झौता गरेको छ । २५ पुसदेखि सुरु हुने राष्ट्रिय लिगमा दुवै खेलाडीले पहिलो सेटमा प्रतिस्पर्धा गर्ने सम्भावना छ । सन्तोषले यसअघि चर्च ब्वाइज युनाइटेडबाट लिग खेलेका थिए । ०७९/८० को ‘ए’ डिभिजन लिगमा डेब्यु गरेको संस्करणमा चर्च ब्वाइजले उपाधि जित्दा सन्तोषले गतिलो प्रदर्शन गरेका थिए । यसैगरी, अनिशले मेची एफसी र ललितपुर सिटीबाट नेपाल सुपर लिगमा प्रतिस्पर्धा गरेका थिए । राष्ट्रिय लिगमा शीर्ष डिभिजनका १३ र प्रेसिडेन्ट लिगबाट छनोट भएका चार गरी कुल १७ टोलीको सहभागिता रहनेछ ।