बिहीबार : १० बजेसम्मका मुख्य १० खबर

बिहिबार, ३ पुष, २०८२
डिजिटल संस्करण

एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल विजयी 
नेकपा एमालेको ११औँ महाधिबेशनबाट अध्यक्षमा केपी ओली विजयी भएका छन् । अन्तिम परिणामअनुसार ओलीले एक हजार ६ सय ६३ मत ल्याउँदा अर्का उम्मेद्वार ईश्वर पोखरेलले पाँच सय ६४ मत मात्रै ल्याए । त्यस्तै, महासचिवमा पनि ओली पक्षकै शंकर पोखरेल विजयी भएका छन् । उनले एक हजार दुई सय २८ मत ल्याए । महासचिवका अर्का उम्मेदवार सुरेन्द्र पाण्डेले नौ सय ९९ मत ल्याए ।

रवि लामिछानेलाई रिहा गर्ने अदालतको आदेश 
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्न उच्च अदालत, तुलसीपुरको भैरहवा इजलासले आदेश दिएको छ । बिगोबराबरको धरौटी राखेर रिहा हुन उनले गरेको मागअनुसार अदालतले आदेश दिएको हो । न्यायाधीशहरु बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले बिहीबार लामिछानेलाई जमानतमा  रिहा गर्न भनेको हो । 

पदाधिकारीमा ओलीको बहुमत, ईश्वर पक्षबाट विष्ट र भट्टराई मात्र विजयी
नेकपा एमालेको ११औँ महाधिवेशनले केपी ओली प्यानलका पदाधिकारीले विजयी हासिल गरेका छन् । बुधबार भृकुटीमण्डपमा भएको मतदानको बिहीबार मतगणना सार्वजनिक हुँदा अधिकांश पदाधिकारी ओली प्यानलका विजयी भए । जसमा ईश्वर पोखरेल प्यानलका गोकर्ण विष्ट उपाध्यक्ष र उपमहासचिवमा योगेश भट्टराई मात्रै विजयी भएका छन् । 

जेन–जी आन्दोलनका १८३ घाइतेको वर्गीकरण, अति गम्भीर घाइतेलाई मासिक १८ हजार
२३ र २४ भदौको  जेन–जी आन्दोलनमा घाइते भएकाहरूको वर्गीकरणको कामलाई सरकारले अघि बढाएको छ । जेन–जी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अपांगताको अवस्था तथा गाम्भीर्यताको आधारमा आर्थिक सहायता तथा जीवननिर्वाह  भत्ता उपलब्ध गराउन तयार पारिएको कार्यविधिलाई नेपाल सरकार मन्त्रिपरिषद्ले मंसिर २२ गते स्वीकृत गरेसँगै घाइतेको वर्गीकरणलाई तीव्रता दिइएको गृह मन्त्रालयले जनाएको छ । 

तयार छन् क्रिकेट रंगशाला, तर प्रतियोगिता हुँदैनन्
दाङको देउखुरीस्थित लमहीमा अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट रंगशाला निर्माण भएको छ । राष्ट्रियस्तरका खेल खेलाउन सकिने रंगशाला तयार भए पनि पछिल्लो एक वर्षयता खेल नै भएका छैनन्। खेल नहुँदा अहिले मैदानमा घाँस उम्रिएको छ । लमही नगर विकास समितिको आठ करोड लगानीमा रंगशाला निर्माण भएको हो ।

जाँचबुझ आयोगको म्याद एक महिना थप 
सरकारले जेन–जी आन्दोलनमा भएको दमन र क्षतिबारे छानबिन गर्न गठन गरेको जाँचबुझ आयोगको म्याद एक महिना थप गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले म्याद थपेको हो । आयोगको तीन महिना म्याद ९ पुसमा सकिँदै छ । सो अवधिमा छानबिन नसकिने भएपछि म्याद थप भएको हो । 

नेपाल प्रहरीद्वारा एआइजीको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल स्थापना 
 प्रतिनिधिसभा सदस्य निर्वाचनको एकीकृत सुरक्षा योजना, २०८२ अनुसार नेपाल प्रहरीले केन्द्रीय निर्वाचन सेल गठन गरेको छ । कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्बेदीको अध्यक्षतामा केन्द्रीय निर्वाचन सेल गठन गरिएको प्रहरी प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले बताए । 

पुजारी हत्या प्रकरण : मण्डललाई दुई लाख धरौटीमा छाड्न आदेश
सप्तरी जिल्ला अदालतले रामजानकी मन्दिरका पुजारी जन्त्रीदास बैरागीको हत्याका आरोपित रामनारायण मण्डललाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । अदालतमा हाजिर भएका मण्डललाई सप्तरी जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर थापा क्षेत्रीको एकल इजलासले धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको अदालतका सूचना अधिकारी उमेशकुमार अर्यालले जानकारी दिए ।  

गौरवलाई फुटबल गतिविधिमा रोक्ने एन्फाको प्रयास अदालतद्वारा खारेज
काठमाडौं जिल्ला फुटबल संघका सदस्य गौरव थापालाई फुटबल गतिविधिमा सहभागी हुन नपाउने गरी रोक्ने अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रयासलाई उच्च अदालत पाटनले खारेज गरिदिएको छ । उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारी र प्रकाश  खरेलको संयुक्त इजलासले थापालाई फुटबल गतिविधिमा रोक्नुपर्ने कुनै कारण नदेखिएको फैसलामा उल्लेख छ । 

काठमाडौंका नदीकिनार र सार्वजनिक जमिन अब तारबारले सुरक्षित गरिँदै
काठमाडौं महानगरपालिकाले नदी किनार र अतिक्रमणको चपेटामा परिरहेका सार्वजनिक जमिनको संरक्षणलाई प्राथमिकतामा राख्दै तारबार लगाउने तयारी थालेको छ। महानगरको सार्वजनिक निर्माण विभागले यससम्बन्धी योजना कार्यान्वयनमा लैजान सूचना जारी गरेको हो ।
 

सुझावित समाचार