तयार छन् क्रिकेट रंगशाला, तर प्रतियोगिता हुँदैनन्

बिहिबार, ३ पुष, २०८२
डिजिटल संस्करण

दाङको देउखुरीस्थित लमहीमा अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट रंगशाला निर्माण भएको छ। राष्ट्रियस्तरका खेल खेलाउन सकिने रंगशाला तयार भए पनि पछिल्लो एक वर्षयता खेल नै भएका छैनन्। खेल नहुँदा अहिले मैदानमा घाँस उम्रिएको छ।

लमही नगर विकास समितिको आठ करोड लगानीमा रंगशाला निर्माण भएको हो। अहिले संरक्षणको काम पनि लमही नगर विकास समितिले नै गरिरहेको छ। समितिका इन्जिनियर तुलसी अर्यालले खेल नहुँदा मैदानमा घाँस उम्रिने गरेको बताए। ‘घाँस काट्दा खर्च मात्रै हुन्छ। खेल नहुने समस्या छ,’ उनले भने। 

रंगशालामा ३९० सिटको भिआइपी प्यारापिट र दुई हजार सिटको दर्शक प्यारापिट छ। चार हेक्टरमा फैलिएको रंगशालाको बाउन्ड्री ८१ मिटर छ। विगतमा राष्ट्रपति रनिङ सिल्ड, मेयर कप हुने गरेको भए पनि पछिल्ला वर्षमा ती पनि भएका छैनन्। मैदानमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पनि भएको थियो। नेपाल क्रिकेट संघ (क्यान)ले सेड्युल बनाएर खेल खेलाउनुपर्ने उनले बताए।

रंगशालामा एनपिएल हुन सक्ने क्षमताको रहेको क्रिकेट संघ दाङका अध्यक्ष प्रदीप मजगैयाले बताए। तर, सरकारले यो रंगशालाको महत्व बुझ्न नसकेको उनको भनाइ छ। हाल रंगशालाका १५ वटा व्यापारिक सटरबाट मासिक डेढ लाख आम्दानी हुने गरेको छ।

लगभग तयार छ गौरीटार क्रिकेट मैदान
मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ६ स्थित गौरीटार अन्तर्राष्ट्रिय रंगशालापरिसरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण अन्तिम चरणमा पुगेको छ। क्रिकेट मैदानमा ६ सय दर्शक क्षमताको प्यारापिट, पाँचवटा पिच, १४० मिटर व्यासको खेलमैदान, भूमिगत ड्रेनेज प्रणाली, खेलाडीका लागि चेन्जिङ रुमलगायत संरचना अन्तिम चरणमा छन्। साथै, मिडिया कक्ष, स्कोर बोर्ड, पार्किङ क्षेत्रलगायत आधुनिक आवश्यक सुविधा पनि समेटिएका छन्। 

गौरीटार क्रिकेट मैदानको ९९ प्रतिशत काम सम्पन्न भइसकेको र घेराबारको काम मात्रै बाँकी रहेको प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपक लामाले बताए। एसएनएस÷पिएल÷एचकेसी जेभीले २० चैत ०८० मा नौ करोड ४२ लाख ८२ हजारमा ठेक्का लिएको थियो। कम्पनीले तोकिएको समयसीमाभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धताअनुसार काम भइरहेको सदस्यसचिव लामाले बताए।

वर्षौँदेखि बजेट अभाव, बेवास्ता र स्वामित्व विवादकै कारण थन्किएको आयोजना बागमती प्रदेश सरकारको प्राथमिकतामा परेपछि तीव्र गतिमा अघि बढेको हो। २८ जेठ ०६६ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेको गौरीटार रंगशाला पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य थियो। आवासीय सुविधासहितको अत्याधुनिक प्रशिक्षण केन्द्र बनाउने भनिए पनि बजेट अभावले वर्षौँ अधुरै रह्यो। तर, हाल बागमती प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा अघि बढाएपछि फुटबल स्टेडियम, क्रिकेट मैदान र पौडीपोखरी निर्माण भइरहेको छ।

सुझावित समाचार