आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

आइतबार, ८ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने र तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। देशका अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने भए पनि तराईका अधिकांश स्थानमा मौसम सफा रहने अनुमान गरिएको छ।

त्यस्तै, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहने सम्भावना छ। बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।

आगामी सोमबार कोशी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ। मंगलबार र बुधबार देशका विभिन्न भूभागमा आंशिक बदली रहने तथा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

यसैबिच, बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण आगामी कात्तिक ११ देखि १५ गतेसम्म नेपालको मौसम प्रभावित हुन सक्ने पूर्वानुमान गरिएको छ। उक्त प्रणालीको प्रभाव र वर्षाको मात्रा कति हुने भन्ने विषयमा थप अनुगमन भइरहेको छ।

मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै सर्वसाधारण, किसान तथा हिमाली क्षेत्रमा यात्रा गर्ने पर्यटकलाई मौसमसम्बन्धी पछिल्लो सूचना नियमित रूपमा लिन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

सुझावित समाचार