काठमाडौं महानगरपालिकाले नदी किनार र अतिक्रमणको चपेटामा परिरहेका सार्वजनिक जमिनको संरक्षणलाई प्राथमिकतामा राख्दै तारबार लगाउने तयारी थालेको छ।
महानगरको सार्वजनिक निर्माण विभागले यससम्बन्धी योजना कार्यान्वयनमा लैजान सूचना जारी गरेको हो। सूचनाअनुसार महानगरपालिकामातहतका ३२ वटै वडालाई आवश्यक स्थानको पहिचान गर्न आग्रह गरिएको छ।
विभागले नदी किनार, खोलाआसपास र अतिक्रमणको सम्भावना भएका सार्वजनिक जग्गाहरूको विवरण यथाशीघ्र उपलब्ध गराउन वडाहरूलाई पत्राचार गरेको छ।
आर्थिक वर्ष ०८१/०८२ को स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गत ‘करिडोर फेन्सिङ वर्क’ सञ्चालन गर्न लागिएको र यसले सार्वजनिक सम्पत्तिको संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।