जेन–जी आन्दोलनका १८३ घाइतेको वर्गीकरण, अतिगम्भीर घाइतेले मासिक १८ हजार रुपैयाँ पाउने

बिहिबार, ३ पुष, २०८२
डिजिटल संस्करण

२३ र २४ भदौको  जेन–जी आन्दोलनमा घाइते भएकाहरूको वर्गीकरणको कामलाई सरकारले अघि बढाएको छ। 

जेन–जी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अपांगताको अवस्था तथा गाम्भीर्यताको आधारमा आर्थिक सहायता तथा जीवननिर्वाह  भत्ता उपलब्ध गराउन तयार पारिएको कार्यविधिलाई नेपाल सरकार मन्त्रिपरिषद्ले मंसिर २२ गते स्वीकृत गरेसँगै घाइतेको वर्गीकरणलाई तीव्रता दिइएको गृह मन्त्रालयले जनाएको छ । 

कार्यविधिअनुसार घाइते भएका व्यक्तिको अपांगताको आधारमा वर्गीकरण गर्न स्वास्थ्य मन्त्रालयको सहसचिवको संयोजकत्वमा प्राविधिक समिति रहने र उक्त समितिले घाइतेलाई साधारण, मध्यम, गम्भीर र अतिगम्भीर घाइते वर्गीकरण गर्ने व्यवस्था गरेको छ।   

वर्गीकरण भएका घाइतेमध्ये, गम्भीरले मासिक नौ हजार  रुपैयाँ  र अतिगम्भीर घाइतेले मासिक जीविकोपार्जन भत्ताबापत मासिक १८ हजार रुपैयाँ पाउने व्यवस्था गरिएको छ।  यस्तै, कार्यविधिअनुसार मध्यम प्रकृतिका घाइतेले मासिक चार हजार रुपैयाँ भत्ता पाउनेछन्।   

२९ मंसिरसम्मको तथ्यांकअनुसार स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयको संयोजकत्वमा भइरहेको घाइते वर्गीकरण काठमाडौं, कास्की र चितवनमा १८३ जनाको सम्पन्न भएको छ।  वर्गीकरणमध्ये कुल १८ जना अतिगम्भीर घाइते, ५५ जना गम्भीर, ४० जना मध्यम घाइते र ७० जना सामान्य घाइतेको रूपमा वर्गीकरण भएका छन्।   काठमाडौंमा कुल १६९ घाइतेको वर्गीकरण भएकोमध्ये, १६ जना अतिगम्भीर घाइते, ५२ जना गम्भीर घाइते, ३७ जना मध्यम घाइते र ६४ जना सामान्य घाइतेमा वर्गीकरणमा परेका छन्।   

यस्तै, कास्की जिल्लामा हालसम्ममा सातजना घाइते वर्गीकृत भएकामध्येमा अतिगम्भीरमा दुईजना, गम्भीरमा तीनजना, मध्यममा शून्य र सामान्यमा दुईजना घाइतेहरू वर्गीकरण भएको गृह मन्त्रालयले जनाएको छ । 

चितवनमा कुल सातजना घाइतेहरूको वर्गीकरण भएकोमा अतिगम्भीर र गम्भीरमा कोही पनि वर्गीकरणमा नपरेको र मध्यम र सामान्यमा क्रमशः तीन र चारजना वर्गीकृत भएका छन्।  
गृहमन्त्री ओमप्रकाश अर्यालको तदारुकता र जेन–जी घाइतेहरूको जनभावनाअनुरूप घाइतेहरूको वर्गीकरणका लागि मन्त्रालयले सम्बद्ध निकायलाई घाइतेहरूको वर्गीकरणको कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।    

विभिन्न अस्पतालहरूबाट स्वास्थ्य मन्त्रालयमा आएको घाइतेहरूको विवरणअनुसार देशभर घाइतेहरूको कुल संख्या दुई हजार ५२२ रहेका छन्।   

मन्त्रिपरिषद्को यही मंसिर २२ गते बसेको बैठकले पारित गरेको ‘जेन–जी प्रदर्शनमा घाइते भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि–२०८२’ को दफा ८ अन्तर्गत घाइतेलाई मासिक जीविकोपार्जन भत्ता प्रदान गर्ने बाटो खुलेको थियो। जसमा अतिगम्भीर घाइतेले नौ हजार रुपैयाँ र निजको हेरचाह गर्ने व्यक्तलाई थप नाै हजार रुपैयाँ गरी कुल १८ हजार रुपैयाँ उपलब्ध गराउने तयारी छ। 

सुझावित समाचार