बाँकेको कोहलपुरमा निर्माणाधीन एक हजार दुई सय दर्शक क्षमताको क्रिकेट रंगशाला गौचरनजस्तै बनेको छ।
अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन खेलकुद मन्त्रालयले दुई करोड विनियोजन गरे पनि पर्खाल लगाउने र प्यारापिटबाहेक अन्य संरचना निर्माण नहुँदा जिल्ला र प्रदेशस्तरीय प्रतियोगितामा खुम्चिनुपरेको छ। चार बिघा १९ कट्ठामा फैलिएको क्रिकेट मैदानलाई घाँसले ढाकेको छ।
‘क्रिकेट मैदानमा प्यारापिटभन्दा पिच, चेन्जिङ रुम, बाथरुम, मैदानको लेबलिङ र ग्राफ्टिङ गर्न जरुरी छ,’ नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान एलबी क्षेत्रीले भने, ‘अहिलेको पिचमा जिल्ला र प्रदेशस्तरीय प्रतियोगिता गराउनसमेत नसकिने अवस्था छ।’
सरकारले आवश्यक पूर्वाधार निर्माण गर्न नसक्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेल हुन नसकेको क्षेत्रीले बताए। नेपालगन्जमा सम्पन्न आठौँ राष्ट्रिय प्रतियोगिताका लागि कामचलाउ मैदान निर्माण भएपछि कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा पुनर्निर्माण गरेको थियो। आठौँ राष्ट्रिय प्रतियोगिताका लागि निर्माण भएको पिच भत्काएर अर्को १० लाखमा बनाएको कोहलपुरका मेयर पूर्णप्रसाद आचार्यले बताए।
पिच र अन्य संरचना निर्माणका लागि कोहलपुर नगरपालिकाले ३० लाख विनियोजन गरेको थियो। तर, नगरपालिकाले बनाएको पिच पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन। ‘कालो माटोको पिच हुनुपर्ने हो, तर यो क्रिकेट रंगशालाको पिच रातो माटोले गरिएको छ,’ क्षेत्रीले भने, ‘रातो माटोले बनेको पिचमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न मापदण्ड पुग्दैन।’
नगरपालिकाको रकमबाट मध्यपश्चिम क्रिकेट क्लबले क्रिकेट मैदानमा दुईकोठे चेन्जिङ रुम, दुई कोठाको बाथरुम र टिकटघर निर्माण गरेको छ।