मतदानअघि एमालेमा निर्णायक ध्रुवीकरण : ओली र पोखरेल समूह प्यानलसहित प्रतिस्पर्धामा

पदाधिकारीमा नपर्ने दर्जनभन्दा बढी ओलीनिकट नेता असन्तुष्ट, ओली खेमाका असन्तुष्ट समेटेर चुनाव जित्ने रणनीतिमा पोखरेल समूह

मंगलबार, १ पुष, २०८२
डिजिटल संस्करण

नेतृत्व छान्न आज हुँदै छ मतदान

११औँ महाधिवेशनमा पदाधिकारीसहित केन्द्रीय कमिटी चयनका लागि मतदानपूर्व एमालेमा निर्णायक ध्रुवीकरण देखिएको छ । अध्यक्षका दाबेदार केपी ओली र ईश्वर पोखरेल समूह प्यानलसहित प्रतिस्पर्धामा उत्रेका छन् । तर, ओली पक्षमा रहेर पनि प्यानलमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका नेतासँगसमेत संवाद जारी राखेकाले पोखरेल समूहले प्यानलको अन्तिम नामावली सार्वजनिक गरेको छैन । 

प्यानलमा नपरेका वा आफ्नो रोजाइका पदमा उम्मेदवारी दिन नपाएका ओली पक्षका असन्तुष्ट नेतामध्ये कसैले विद्रोह गरेर पोखरेल समूहबाट उम्मेदवारी दिएका छन् भने कतिपय नेता निष्क्रियजस्तै बनेका छन् । निकट नेताको व्यवस्थापन गर्न पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाएर निर्वाचन प्रक्रिया अगाडि बढाइए पनि ओली समूहमा ठुलो असन्तुष्टि पैदा भएको छ ।

ओली समूहमा देखिएको असन्तुष्टिकै कारण उम्मेदवारी मनोनयनमा भएको ढिलाइलगायतले निर्वाचन प्रक्रियासमेत राति अबेरसम्म लम्बिएको छ । मंगलबार नेतृत्वका लागि निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक भए पनि एक दिन थप लम्बिने सम्भावना बढेको छ ।

१९ सदस्यीय पदाधिकारीमा ओली प्यानलबाट पाँच उपाध्यक्षमा रामबहादुर थापा बादल, विष्णु पौडेल, गुरुप्रसाद बराल र पृथ्वीसुब्बा गुरुङको उम्मेदवारी परेको छ । बादल, पौडेल, बरालले पुन: पुरानै पदमा दोहोरिने गरी उम्मेदवारी दिएका छन् । महासचिवका आकांक्षी गुरुङलाई उपाध्यक्षमा उम्मेदवारी दिन लगाइएको छ । 

महासचिवकै अर्का आकांक्षी प्रदीप ज्ञवालीलाई पनि ओलीले उपाध्यक्षमै उम्मेदवारी दर्ता गर्न आग्रह गरेका थिए । तर, उनी मौन विद्रोह गरेर केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएर महाधिवेशनस्थलबाट बाहिरिएका थिए । उनलाई उपाध्यक्षमै मनाउन ओलीसहितका नेता राति अबेरसम्म सक्रिय थिए । 

त्यस्तै, ओली प्यानलबाट महासचिवमा पुन: शंकर पोखरेलकै उम्मेदवारी परेको छ भने तीन उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र लेखराज भट्टको उम्मेदवारी परेको छ । रिमाल पुन: दोहोरिएका छन् भने दुई सचिव महासेठ र भट्टको बढुवा हुने गरी उम्मेदवारी परेको छ ।

यस्तै, नौ सचिवमा छविलाल विश्वकर्मा, पद्मा अर्याल, हिक्मत कार्की, शेरधन राई, महेश बस्नेत, डा. राजन भट्टराई, खगराज अधिकारी, यामलाल कँडेल, भानुभक्त ढकालको उम्मेदवारी परेको छ । विश्वकर्मा र अर्यालबाहेक अरू सचिवमा नयाँ अनुहार हुन् । 

उता, पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट, विन्दा पाण्डे, पर्शुमेघी गुरुङ र अरुण नेपालको उम्मेदवारी परेको छ । विष्ट यसअघि सचिव थिए । बाँकी एक उपाध्यक्षमा स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएका भीम आचार्य वा रघुजी पन्तमध्ये एकलाई समर्थन गर्ने तयारी छ । त्यस्तै, महासचिवमा सुरेन्द्र पाण्डे, तीन उपमहासचिवमा योगेश भट्टराई, वैजनाथ चौधरीको उम्मेदवारी परेको छ । बाँकी स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएकालाई समर्थन गर्नेबारे टिममा छलफल भइरहेको छ । 

नौ सचिवमा गोकुल बाँस्कोटा, ठाकुर गैरे, विनोद ढकाल, कर्ण थापा, रचना खड्का र पुरुषोत्तम पौडेलको उम्मेदवारी परेको छ । अरू थप स्वतन्त्र उम्मेदवारी दिएकालाई समेट्ने छलफल चलिरहेको पोखरेलनिकट एक नेताले बताए । स्वतन्त्र उम्मेदवारी दिएका नेताहरूलाई समेटेर असन्तुष्ट मत बटुलेर कडा टक्कर दिएर जित्ने रणनीति बुन्न पोखरेल पक्षका नेताहरू राति अबेरसम्म व्यस्त छन् । 

प्रचार समितिकी संयोजक पद्मा अर्यालले उम्मेदवारी मनोनयन सकिएपछि पनि सर्वसम्मतिका लागि प्रयास गरिने र निर्वाचन तालिका सर्न सक्ने संकेत गरिन् । ‘रफ्तारले निर्वाचन प्रक्रिया अगाडि बढिरहेको छ । तर, मनोनयन प्रक्रियामा विलम्ब भएकाले मंगलबार नै मतदान हुन्छ कि हुँदैन भन्न सकिँदैन, किनकि राति मतदान गर्न अप्ठ्यारो हुन्छ,’ उनले भनिन् । 

निर्वाचन आयोगका अनुसार पदाधिकारीसहित केन्द्रीय सदस्यहरूमा सात सयभन्दा बढीको उम्मेदवारी परेको छ । 

संस्थापनमा प्रदीपको असन्तुष्टिले सुरेन्द्रलाई फाइदा 
महासचिवको उम्मेदवार नबनाएकोमा ओली र पोखरेलप्रति असन्तुष्टि जनाउँदै प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन् । ज्ञवालीको असन्तुष्टिले पोखरेलको प्यानलबाट महासचिवमा उम्मेदवारी दिएका पाण्डेलाई प्रतिस्पर्धा गर्न सहज बनेको छ । उपाध्यक्ष बनिसकेका र १० वर्षअघिको नवौँ महाधिवेशनमा महासचिव पदमै जम्मा ६ मतले मात्र पछि परेर पराजित पाण्डे ईश्वर प्यानलमा रहेका अन्य उम्मेदवारमध्ये हेभिवेटका उम्मेदवार मानिन्छन् । अहिलेको समकालीन राजनीतिसँग जोडिएको डाटा पुँजीवादको प्रभावले विश्व राजनीतिमा बदलिरहेको आयामबारे पिएचडी गरिरहेका पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डे संगठक र बौद्धिक नेताकै रूपमा स्थापित छन् । 

ज्ञवालीलाई अध्यक्ष ओलीले मनाउने निकै प्रयास गरेका थिए । तर, पुरानै पदमा उम्मेदवारी नदिने अडान राख्दै महासचिव बनाउन नपर्ने कारण ज्ञवालीले माग गरेका थिए । उपाध्यक्ष विष्णु पौडेल र महासचिवका अर्का आकांक्षी पृथ्वीसुब्बा गुरुङसँगै ज्ञवालीलाई पनि उपाध्यक्षको उम्मेदवार बनाएर ओलीले प्यानल टुंग्याएका थिए । तर, ज्ञवालीले महासचिवलाई उपाध्यक्ष र एक नम्बर वरीयताको उपमहासचिवलाई महासचिवमा उठाउने कुराचाहिँ न्यायोचित भएको अडान राखेर केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिए । उनले एउटै व्यक्तिलाई पुरानै पदमा दोहोर्‍याउने काम उचित नभएको निकटस्थहरूलाई बताएका छन् ।

पुन: पोखरेललाई महासचिवको उम्मेदवार बनाइएकोमा उपाध्यक्ष पौडेल, उपमहासचिव गुरुङ पनि असन्तुष्ट छन् । जसले गर्दा लामो समयदेखि साथ दिँदै आएका कारण पनि ओलीले पोखरेललाई उपाध्यक्ष र ज्ञवालीलाई महासचिवको उम्मेदवार बनाउने अनुमान थियो । तर, आफ्नै टिमका नेताहरू एकपछि अर्को असन्तुष्ट बन्दा पनि ओलीले पोखरेललाई नै रोजेका कारण त्यसबाट पर्ने असरको लाभ पाण्डेले लिन सक्नेछन् । सचिव पद्मा अर्यालले आकांक्षी व्यवस्थापन अप्ठ्यारो भएकाले असन्तुष्टि देखिनु स्वाभाविक भएको बताइन् । ‘सबै आकांक्षीलाई व्यवस्थापन गर्न गाह्रो भयो । यत्रो ठुलो पार्टीमा व्यवस्थापन धेरै चुनौतीको विषय हो,’ उनले भनिन् । 

तीन महिला मात्रै पदाधिकारीमा उम्मेदवार
१९ सदस्यीय पदाधिकारीमा ओली प्यानलबाट एक र पोखरेल प्यानलबाट दुईजनासहित तीनजना मात्रै महिला समेटिएका छन् । पोखरेल प्यानलबाट विन्दा पाण्डेले उपाध्यक्षमा र रचना खड्काले सचिवमा उम्मेदवारी दिएका छन् । ४१ वर्षीया दोलखाकी खड्का पदाधिकारीमा उम्मेदवारी दिने सबैभन्दा कान्छी उमेरकी हुन् । ओली प्यानलबाट भने निवर्तमान सचिव पद्मा अर्यालको उम्मेदवारी परेको छ । उपाध्यक्ष या उपमहासचिवको उम्मेदवारको रूपमा चर्चामा रहे पनि प्यानलमा पदाधिकारी मिलाउन असहज हुँदा उनले पुरानै पदमा दोहोर्‍याएर उम्मेदवारी दिएकी छिन् ।

प्यानलमा नपरेपछि ओली समूहका केही नेताको स्वतन्त्र उम्मेदवारी

  • ओली पक्षको असन्तुष्टि हेरेर मंगलबार बिहान मात्रै प्यानल सार्वजनिक गर्ने पोखरेल समूहको तयारी

दु:ख र संकटका वेला लामो समयदेखि ओलीलाई साथ दिँदै आएका, तर पदाधिकारीको सूचीमा नपारिएपछि केही नेता असन्तुष्ट बनेका छन् । कृष्णगोपाल श्रेष्ठ त पोखरेलको प्यानलबाटै सचिवको उम्मेदवार बने भने केहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । महासचिवको दाबी गर्दै आएका उपमहासचिव प्रदीप ज्ञवालीलाई ओली समूहले उपाध्यक्षमा प्रस्ताव गरेको थियो । उनले त्यसमा असन्तुष्टि जनाउँदै उपाध्यक्षमा उम्मेदवारी नै थिएनन् । सदस्यमा मात्रै उम्मेदवारी दिएर उनी घर फर्किएका थिए ।

उपाध्यक्षको दाबी गर्दै आएका रघुजी पन्त, भीम आचार्य, उपमहासचिवको दाबी गरिरहेका आनन्दप्रसाद पोखरेल, राजेन्द्र गौतम, सचिवको दाबी गरिरहेका अग्नि खरेल, लालबाबु पण्डितले प्यानलमा नपरेपछि दाबी पदमै स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनीहरू दुवै समूहका भोट तान्ने रणनीतिमा छन् । अन्तिम समयमा देखिएको यो सन्तुष्टिले ओली समूहभित्र खैलाबैला मच्चिएको छ । 

See More On

सुझावित समाचार