युएईमा भएको आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक कांस्य पदक विजेता चन्द्रबहादुर थापासहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । आइतबार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, नेपाल प्रहरीका उच्चपदस्थ पदाधिकारी, नेपाल बक्सिङ महासंघका पदाधिकारी, राष्ट्रिय खेल संघका पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतले स्वागत गरे ।
३ देखि १४ डिसेम्बरसम्म भएको प्रतियोगिताको ५४ केजी तौल समूहमा चन्द्रले अर्मेनिया, इन्डोनेसिया र इरानका खेलाडीलाई हराउँदै कांस्य पक्का गरेका थिए । कांस्यसँगै चन्द्रले ७५ हजार अमेरिकी डलर पुरस्कार पनि सुनिश्चित गरेका थिए । सेमिफाइनलमा चन्द्र विश्व वरीयतामा सातौँ स्थानमा रहेका कजाकस्तानका खेलाडीसँग पराजित भएका थिए । विश्व बक्सिङमा पदक जित्ने चन्द्र एक्लो नेपाली मुक्केबाज हुन् ।
राखेपले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका चन्द्रसँगै प्रतियोगितामा नेपालबाट पाँच खेलाडी सहभागी थिए । ४८ केजीमा लालप्रसाद उप्रेती, ५१ केजीमा फुङलाङ काम्बाङ, ६० केजीमा खगेन्द्र रोकामगर र ८० केजीमा दीपक श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । लालप्रसादले क्वार्टरफाइनलसम्मको यात्रा तय गर्दै १० हजार अमेरिकी डलर जिते । बाँकी खेलाडी पहिलो चरणबाटै बाहिरिए ।
प्रशिक्षकमा प्रकाश थापामगर, दीपक महर्जन र सुजित पुनमगर रहेका थिए । कार्यक्रममा सदस्यसचिव मेहताले ऐतिहासिक उपलब्धि हासिल गरेकोमा चन्द्रलाई बधाई दिँदै पदकले सारा नेपालीलाई हर्षित बनाएको बताए । चन्द्रले सबैको साथ र सहयोगले यो उपलब्धि सम्भव भएको बताउँदै अझ बढी सफलता हासिल गर्न ध्यान केन्द्रित गर्ने बताए ।