- सिरियाली शरणार्थीलाई देशनिकाला गर्ने जर्मन योजना ४० वर्षअघिको टर्कीका आप्रवासी फिर्ती गर्ने अभियानसँग मेल खान्छ
सिरिया १४ वर्षसम्म क्रुर गृहयुद्धबाट गुज्रिँदा जर्मनीले हिंसाबाट उम्केर भाग्नेहरूलाई सुरक्षित आश्रय प्रदान गर्यो । डिसेम्बर २०२४ मा असद शासनको पतनसँगै त्यो द्वन्द्व समाप्त भएको पनि एक वर्ष पूरा भइसक्यो । अहिले जर्मनीमा नेतादेखि सर्वसाधारणसम्म पहिले शरण लिएका सिरियाली फर्किऊन् भन्ने चाहन्छन् । नोभेम्बरमा जर्मन चान्सलर फ्रेडरिक मर्जले ‘निकट भविष्यमा’ सिरियाली शरणार्थीलाई देशनिकाला गर्ने विवादास्पद योजनाको घोषणा गरे । अहिलेका लागि उनले जर्मनीमा रहेका करिब १० लाख सिरियालीलाई स्वेच्छाले फर्कन आग्रह गरेका छन् ।
सिरियाली शरणार्थीप्रति कठोर बन्दै गएको यस अडानलाई जर्मनीमा बढ्दो उग्र दक्षिणपन्थी पार्टी ‘अल्टर्नेटिभ फर जर्मनी (एएफडी)’लाई रोक्ने मर्जको प्रयासको रूपमा व्याख्या गरिएको छ । गत फेब्रुअरी २०२५ को आमनिर्वाचनमा एएफडी संसद्को दोस्रो ठुलो पार्टी बन्यो । आप्रवासनप्रति कठोर भएर एएफडीमा गएका मतदातालाई फर्काउन सकिने सरकारको तर्क देखिन्छ । तर, वास्तविकता जटिल छ । जातिवादी र मुस्लिमघृणा उग्र दक्षिणपन्थीमा मात्र व्याप्त छैन । बरु, यो दशकौँदेखि मूलधार जर्मन राजनीति र समाजको अंश रहँदै आएको छ ।
मर्जकै मध्यमार्गी पार्टी ‘क्रिस्चियन डेमोक्रेटिक युनियन (सिडियू)ले सन् १९८० को दशकमा यसरी नै अर्को मुस्लिम आप्रवासी समूह टर्कहरूलाई देशनिकाला गर्न यस्तै रणनीति प्रयोग गरेको थियो ।
डिसेम्बर ८, २०२४ मा बसर असदको शासन पतन भएदेखि विदेश विस्थापित भएका लगभग १५ लाख सिरियाली स्वेच्छाले आफ्नो देश फर्किएका छन् । यो संख्या सन् २०११ मा सिरियामा गृहयुद्ध सुरु भएदेखि भागेका कुल संख्याको लगभग एकचौथाइ हो । अन्तको तुलनामा जर्मनीमा रहेका सिरियाली शरणार्थी फर्कन अनिच्छुक देखिन्छन् । धेरै त जर्मन समाजमा घुलमिलसमेत भएका छन् । जर्मनीको शरण लिएका सिरियालीमध्ये लगभग १५ प्रतिशतले जर्मनीको नागरिकता प्राप्त गरेका छन् । लगभग दुई लाख ५० हजार सिरियाली बालबालिका जर्मनीका स्कुलमा पढ्छन् ।
अन्तर्राष्ट्रिय कानुनी सिद्धान्तले जीवन वा स्वतन्त्रताको गम्भीर खतराको सामना गर्ने देशमा शरणार्थीलाई जबर्जस्ती फिर्ता पठाउन निषेध गर्छ । डिसेम्बर २०२५ सम्म संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सीले शरणार्थीलाई सिरिया फर्कन बाध्य पार्नु नहुने कुरामा जोड दिन्छ । तर, सिरियालीलाई स्वैच्छिक देश फिर्ती सहज बनाउने जर्मन कार्यक्रम औपचारिक रूपमा जनवरी २०२५ देखि कर्यान्वयनमा छ ।
सिरियालीलाई देश छोड्न मनाउन जर्मनीले उनीहरूलाई रकम भुक्तानी गर्ने प्रस्ताव गरिरहेको छ । जनवरीदेखि जर्मनीमा रहेका सिरियाली शरणार्थी स्वैच्छिक रूपमा फर्किए प्रतिपरिवार चार हजार ६५० अमेरिकी डलर (चार हजार युरो) सम्म पाउन सक्छन् । एक सरकारी कार्यक्रममार्फत जर्मन सरकारले यस वित्तीय प्रोत्साहनलाई सहज बनाएको छ । यस्तै जर्मन नीति अन्य आप्रवासी समूहमा पनि लागू छ ।
ध्वस्त मातृभूमि
सिरियाली शरणार्थीलाई फर्काउने जर्मन योजनाको एम्नेस्टी इन्टरनेसनल र ह्युमन राइट्स वाचजस्ता मानव अधिकार संस्थाले आलोचना गरेका छन् । आलोचकका अनुसार योजनामा घोषित रकम सिरियामा आफ्नो जीवन पुन: सुरु गर्न निकै सानो रकम हो । आर्थिक प्रोत्साहनले समाजमा फिर्ती र पुन: एकीकरणलाई सघाउने भए पनि यो ‘बलियो र टिकाउ’ हुनुपर्ने ‘माइग्रेसन पोलिसी इन्स्टिच्युट’ले जोड दिएको छ ।
यसबाहेक, सिरियाभित्र रहेका दुईतिहाइ मानिस अहिले मानवीय सहायतामा बाँचिरहेका छन् । ७० लाखभन्दा बढी आन्तरिक रूपमा विस्थापित छन् । लामो गृहयुद्धका कारण सिरियाको बिजुली, पानी, सरसफाइ वा चिकित्साको अवस्था निम्छरो छ । अधिकांश मानिसका घरहरू नष्ट भएका छन् । त्यसबाहेक नयाँ सरकारको स्थापनापछि पनि सिरियाका धार्मिक अल्पसंख्यक, महिला र समलैंगिक व्यक्ति असुरक्षित रहेको मानव अधिकारवादी तर्क गर्छन् । यो कुरा जर्मन विदेशमन्त्री जोहान वाडेफुल आफैँ अक्टोबर ३० को दमास्कस भ्रमण देखेकाले होला उनले आफ्नो अडान केही नरम पारेका थिए । ‘यहाँको अवस्थामा सायदै कसैले सम्मानजनक जीवन बिताउन सक्छ,’ उनले त्यतिवेला भनेका थिए ।
१९८० को दशकमा टर्किस आप्रवासीविरुद्ध जर्मनी
जर्मनीले आप्रवासीलाई देश छाड्न पैसा दिने प्रयास गरेको यो पहिलोपटक होइन । सन् १९८० को दशकमा मर्जकै पार्टी सिडियूले टर्किस आप्रवासीविरुद्ध यस्तै नीति लागू गरेको थियो । सन् १९६० र १९७० को दशकमा लाखौँ टर्कहरू पश्चिम जर्मनीमा आएका थिए । दोस्रो विश्वयुद्धपछि जर्मनीको पुनर्निर्माणमा मद्दत गर्न सरकारले उनीहरूलाई औपचारिक रूपमै ‘अतिथि कामदार’को रूपमा भर्ती गरेको थियो । सन् १९७० को दशकको अन्त्यसम्ममा उनीहरूले आफ्ना जीवनसाथी र बच्चाहरूलाई पनि जर्मनी ल्याउन थाले । योसँगै टर्कहरू जर्मनीको सबैभन्दा ठुलो जातीय अल्पसंख्यक बने ।
यसैबिच, सन् १९८० को दशकसम्म आइपुग्दा जर्मनीमा जातिवाद र इस्लामघृणा आकासियो । उग्र दक्षिणपन्थी मात्र होइन, मध्यपन्थी दलको पनि निसानामा टर्क पर्न थाले । नवनाजीहरूले त टर्कमाथि हिंसात्मक आक्रमण गर्न थाले । त्यतिवेला सबै राजनीतिक दलले इस्लाम जर्मन समाजसँग असंगत रहेको तर्क गरेका थिए । यही दृष्टिकोण ४० वर्षपछि अहिले फेरि युरोप र अमेरिका (ट्रम्प प्रशासन)का दक्षिणपन्थी राजनीतिज्ञले प्रतिध्वनित गरिरहेका छन् ।
त्यस नश्लीय वातावरणमा सन् १९८२ देखि १९९८ सम्म मध्यमार्गी दल सिडियूका नेता हेल्मुट कोहल जर्मनीका चान्सलर थिए । त्यस अवधिमा उनले टर्की आप्रवासीको जनसंख्यालाई आधाले घटाउने लक्ष्य लिएका थिए । तर, नाजी अत्याचार र निश्चित जनसंख्यामाथिको नरसंहारको इतिहास बोकेको जर्मनीका लागि एक आप्रवासी समूहलाई जबर्जस्ती निकाल्ने विकल्प लिन गाह्रो थियो । दोस्रो विश्वयुद्धपछि पश्चिम जर्मनी मानव अधिकारप्रति प्रतिबद्ध उदार लोकतन्त्रको रूपमा आफ्नो प्रतिष्ठा पुनस्र्थापित गर्न तल्लीन थियो ।
त्यस्तोमा मर्जको अग्रदूत कोहलले टर्कलाई देश छोडे रकम भुक्तानी गर्ने प्रस्ताव गरे । सन् १९८३ मा पश्चिम जर्मनीले विवादास्पद पुनर्वास कानुन पारित गर्यो । यसले टर्कहरूलाई स्वेच्छाले देश फर्कन आर्थिक प्रोत्साहन प्रदान गरेको थियो । सन् १९८३ मा पारित कानुनअनुरूप १५ प्रतिशत आप्रवासी अर्थात् लगभग दुई लाख ५० हजार टर्क पैसा लिएर टर्की फर्किए । त्यतिवेला फर्किएकाहरूले आफ्नो देश टर्कीमा प्राय: आर्थिक र सामाजिक कठिनाइको सामना गर्नुपर्यो । उनीहरूले त्यतिवेलाको कमजोर टर्किस अर्थतन्त्रमा खडा हुन संघर्ष गर्नुपर्यो । फर्किएकामध्ये धेरै टर्कहरू, त्यसमा पनि विशेषत: बालबालिका, ‘जर्मनीकृत टर्क’ भनेर अवहेलनाको सिकार भएका थिए ।
अहिले जर्मन सरकारले ल्याएको आर्थिक योजनालाई ठुलो संख्याका सिरियाली शरणार्थीले स्विकार्ने सम्भावना छैन । सिरियामा अझै मानवीय संकट रहेको अवस्थामा उनीहरूले सन् १९८० को दशकमा टर्कहरूले भन्दा गम्भीर कठिनाइको सामना गर्नेछन् । तथ्यांकअनुसार गत वर्ष असदको शासन पतन भएदेखि फर्किने सिरियालीमा जर्मनीबाट लगभग एक हजार ३०० मात्र छन् । त्यो जर्मनीमा बसोवास गरिरहेका सिरियाली जनसंख्याको ०.१ प्रतिशत मात्र हो ।
सिरियालीहरूले स्वेच्छिक रूपमा देश नछाडे उनीहरूमध्ये केहीलाई देशनिकाला गर्न सुरु गर्ने मर्जले चेतावनी दिएका छन् । उनले हालै सिरियाली राष्ट्रपतिलाई आपराधिक रेकर्ड भएका सिरियालीलाई फिर्ता लिने विषयमा छलफल गर्न जर्मनीमा आमन्त्रित गरे । सिरियालीको ठुलो संख्या रहेको सिरियाका छिमेकी देश लेबनान, टर्की र जोर्डनले उनीहरूलाई देशनिकाला गर्न सुरु गरिसकेका छन् ।
सम्भवत: मर्जले जर्मनीभित्रको राजनीतिक गतिशीलतालाई प्रतिक्रिया दिएका हुन सक्छन् । उग्र दक्षिणपन्थीहरू वास्तवमा बढ्दै गइरहेका छन्, जसको प्रतिक्रियामा मध्यपन्थीहरू आफँै दक्षिणपन्थतर्फ सर्दै गएका छन् । यस्तोमा मर्जको पार्टीले आप्रवासनमाथि कडाइ गर्नु आश्चर्यजनक कुरा होइन । तर, विगतमा जस्तै सरकारको कठोर प्रतिक्रियाले जर्मनीको मूलधारमै जातिवाद र इस्लामघृणालाई बढावा दिने जोखिम छ । र, यसपटक सिरियाली पहिलेका टर्कजस्तै निसानामा छन् ।
कान रिचमन्ड विश्वविद्यालयमा इतिहासकी सहप्राध्यापक हुन् ।
– द कन्भर्सेसनबाट