आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला कार्यसमितिले क्षेत्रबाट सिफारिस भएर आएका नाममा ‘कैँची’ चलाएको छ । सिराहा क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा सिफारिस रामसुन्दर चौधरीको नाम हटाइएको छ । चौधरीको नाम काटेर सञ्जय यादवको नाम प्रत्यक्षमा थप गरेको छ ।
प्रत्यक्षमा केन्द्रीय सदस्य पद्मनारायण चौधरी र समानुपातिकतर्फ महिला संघ केन्द्रीय नेता उषा राउत, सूर्यनारायण यादव, श्रीचन पासमान, ४० वर्षमुनिका परमेश्वर साह र शर्मिला पोखरेल रहेका छन् ।
रामसुन्दरले जिल्ला सभापति रामचन्द्र यादवको विपक्षमा प्यानलसहित उम्मेदवारी दिएका थिए । मतगणनामा धाँधली भएको भन्दै रामसुन्दरले मतगणना बहिष्कार गरेर समानान्तर जिल्ला समिति गठन गरेका कारण नाम काटिएको कांग्रेसका एक नेताले बताएका छ्न् ।
सिराहा क्षेत्र नम्बर २ मा क्षेत्रबाट सिफारिस भएकाहरूको नाम यथावत् सिफारिस गरिएको छ । प्रत्यक्ष जिल्ला सभापति रामचन्द्र यादव, समानुपातिक केन्द्रीय सदस्य तथा अस्ट्रेलियाकी राजदूत चित्रलेखा यादव र संविधानसभाका सदस्य अमियकुमार यादव सिफारिसमा परेका छन् ।
सिराहा क्षेत्र नम्बर ३ मा प्रत्यक्षमा पूर्वकेन्द्रीय कोषाध्यक्ष सीतादेवी यादव, मधुसुदन यादव र रामबाबु यादव, समानुपातिकमा अमर रेग्मी, जिवछ गुप्ता, प्रदेश महामन्त्री उपेन्द्र यादव, कौशल मौडल र जगतारैन कामती परेका छन् । मधुसुदन, रामबाबु, उपेन्द्र, कौशलको नाम थप गरिएको जिल्ला सभापति रामचन्द्र यादवले बताए ।
सिराहा क्षेत्र नम्बर ४ मा क्षेत्रीय समितिको सिफारिसलाई अनुमोदन गरिएको छ । प्रत्यक्षमा मोहम्मद मोख्तार अहमद (हज कमिटीका अध्यक्ष), मन्जु खाण (पूर्वगृहमन्त्री बालबकृष्ण खाणकी श्रीमती), डा. गणेश मण्डल र समानुपातिकमा अरुणकुमार सिंह, रामएकवाल यादव, नागेश्वर भुडेर, रमेश न्यौपानेको नाम सिफारिस गरिएको सभापति यादवले बताए ।