भक्तपुरमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु

शुक्रबार, २६ मंसिर, २०८२
डिजिटल संस्करण

भक्तपुर नगरपालिकाको आयोजनामा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ। सहिद स्मृति खेलमैदानमा बिहीबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रतियोगिता उद्घाटन गरेका छन् । नगर प्रमुख सुनील प्रजापतिको नेतृत्वमा दत्तात्रयबाट सुरु भएको हजारौँ विद्यार्थी सम्मिलित र्याली  गोल्मढी, नासमना, भार्वाचो बसपार्क, जनज्योति पुस्तकालयपरिसर हुँदै सहिद स्मृति खेलमैदानमा पुगेपछि सभामा परिणत भएको थियो ।

उद्घाटन समारोहमा खेलाडीहरूले जिम्नास्टिक प्रस्तुत गरे भने आस्था सांस्कृतिक समूह र गणेश मावि भार्वाचोका विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले खेलकुद शिक्षासँगै चरित्र निर्माणको माध्यम भएको बताउँदै नयाँ पुस्तालाई अनुशासन, कर्तव्यबोध र स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने यसले मद्दत गर्ने विश्वास व्यक्त गरे ।

जेन–जी आन्दोलनको क्रममा गत भदौ २३ र २४ गते देशभर  विध्वंस भएको भन्दै उनले नयाँ पुस्तालाई राजनीतिक रूपमा संगठित पार्न नसक्दा समाजले ठुलो मूल्य चुकाउनुपरेको टिप्पणी गरे। सो अवसरमा विशेष अतिथि रहेका बागमती प्रदेश सभा सदस्य एवं नेमकिपाका भक्तपुर जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईंले बालबालिकाको शारीरिक, मानसिक एवं रचनात्मक विकासका लागि नगरपालिकाले नियमित रूपले प्रतियोगिता सञ्चालन गर्दै आएकोमा सन्तोष व्यक्त गरेका थिए । नगर प्रमुख सुनील प्रजापतिले विद्यार्थीलाई रुचिअनुसारको खेलमा सहभागी गराउने, प्रतिभा उजागर गर्ने र अनुशासित नागरिक तयार गर्ने उद्देश्यले नगरपालिकाले हरेक वर्ष खेलकुदलाई राष्ट्रिय अभियानजस्तै अघि सारेको स्पष्ट पारे । 

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले विद्यार्थीको अन्तरनिहित क्षमता बाहिर ल्याउने प्रतियोगिता महत्त्वपूर्ण रहेको बताए । यस वर्षको प्रतियोगितामा ८० विद्यालयका तीन हजार २९१ जना खेलाडीले प्रतिस्पर्धा गरिरहेका खेलकुद समितिका संयोजक एवं वडा नम्बर १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले जनाएका छन्। प्रतियोगितामा भलिबल, फुटबल, टेबलटेनिस, कबड्डी, खो–खो, एथलेटिक्स, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्दाे, जिम्नास्टिक, बुद्धिचाल, बाघचाल, पोर्टबल र कसिमला पाँयजस्ता १५ खेल विधामा प्रतिस्पर्धा भइरहेको खत्रीले बताए ।

१० वटै वडामा यो महिनाभरि सञ्चालन हुने यो प्रतियोगिता सर्वाधिक सहभागी, सर्वाधिक खेल संख्या तथा व्यवस्थित संयोजन र नियमितताका कारण लोकप्रिय रहेको छ।
 

सुझावित समाचार