मलेसियाली यातायात मन्त्रालयले ११ वर्ष हराएको मलेसिया एयरलाइन्सको एमएच ३७० विमानको खोजी यस महिना पुन: सुरु हुने जानकारी दिएका छन् । उड्डयन इतिहासकै सबैभन्दा ठुलो रहस्यमध्ये एक एमएच ३७० विमानको खोजी डिसेम्बर ३० बाट सुरु हुने मन्त्रालयले बतायो ।
बुधबार एक विज्ञप्ति जारी गर्दै, मलेसियन यातायात मन्त्रालयले ‘ब्रिटिस–अमेरिकी समुद्री रोबोटिक्स कम्पनी ओसन इन्फिनिटीले ३० डिसेम्बरदेखि ५५ दिनको अवधिमा समुद्री सतहको’ खोजी पुन: सुरु गर्ने बताएको छ । नयाँ खोज अभियान विमान फेला पार्ने सबैभन्दा बढी सम्भावनाको क्षेत्रमा सुरु गरिने पनि विज्ञप्तिमा भनिएको छ, तथापि सो कुन क्षेत्र हो भनेर स्थानबारे विवरण भने दिइएको छैन ।
उडान एमएच ३७०, बी ७७७–२०० विमान, ८ मार्च २०१४ मा मलेसियाको स्थानीय समयअनुसार बिहान १२:४१ बजे क्वालालम्पुरबाट बेइजिङ उडेको थियो । विमान अन्तिमपटक बिहान २:१४ बजे सैन्य राडारमा देखिएको थियो । त्यतिवेला विमान मलाक्का स्टे«टमाथिबाट पश्चिमतिर जाँदै थियो । आधा घण्टापछि, वायुसेवाले विमानसँग सम्पर्कविच्छेद भएको घोषणा गर्यो । विमान बिहान ६:३० बजे आफ्नो गन्तव्यमा अवतरण गर्नुपर्ने थियो ।
विमानमा १२ मलेसियाली चालक दल र २२७ यात्रुहरू थिए, जसमध्ये अधिकांश चिनियाँ नागरिक थिए । चिनियाबाहेक अन्य देशका यात्रुहरूमा ३८ मलेसियाली, अस्ट्रेलियाली र इन्डोनेसिया, भारत, फ्रान्स, अमेरिका, इरान, युक्रेन, क्यानडा, न्युजिल्यान्ड, नेदरल्यान्ड्स, रुस र ताइवानका नागरिक थिए ।
जहाजमा परिवारका सदस्य गुमाएका परिवारहरूले लामो समयदेखि जहाजको खोजी सुरु गर्न अभियान चलाइरहेका छन् । यस्तै, त्रासदी दोहोरिन नदिन पनि विमान हराउनुको कारण खोज्नुपर्ने आवश्यक रहेको तिनको तर्क छ । यसअघिको विमान खोजी जनवरी २०१७ मा अन्त्य भएको घोषणा गरिएको थियो ।
साढे दुई वर्षसम्म दक्षिणी हिन्द महासागरको झन्डै एक लाख २० हजार वर्गकिलोमिटर क्षेत्रमा खोजीकेन्द्रित गरिएको थियो । जहाजका केही भग्नावशेष समुद्रले बगाएर विभिन्न तटीय क्षेत्रमा भेटिए पनि यसको यकिन क्षेत्र अझै रहस्य नै छ ।