काठमाडौंले दियो पोखरालाई १६६ रनको लक्ष्य

बिहिबार, १८ मंसिर, २०८२
डिजिटल संस्करण

इंग्लिस ब्याटर बेन चार्लस्वर्थ र भीम सार्कीको अर्धशतक मद्दतमा काठमाडौं गोर्खाजले दोस्रो सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको छ । 

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६५ रन बनाएको हो । 

काठमाडौंका लागि ओपनर बेन चार्लस्वर्थले सर्वाधिक ६४ रन बनाए । २५ वर्षीय इंग्लिस खेलाडीले ५५ बलमा पाँच चौका र दुई छक्का हिर्काएका हुन् । दायाँहाते ब्याटरले एनपिएलमा पहिलो अर्धशतक बनाएका हुन् ।  सम्हालिएर खेलेका उनले ४८ बलमा अर्धशतक बनाएका थिए । यसअघि कर्णालीविरुद्ध ३४ र विराटनगरविरुद्ध ३२ रन बनाएका थिए । उनलाई विपिन खत्रीले धनञ्जय लक्षनबाट क्याच गराएका हुन् । 

भीम सार्कीले २३ बलमा ५५ रन बनाए । पाँच चौका र चार छक्का हिर्काएका भीमलाई धनञ्जय लक्षनले जायस रोयको हातबाट क्याच गराएका थिए । उनको पनि एनपिएलमा पहिलो अर्धशतक हो । यसअघि भीमले १९ बलमा चार चौका र ६ छक्कासहित ५० रन बनाएका थिए । कुनै पनि नेपाली ब्याटरले कम बलमा अर्धशतक बनाएको याे पहिलोपटक हो । समग्रमा भीम एनपिएलमा कम बलमा अर्धशतक बनाउने तेस्रो खेलाडी हुन् । यसअघि जिमी निसमले १८ बलमा अर्धशतक बनाएका थिए । त्यस्तै, सुदूरपश्चिमका हरमित सिंहले पनि १८ बलमा अर्धशतक बनाएका हुन् । 

१३.३ ओभरमा पाँच विकेट गुमाउँदा ७९ रन बनाएको काठमाडौंलाई भीम र बेन मिलेर ३२ बलमा ७६ रनको बलियो साझेदारी गरेका थिए । बेन आउट हुँदा काठमाडौंले १८.५ ओभरमा ६ विकेट गुमाएर १५५ रन बनायो । यसअघि बेन र मिलिन्दले २८ बलमा ३३ रनको साझेदारी गरेका थिए । 

मिलिन्द कुमारले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर आकाश त्रिपाठी डकआउट भए । उनलाई धनञ्जय लक्षनले बोल्ड गरेका थिए । तेस्रो नम्बर क्रिजमा आएका रसिद खानलाई पनि सात रन बनाउँदा लक्षनले सन्दीप क्षेत्रीबाट क्याच गराएका हुन् । 

कुशल भुर्तेलले पछिल्लो खेलमा चितवनविरुद्ध अर्धशतक र कर्णालीविरुद्ध ४१ रनको महत्त्वपूर्ण भूमिमा निर्वाह गरेका जोन सिम्पसनलाई दुई रन बनाउँदा आफैँ क्याच गरेका थिए । मिनी अक्सनमा १५ लाख मूल्यमा सबै टोलीको नजरमा परेका मोहम्मद आदिल आलम पनि सात रन बनाएर आउट भएपछि काठमाडौं दबाबमा आएको थियो । 

पोखराका धनञ्जयले सर्वाधिक चार विकेट लिए । उनले चार ओभरमा एक मेडनसहित मात्र १६ रन खर्चिएका हुन् । भुर्तेलले दुई तथा विपिन खत्री र किरण ढगुन्नाले समान एक विकेट लिएका थिए । चार ओभर बलिङ गरेको ऋषि धवन र आकाश चन्द विकेटविहीन भएका थिए । 

काठमाडौं आजको खेल जित्दै प्लेअफ पक्का गर्ने योजनामा छ । काठमाडौं ६ मध्ये चार खेल जितेर आठ अंकसहित दोस्रो स्थानमा छ । काठमाडौं पछिल्लो तीन खेलमा अपराजित छ । लुम्बिनीविरुद्ध २२ रन, चितवनविरुद्ध ५३ तथा कर्णालीविरुद्ध पाँच विकेटको जित निकालेको थियो । त्यसअघि काठमाडौं विराटनगरसँग पाँच तथा सुदूरपश्चिमविरुद्ध २९ रनले पराजित भएको हो । यसअघि पहिलो खेलमा काठमाडौंले साबिक विजेता जनकपुरलाई पाँच विकेटले हराउँदै सुखद सुरुवात गरेको थियो । 

पोखरा आफ्नो छैटौँ खेलमा तेस्रो जित निकाल्दै प्लेअफ सम्भावना जीवितै राख्ने योजनामा छ । उसले पछिल्लो खेलमा कर्णालीलाई ३४ रनले हराएको थियो । जनकपुरविरुद्ध पनि टोली ३५ रनले विजयी भएको हो । यसअघि टोली पहिलो खेलमा विराटनगरसँग ५३ रन, सुदूरसँग १८ रन तथा लुम्बिनीविरुद्ध ३ विकेटले पराजित भएको थियो ।

सुझावित समाचार