पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत हेटौँडा बजार क्षेत्रको सडक विस्तार कार्य सुरु भएसँगै सवारी चाप व्यवस्थापनका लागि वैकल्पिक मार्गमार्फत सवारी सञ्चालन गर्ने तयारी गरिएको छ। सडक डिभिजन कार्यालय हेटौँडाले २५/२५ गज सडक विस्तारको काम अघि बढाउँदै मुख्य बजार क्षेत्रमा निर्माणका कारण हुने अवरोध न्यूनीकरण गर्न बाइपास मार्ग प्रयोगमा ल्याउने योजना सार्वजनिक गरेको हो।
यसअन्तर्गत काठमाडौं तथा चितवनतर्फ जाने सवारीसाधनलाई हेटौँडा–१, चौकीटोल (तिरतिरे धारा) हुँदै राप्ती पुलबाट रातमाटे निकाल्ने र पूर्वतर्फबाट आउने सवारीलाई सोही रुटमार्फत डाइभर्ट गरिने भएको छ। सडक डिभिजनका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार मुख्य बजार क्षेत्रमा निर्माण कार्य भइरहँदा सवारी आवागमन अवरुद्ध नहोस् भनेर रातमाटे–त्रिवेणीधाम–राप्ती पुल मार्गलाई प्रमुख वैकल्पिक रुटका रूपमा प्रयोग गरिनेछ।
उनका अनुसार काठमाडौं वा नारायणगढबाट भएर वीरगन्जतर्फ जाने सवारीलाई पनि मुख्य बजार प्रवेश नदिई वैकल्पिक बाटोमार्फत पठाइनेछ। कान्तिलोक तथा मदन भण्डारी राजमार्गका सवारीलाई कमाने हुँदै रातोमाटे पुर्याउने योजना बनाइएको छ।
बाइपास प्रयोगअघि वैकल्पिक सडकहरूको मर्मत, खाल्डाखुल्डी पुरिने तथा ग्राभेल प्याक गरी यातायात योग्य बनाउने काम तीव्रगतिमा भइरहेको कार्यालयले जनाएको छ।
करिब एक सातादेखि १० दिनभित्र मुख्य बजार क्षेत्रको प्रारम्भिक विस्तार कार्य सक्ने लक्ष्य बनाइएको प्रमुख अधिकारीले बताए। सुरक्षा संवेदनशीलताका कारण रातिको समयमा काम नगरी दिउँसो मात्र निर्माण तथा मर्मत कार्य भइरहेको छ। निर्माणस्थल र डाइभर्सन बिन्दुमा सवारीसाधन सहज रूपमा सञ्चालन होस् भनेर ट्राफिक संकेत बोर्ड राखिने व्यवस्था गरिएको छ। अधिकारीका अनुसार काम भइरहेको क्षेत्रमा सवारी सञ्चालन गर्दा सुरक्षा जोखिम बढ्ने भएकाले निर्माण अवधिमा ती क्षेत्र पूर्ण रूपमा बन्द गरिनेछ।
घरधनी र व्यवसायी भने आन्दोलित
यता सडक विस्तारको सरकारी तयारीसँगै हेटौँडा बजार क्षेत्रका घरधनी तथा व्यवसायी आन्दोलित भएका छन्। सडक सीमाभित्र पर्ने संरचना भत्काउने सूचना जारी भएलगत्तै मंगलबार बिहानैदेखि स्थानीयले मुख्य बजार क्षेत्रमा विरोध प्रदर्शन सुरु गरेका हुन्।
प्रदर्शनकारीहरूले ‘नागरिकलाई उठिबास लगाउन पाइँदैन’, ‘विनाविकल्प डोजर आतंक बन्द गर’, ‘व्यवसायीको उचित व्यवस्थापन गर’ जस्ता नारा लगाउँदै सडक विस्तारको विरोध जनाएका छन्। उनीहरूले २५/२५ गज सडक विस्तार गर्दा सयौँ घरधनीको बसोबास प्रभावित हुने, व्यवसायी विस्थापित हुने र नागरिक सुकुमबासी बन्ने जोखिम रहेको भन्दै संविधानले सुनिश्चित गरेको सम्पत्ति अधिकारको संरक्षण गर्न माग गरेका छन्।
बजार क्षेत्रमा सडक चौडाइ १६ मिटरमै सीमित गर्नुपर्ने र वैकल्पिक बाइपास प्रयोग गर्नुपर्ने उनीहरूको मुख्य अडान छ। मुआब्जा, क्षतिपूर्ति र उचित व्यवस्थापन नगरी डोजर चलाउन नदिने चेतावनी उनीहरूले दिएका छन्।
आन्दोलनका कारण हेटौँडाको मुख्य बजार क्षेत्र मंगलबार पूर्ण रूपमा ठप्प रह्यो। बिहान केही समय खुलेका पसलहरू पनि आन्दोलनकारीहरूले सटर झार्न लगाएपछि बुद्धचोक, सीमाचोक, बैंक रोडलगायत स्थानमा व्यावसायिक गतिविधि बन्द भएका थिए।
प्रदर्शनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले बजार क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ। प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले शान्तिपूर्ण विरोध अधिकार भए पनि जबर्जस्ती पसल बन्द गराउनु गैरकानुनी भएकाले त्यस्तो गतिविधिमा संलग्नलाई कारबाही गरिने चेतावनी दिएका छन्। उनका अनुसार बजार क्षेत्रमा सादा पोसाकमा प्रहरी परिचालन गरेर आन्दोलित समूहको गतिविधि निगरानी गरिरहेको छ।
प्रजिअ अधिकारीका अनुसार व्यापारीहरू वैकल्पिक स्थानमा सर्न तयार देखिएका छन् । उनका अनुसार नारायणी मलमा २०० भन्दा बढी सटर बुक भइसकेका छन्। तर, केही घरबेटीले अनावश्यक दबाब सिर्जना गर्दै आन्दोलनलाई चर्काइरहेको प्रशासनको दाबी छ। प्रजिअ अधिकारीले आन्दोलनको नाममा अराजकता फैलाउने, अरूको अधिकार कुण्ठित गर्ने र धम्कीपूर्ण व्यवहार गर्ने कसैलाई पनि प्रशासनले उम्कन नदिने बताए।