मोटरसाइकलको ठक्करले साइकलमा सवार वृद्धको मृत्यु

सोमबार, १५ मंसिर, २०८२
डिजिटल संस्करण

सिराहा–चोहर्वा सडकखण्डअन्तर्गत विष्णुपुर गाउँपालिकाको हरिनगरामा आइतबार राति मोटरसाइकलको ठक्करले साइकलमा सवार वृद्धको मृत्यु भएको छ।

हरिनगरामा गएराति करिब पौने १० बजेतिर लक्ष्मीपुरबाट विष्णुपुरतर्फ आउँदै गरेको म.प्र. ०१–००४ प ७८४८ नम्बरको मोटरसाइकलले विपरीत दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा विष्णुपुर– ५, लक्ष्मीपुर बस्ने करिब ७० वर्षीय सत्यनारायण ठाकुर टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए। 

दुर्घटनाको सूचना पाएलगत्तै प्रहरीले तत्काल घटनास्थल पुगेर घाइतेलाई उद्धार गरी गोलबजारस्थित लाइफलङ हस्पिटलमा सामान्य उपचार गरी थप उपचारका लागि सिराहा प्रादेशिक अस्पताल भर्ना गरेको थियो। उनको राति नै उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार सामान्य घाइते भएका मोटरसाइकलचालक विष्णुपुर– १, हरिनगराका करिब २१ वर्षीय दिनेश कामतीलाई लाइफलङमै उपचार गरी जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ।

मोटरसाइकलकाे पछाडि बसेका हरिनगरा गाउँकै करिब २१ को सुमन कामती मध्यम अवस्थाको घाइते भएकाले सिराहा प्रादेशिक अस्पतालमा उपचार गरी थप उपचारका लागि परिवारले विराटनगर लिएर गएको प्रहरीले जनाएको छ। दुर्घटनाको विषयमा इलाका प्रहरी कार्यालय विष्णुपुरले थप अनुसन्धान थालेको छ।

सुझावित समाचार