विश्वको पाँचौ अग्लो मकालु हिमालको बेस क्याम्प घुम्न आएका एकजना पर्यटकको मृत्यु भएको छ।
संखुवासभाको मकालु गाउँपालिकामा पर्ने मकालु बेस क्याम्प घुम्न आएका दोलखाको मेलुङ गाउँपालिका–७ घर भएका ४३ वर्षीय अरुण कार्कीको स्वास्थ्यमा समस्या आएपछि सोमबार नै मृत्यु भएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी कुमारप्रसाद मैनालीले बताए।
मैनालीका अनुसार कार्कीको शव जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी निरीक्षक मेघराज अर्यालसहितको टोलीले आज बुधबार हेली एभरेस्टको हेलिकोप्टरद्वारा उद्धार गरी पोस्टमार्टमको लागि सोही हेलिकोप्टरद्वारा केएमसी अस्पताल दुवाकोट भक्तपुर पठाइएको छ।
कार्की एक्लै मकालु बेस क्याम्प घुम्न आएका थिए। मकालुको सेदुवादेखि एकजना स्थानीयलाई गाइड लिएर उनी बेस क्याम्प गएका थिए। मृतक कार्कीसँग गएका स्थानीय गाउँसम्म फर्किएपछि मात्रै कार्कीको मृत्युको खबर ढिलो गरी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाको भनाइ छ।
घटनाको खबर प्राप्त हुनेबित्तिकै प्रहरी परिचालन गरी उद्धार गरिएको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। कार्कीको लेक लागेर मृत्यु भएको अनुमान गरिए पनि पोस्टमार्टमपछि मात्रै यकिन हुने डिएसपी मैनालीले बताए।