‘आतंकवादविरोधी युद्ध’को आर्किटेक्ट अमेरिकी पूर्वउपराष्ट्रपति डिक चेनीको निधन

बुधबार, १९ कार्तिक, २०८२
डिजिटल संस्करण

अमेरिकी पूर्वउपराष्ट्रपति डिक चेनीको ८४ वर्षको उमेरमा निधन भएको छ । ह्वाइट हाउसका चिफ अफ स्टाफ, कंग्रेसका सदस्य, रक्षामन्त्री पदसमेत सम्हालेका चेनीलाई अमेरिकी इतिहासकै सबैभन्दा शक्तिशाली उपराष्ट्रपति मानिन्छ । विशेषत: राजनीतिमा न्यून अनुभव भएका जर्ज डब्लु बुसका उपराष्ट्रपति रहेका चेनीले उनीमाथि ठुलो प्रभाव पारेर आफूले चाहेको नीति कार्यान्वयन गर्ने गरेको चर्चा हुने गर्छ ।

चेनीको परिवारले सोमबार जारी गरेको विज्ञप्तिमा निमोनिया, मुटु र रक्तनली रोगको जटिलताका कारण उनको निधन भएको उल्लेख गरेको छ । सन् १९७८ देखि २०१० सम्म उनलाई पाँचपटक हृदयघात भएको थियो भने उनले २००१ देखि आफ्नो मुटुको धड्कनलाई नियमित गर्न मुटुमा विशेष उपकरण लगाएका थिए । तथापि, उनको स्वास्थ्य समस्याले उपराष्ट्रपतिको रूपमा उनको कार्यसम्पादनमा कुनै असर भने पारेको देखिएन । सन् २०१२ मा अवकाश लिएको तीन वर्षपछि उनले सफल मुटु प्रत्यारोपण गराएका थिए । 

११ सेप्टेम्बर २००१ मा न्युयोर्क र वासिंटनमा भएको आतंकवादी आक्रमणको समयमा चेनीले पद सम्हालेको एक वर्ष पनि पुगेको थिएन । त्यसपछि उनले राष्ट्रपति बुस र रक्षामन्त्री डोनाल्ड रम्सफेल्डसँग ‘आतंकवादविरोधी युद्ध (वार अन टेरर)’को घोषणा गरे र लगत्तै अफगानिस्तानमाथि आक्रमण गरे । 

धेरैले अमेरिकाले सन् २००३ मा इराकमाथि गरेको आक्रमणमा चेनीको मुख्य भूमिका रहेको बताउँछन् । उसो त सन् १९९० र १९९१ मा सद्दाम हुसेनविरुद्ध पिता बुस (जर्ज एच डब्लु बुस)को शासनमा अमेरिकाले सञ्चालन गरेको पहिलो खाडी युद्धको समयमा चेनी अमेरिकी रक्षामन्त्री थिए । 

दोस्रोपटक छोरा बुस (जर्ज डब्लु बुस)को शासनमा उनले पुन: इराकमाथि आक्रमण सुरु गरे । चेनी र बुसको इराकमाथि आक्रमण गर्नका लागि सद्दाम हुसेनको अल–कायदासँग सम्बन्ध रहेको र त्यसैले सेप्टेम्बर ११ को आक्रमणमा अप्रत्यक्ष संलग्न भएको बताएका थिए । 

यिनै कारणसहित मार्च २००३ सम्ममा अमेरिकाले आफ्ना केही पश्चिमी गठबन्धन सेनाहरूको नेतृत्वमा इराकमाथि आक्रमण गर्यो । आक्रमणपछि सद्दाम हुसेनको शासनमाथि लगाइएका दुवै आरोपको कुनै प्रमाण फेला परेन । अर्थात्, झुटो आरोपमा इराकमाथि आक्रमण गरेको देखियो । त्यसपछि पनि चेनीले इराकमाथिको आक्रमणलाई ‘अमेरिकाको रक्षाका लागि उठाउनैपर्ने कदम’को रूपमा व्याख्या गरे । 

इराक युद्ध पछिल्लो समय भएको युद्धमध्ये निकै धेरैको मृत्यु भएको युद्ध मानिन्छ । ब्राउन विश्वविद्यालयको ‘वाट्सन स्कुल अफ इन्टरनेसनल एन्ड पब्लिक अफेयर्स’का अनुसार बुस–चेनी प्रशासनले सन् २००१ देखि अफगानिस्तान, इराक, सिरिया, यमनमाथि गरेको आक्रमणमा कम्तीमा आठ लाख मारिए ।

सुझावित समाचार