सल्यानमा नेपाल प्रिमियर लिग (एनपिएल) ट्रफी टुर कार्यक्रम आयोजना गरिएको छ। एनपिएलको दोस्रो संस्करण हुनुपूर्व गरिएको ट्रफी टुर कार्यक्रम सदरमुकाम खलंगा र पर्यटकीय स्थल कुपिण्डेतालमा कर्णाली याक्सको टिम ट्रफीसहित आइपुगेको हो ।
सदरमुकाम खलंगामा शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारी, प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा, नेपाल क्रिकेट संघ सल्यानका अध्यक्ष सविन हमाल, छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकी, उपाध्यक्ष बुद्धा केसीलगायतले संयुक्त रूपमा ट्रफीको स्वागत गरेका छन्।
ट्रफी टुर क्रिकेट विकासमा महत्त्वपूर्ण कडी भएको नेपाल क्रिकेट संघ सल्यानका अध्यक्ष सविन हमालले बताए। एनपिएलको दोस्रो संस्करण सुरु हुनुपूर्व आयोजना गरिएको ट्रफी टुरले प्रतियोगिताप्रति नागरिकमा झनै चासो र कौतूहलता बढाएको उनको भनाइ छ । स–साना बालबालिकालाई क्रिकेटमा लाग्न प्रेरणा दिने बताउँदै उनले यसले नेपाली क्रिकेटलाई फाइदा पुग्ने हमालको भनाइ छ ।
एनपिएलको दोस्रो सिजन १७ नोभेम्बरदेखि १३ डिसेम्बरसम्म कीर्तिपुरस्थित टियू मैदानमा हुनेछ । योपटक केही खेलहरू फ्लर्ड लाइटमा खेलाउने तयारी छ । यो पटक दर्शकहरूले खेलको मजा प्यारापिटबाट लिन सक्नेछन् ।