दोस्रो नेपाल प्रिमियर लिग : कर्णाली याक्सको सहप्रायोजक बन्यो एसियन पेन्ट्स

बुधबार, १२ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली कर्णाली याक्सले दोस्रो संस्करणका लागि एसियन पेन्ट्ससँग सहप्रायोजकको सम्झौता गरेको छ । कर्णालीका निर्देशक गृहेन्द्र घिमिरे र एसियन पेन्ट्स मार्केटिङ सहायक प्रबन्धक आस्था सत्यालले मंगलबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कर्णालीका निर्देशक घिमिरेले एसियन पेन्ट्ससँग जोडिन पाउँदा खुसी लागेको बताए । ‘एसियन पेन्ट्सलाई जोड्न पाउँद खुसी छौँ । दोस्रो एनपिएलको सिजनका लागि हामी तयार छौँ,’ घिमिरेले भने । गत साता कर्णालीले नेबिको प्रालिसँग पनि सम्झौता गरेको थियो । 

गत सिजनमा प्लेअफसम्म पुगेको कर्णालीले योपटकका लागि तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । कर्णालीले विदेशी खेलाडीका रूपमा विलियम बोसिस्टो, मार्क वाट र याक्स ओ’ डाउडलाई अनुबन्ध गरेको हो । वाट र डाउडले पहिलोपटक एनपिएल खेल्दै छन् । टोलीको मुख्य प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् । मार्की सोमपाल कामीसहित गुल्सनकुमार झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, अर्जुन घर्ती, दीपेन्द्र रावत र युनिषविक्रम ठकुरी रिटेन भएका छन् ।  

जनकपुरमा अफ्रिकन अलराउन्डर
एनपिएलको साबिक विजेता जनकपुरले दोस्रो सिजनका लागि दक्षिण अफ्रिकी अलराउन्डर वायने पार्नललाई भित्र्याएको छ । जनकपुरले मंगलबार सोसल मिडियाबाट अफ्रिकन खेलाडीलाई अनुबन्ध गरेको जनाएको हो । बायाँ बलर तथा ब्याट्सम्यान पार्नलले दक्षिण अफ्रिकाका लागि ६ टेस्ट, ७३ एकदिवसीय तथा ५६ टी–२० आई खेलेका छन् । उनले टेस्टमा १५, एकदिवसीयमा ९९ तथा टी–२० आईमा ५९ विकेट हात पारेका छन् । टी–२० आई फर्म्याटमा उनले एकपटक पाँच विकेटको प्रदर्शन गरेका थिए । उनले दक्षिण अफ्रिकाबाट टेस्टमा सन् २०१० देखि ०१७ सम्म खेले । 

उनको पहिलो टेस्ट डेब्यु इंग्ल्यान्डविरुद्ध र अन्तिम खेल बंगलादेशसँग रह्यो । यसैगरी, सन् २००९ मा एकदिवसीय खेलमा अस्ट्रेलियाविरुद्ध डेब्यु गरेका पार्नलले सन् २०२३ मा वेस्ट इन्डिजविरुद्ध अन्तिम खेल खेलेका थिए । सन् २००९ मै उनले टी–२० आईमा डेब्यू गरेका थिए ।

See More On

सुझावित समाचार