कमजोर ब्याटिङका कारण नेपाल आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा अमेरिकासँग १०६ रनले पराजित भएको छ । युएईको मैदानमा दुबईमा आइतबार टस हारेर ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै २६२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा नेपालले ३९.१ ओभरमा सबै विकेट गुमाउँदै १५५ रन जोड्यो ।
अमेरिकाको ब्याटिङ इनिङ्समा दुई खेलाडीले अर्धशतकीय योगदान दिए । नेपालको ब्याटिङ धराशयी बनाउन स्पिनर हर्मित सिंहले कसिलो बलिङ गरेका थिए । खेलकै म्यान अफ दी म्याच हर्मितले २७ रन खर्चेर नेपालका ६ खेलाडीलाई आउट पारे । हर्मितकै धारिलो बलिङका कारण नेपालको ब्याटिङ कमजोर बनेको हो । गत साता मात्र ओमानमा आइसिसी विश्वकपअन्तर्गत एसियन छनोटको विजेता बनेर हौसिएको नेपाली टोलीले डिभिजन २ मा त्यही लयमा खेल्न सकेन ।
रोहितकुमार पौडेलको नेतृत्वमा रहेको नेपालले अमेरिकाविरुद्ध तीनवटै क्षेत्रमा कमजोर प्रदर्शन गर्यो । कप्तान रोहितले पनि ब्याटिङ पिचमा गतिलो प्रदर्शन नभएको स्विकारेका छन् । ‘हामीले सोचेजस्तो ब्याटिङ गर्न सकेनौँ । सबै खेलाडीले लक्ष्यसम्म पुग्ने प्रयास गरेका थिए, तर लगातार विकेट पतनपछि दबाब भयो,’ पौडेलले भने ।
शृंखलामा नेपाल र अमेरिकासहित आयोजक युएई पनि सहभागी छन् । आठ टोली सहभागी डिभिजन २ मा नेपाल १७ खेलमा १२ अंकसहित सातौँ स्थानमा छ । जितसँगै अमेरिका शीर्ष स्थानमा उक्लेको छ । अमेरिकाले २१ खेलबाट ३० अंक जोड्यो । अमेरिकाको तुलनामा बढी खेल खेलेको स्कटल्यान्डले पनि समान ३० अंक बनाएको छ । तर, रनरेटमा स्कटल्यान्ड पछि रहँदा दोस्रो स्थानमा झरेको छ । यस शृंखलाको आयोजक युएई ६ अंकका साथ पुछारमा छ ।
नेपालका लागि अमेरिकाविरुद्धको खेल प्रशिक्षक स्टुआर्ट लका लागि पहिलो एकदिवसीय थियो । उनले आफ्नो पहिलो खेल नै गुमाए । यद्यपि, टी–२० आईमा भने उनी ऐतिहासिक सफलता दिलाउन सफल रहे । उनकै प्रशिक्षणमा नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्धको टी–२० आई सिरिज २–१ जितेको थियो । त्यस्तै, नेपालले लगातार दोस्रोपटक टी–२० विश्वकपमा स्थान बनाएको छ । एकदिवसीय मान्यता कायमै राख्न र शीर्ष तीन स्थानमा रहँदै एकदिवसीय विश्वकप ग्लोबल छनोटमा स्थान बनाउन नेपालमाथि बाँकी तीन खेल जित्नुपर्ने दबाब बढेको छ । चार महिनाअघि स्कटल्यान्डमा नेपालले नेदरल्यान्ड्स सम्मिलिन शृंखलामा चारमध्ये तीन खेल जितेको थियो । नेपालले शृंखलाको दोस्रो खेल बिहीबार घरेलु टोली युएईसँग खेल्नेछ ।
बनेन ठुलो स्कोर
अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपालका कुनै पनि खेलाडीले ठुलो साझेदारी गर्न सकेनन् । स्पिनर हर्मित इनिङ्सको १५औँ ओभरमा बलिङ गर्न आएका थिए । यसअघिसम्म नेपालका ब्याट्सम्यानले सिमर बलरविरुद्ध डटेर खेलिरहेका थिए । तर, हर्मितको स्पेलका अगाडि नेपाली खेलाडीले घुँडा टेके । उनले आफ्नो दोस्रो बलमै आसिफ शेखको विकेट लिए । हर्मितले गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने तथा उपकप्तान दीपेन्द्रसिंह ऐरीको विकेट लिँदै अमेरिकालाई सानदार जित दिलाए ।
ब्याटिङमा कमजोर भयौँ
रोहित पौडेल, कप्तान, नेपाल
अमेरिकाविरुद्ध आशा गरेअनुसार ब्याटिङ गर्न सकेनौँ । इनिङ्सको एक समय ब्याटिङमा राम्रो गरिरहेका थियौँ । तर, लगातार विकेट गुमेपछि दबाबको सामना गर्न सकेनौँ । यस पिचमा अमेरिकी खेलाडीले राम्रो ब्याटिङ गरे । अझै पनि नेपालको विश्वकप लिग २ मा शीर्ष तीनको आशा यथावत् छ । यसका लागि कडा मिहिनेत गर्छौँ । युएईमा बाँकी खेल जित्ने प्रयास गर्छौँ ।