विश्व राजनीतिमा सेनाको प्रभाव

आइतबार, ८ भदौ, २०८२
डिजिटल संस्करण
  • विभिन्न अन्तर्राष्ट्रिय द्वन्द्वका कारण जटिल भूराजनीतिक परिदृश्यमा सैन्य कूटनीतिले राजनीतिक कूटनीतिभन्दा महत्वपूर्ण भूमिका खेल्न थालेको छ

हालैका दिनमा विश्व राजनीति अनपेक्षित घटनाक्रमले तीव्रता पाइरहेका छन् । विशेषगरी विश्व शक्तिहरूको ध्रुुवीकरण र विभिन्न क्षेत्रीय द्वन्द्वका कारण अन्तर्राष्ट्रिय सम्बन्धहरू नयाँ मोडमा पुगेका छन् । यस जटिल भूराजनीतिक परिदृश्यमा सैन्य कूटनीतिले राजनीतिक कूटनीतिभन्दा पनि बढी महत्वपूर्ण भूमिका खेल्न थालेको छ । राष्ट्रबिचको विश्वासको कमी, परम्परागत गठबन्धनको पुनर्मूल्यांकन र नयाँ चुनौती सामना गर्न सैन्य नेतृत्वले प्रत्यक्ष संवाद र समन्वयको माध्यमबाट शान्ति र स्थायित्व कायम राख्ने प्रयास गरिरहेका छन् । यही सन्दर्भमा, पाकिस्तानका सेना प्रमुखको हालैको उच्चस्तरीय भ्रमणलाई गहिरो रूपमा विश्लेषण गर्नु सान्दर्भिक देखिन्छ । यस भ्रमणले केवल पाकिस्तानको आन्तरिक र बाह्य नीतिका आयामलाई मात्र नभई, समग्र विश्वव्यापी सुरक्षा ढाँचा र शक्ति सन्तुलनमा पार्ने सम्भावित प्रभावलाई पनि उजागर गर्छ ।

पाकिस्तानको रणनीतिक अवस्थिति र वैश्विक प्रभाव : दक्षिण एसिया सधैँ विश्वको सबैभन्दा संवेदनशील भूभागमध्ये एक हो, जहाँ ऐतिहासिक शत्रुता, सीमा विवाद र आणविक हतियारको उपस्थितिले स्थितिलाई निकै जटिल बनाएको छ । यस क्षेत्रका राष्ट्रहरू विशेषगरी भारत र पाकिस्तानबिचको सम्बन्धमा दशकौँदेखि तनाव र अविश्वासले जरा गाडेको छ । कस्मिर विवाद, आतंकवाद र जलस्रोत बाँडफाँडजस्ता मुद्दाले दुई आणविक शक्ति राष्ट्रलाई बारम्बार सैन्य मुठभेडको सँघारमा पुर्याएको छ । हालैका दिनमा यस क्षेत्रको भूराजनीतिमा तीव्रतासाथ परिवर्तन देखा परेका छन् । भारत र पाकिस्तानबिचको बढ्दो तनाव, विशेषगरी पछिल्लो सैन्य झडपले यस क्षेत्रको संवेदनशीलतालाई थप उजागर गरेको छ । यो झडपले दुई आणविक शक्ति राष्ट्रबिचको द्वन्द्वको सम्भावित विध्वंसक परिणामबारे अन्तर्राष्ट्रिय समुदायलाई पुन: सचेत गराएको छ, जसले विश्वव्यापी शान्ति र सुरक्षामा गम्भीर चुनौती खडा गरेको छ ।

यस्तो पृष्ठभूमिमा पाकिस्तानका सैन्य प्रमुख असिम मुनिरको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भएको भेटघाट र त्यसपछि उनको चीन भ्रमणले विश्वभरका कूटनीतिक र सैन्य विश्लेषकको ध्यान तानेको छ । यो भ्रमण सामान्य भेटघाट मात्र नभई बढ्दो विश्वव्यापी भूराजनीतिक तनाव, विशेषगरी अमेरिका–चीन प्रतिस्पर्धा र दक्षिण एसियाली शक्ति सन्तुलनमा पाकिस्तानको महत्वपूर्ण भूमिकाको संकेत हो । पाकिस्तान आफ्नो रणनीतिक अवस्थितिका कारण सधैँ ठुला शक्ति राष्ट्रको चासोको केन्द्रबिन्दु रहँदै आएको छ र यसको आन्तरिक तथा बाह्य नीतिगत निर्णयले क्षेत्रीय मात्र नभई विश्वव्यापी सुरक्षामा समेत प्रत्यक्ष प्रभाव पार्छन् । पाकिस्तानको भूभाग अफगानिस्तानको स्थायित्व, मध्यपूर्वको सुरक्षा र चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) का लागि समेत महत्वपूर्ण मानिन्छ, जसले गर्दा यसको भूमिका अझै अपरिहार्य बन्दै गएको छ ।

फ्रान्सको ‘पाँचौँ गणतन्त्र’ : फ्रान्सको इतिहासमा चौथो गणतन्त्रको अवधि राजनीतिक अस्थिरता र कमजोर सरकारका लागि कुख्यात थियो । लगातार सरकार परिवर्तन हुनु र महत्वपूर्ण नीतिगत निर्णयमा ढिलाइ हुनुले फ्रान्सको अन्तर्राष्ट्रिय प्रतिष्ठा र राष्ट्रिय एकतामा गम्भीर चुनौती खडा गर्यो । यसैवेला, अल्जेरियाको संकटले फ्रान्सलाई गृहयुद्धको मुखमा पुर्यायो । यस जटिल परिस्थितिमा एक सेवानिवृत्त जनरल, चाल्र्स डी गौलले निर्णायक भूमिका खेले । उनको नेतृत्व सैनिक अनुशासन र राष्ट्रप्रतिको गहिरो प्रेममा आधारित थियो । उनले चौथो गणतन्त्रको अव्यवस्था अन्त्य गर्दै सन् १९५८ मा पाँचौँ गणतन्त्र स्थापना गरेर देशलाई एकताबद्ध गरे । डी गौलले कार्यकारी प्रमुखलाई बलियो बनाउने गरी संविधानमा सुधार गरे, जसले राजनीतिक स्थायित्व प्रदान गर्यो । उनको नेतृत्वमा फ्रान्सले आफ्नो राष्ट्रिय स्वार्थलाई सर्वोपरि राख्दै अन्तर्राष्ट्रिय मामिलामा स्वतन्त्र नीति अवलम्बन गर्यो । एक दूरदर्शी र अनुशासित नेतृत्वले कसरी राष्ट्रलाई संकटबाट बाहिर निकाल्न सक्छ भन्ने उनले देखाइदिए । 

नेपालको सन्दर्भमा, यो उदाहरण महत्वपूर्ण छ । हाम्रो देशमा पनि राजनीतिक अस्थिरता, कमजोर सरकार र दीर्घकालीन सोचको अभावले राष्ट्रिय हितमा नकारात्मक प्रभाव परिरहेको छ । डी गौलको नेतृत्वले यो देखाउँछ कि जब राजनीतिमा अनुशासन र राष्ट्रिय हितलाई प्राथमिकता दिने नेतृत्वको अभाव हुन्छ, तब अनुभवी सैन्य अधिकारीले आफ्नो ज्ञानलाई राष्ट्रहितमा प्रयोग गर्न सक्छन्, तर संवैधानिक र प्रजातान्त्रिक मर्यादाभित्र रहेर । उनीहरूको देशभक्ति र राज्यप्रतिको मायाले देशलाई नयाँ दिशा दिन सक्छ ।

प्रजातन्त्रमा सैन्य नेतृत्वको भूमिका : अमेरिकामा हालसम्म धेरै सेवानिवृत्त सैन्य अधिकारीले राष्ट्र निर्माण र प्रजातान्त्रिक संस्थाको सुदृढीकरणमा महत्वपूर्ण योगदान दिएका छन् । जर्ज वासिंटनजस्ता सैन्य नेताले स्वतन्त्रता संग्रामको नेतृत्व गरेपछि दुई कार्यकालका लागि निर्वाचित राष्ट्रपति बनेर प्रजातान्त्रिक मूल्य–मान्यता स्थापित गरे । उनको नेतृत्व र अनुशासनले नयाँ राष्ट्रलाई स्थायित्व प्रदान गर्यो । त्यसैगरी, दोस्रो विश्वयुद्धका नायक ड्वाइट डी आइजनहावरले पनि राष्ट्रपति बनेर अमेरिकी प्रजातन्त्रलाई सुदृढ बनाए । उनको प्रशासनिक क्षमता र दूरदर्शिताले अमेरिकी अर्थतन्त्रलाई दिशा दियो । बंगलादेशमा राजनीतिक उथलपुथलको समयमा पनि सेनाले संयम अपनायो र संवैधानिक प्रक्रियाको सम्मान गर्यो । त्यहाँको सैन्य नेतृत्वले आफूलाई ‘राष्ट्रको रक्षक’को रूपमा प्रस्तुत गर्दै राजनीतिक प्रक्रियामा प्रत्यक्ष हस्तक्षेप नगरी प्रजातन्त्रलाई बलियो बनाउन सहयोग गर्यो । यी उदाहरणले सैनिक नेतृत्वमा रहेको नैतिक अनुशासन र देशप्रतिको कर्तव्यबोधको महत्वलाई दर्साउँछ । यसैगरी, राजनीतिक अस्थिरताको समयमा पनि नेपाली सेनाले संयम अपनाएको छ, जुन प्रजातान्त्रिक स्थायित्वका लागि अपरिहार्य छ । प्रजातन्त्रलाई बलियो बनाउन र राजनीतिक अस्थिरतालाई व्यवस्थापन गर्न सेनाको भूमिका संवैधानिक र मर्यादित हुनुपर्छ । उनीहरूले राजनीतिक नेतृत्वलाई प्रजातन्त्र कमजोर बनाउने कार्यले अन्तत: राष्ट्रिय सुरक्षालाई नै कमजोर बनाउँछ र देशप्रतिको सच्चा माया भनेको संविधान र नागरिक अधिकार सम्मान हो भन्ने बुझाउन सक्छन् ।

प्रजातन्त्र सुदृढीकरणमा सैनिकको भूमिका : विभिन्न देशमा सैनिक अधिकारीले प्रजातन्त्र स्थापना, संरक्षण र सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेलेका छन् । कतिपय अवस्थामा उनीहरूले संकटको समयमा नेतृत्वको जिम्मेवारी सम्हालेर प्रजातन्त्रलाई जोगाएका छन् । उदाहरणका लागि, टर्कीमा मुस्तफा कमाल अतातुर्कले राष्ट्रको नेतृत्व गरेर आधुनिक, धर्मनिरपेक्ष गणतन्त्रको जग बसाले, जसले राष्ट्रलाई नयाँ पहिचान दियो । अर्जेन्टिनामा जुआन पेरोन र पोर्चुगलमा आन्तोनिओ रामाल्हो एयानेसजस्ता अधिकारीले पनि राजनीतिक प्रक्रियामा प्रवेश गरेर देशको दिशा निर्धारण गरे ।

तर, कतिपय देशमा सैनिक अधिकारीको भूमिका विवादास्पद पनि देखिएको छ । दक्षिण कोरियामा पार्क चुङ–हीले सैन्य कुबाट सत्ता लिएर आर्थिक विकासको नेतृत्व गरे पनि उनको शासन प्रजातान्त्रिक थिएन । त्यसैगरी, चिलीमा अगस्टो पिनोचे र पाकिस्तानमा मुहम्मद जिया–उल–हकले सैन्य शासन लादेर प्रजातन्त्रलाई कमजोर बनाए । यी उदाहरणले यो स्पष्ट पार्छन् कि सैन्य नेतृत्वले राष्ट्रको भविष्यमा कस्तो प्रभाव पार्छ भन्ने उनीहरूको नियत र दूरदर्शितामा निर्भर गर्छ । यस सन्दर्भमा बंगलादेशको जस्तो संयमित र संवैधानिक भूमिका प्रजातन्त्रका लागि सबैभन्दा उपयुक्त मानिन्छ । 

कूटनीतिदेखि रणनीतिसम्म सेना प्रमुख : आधुनिक विश्वमा सैन्य प्रमुखको भूमिका परम्परागत सैनिक कमान्डरको जस्तो छैन । उनीहरू अब कूटनीतिज्ञ, रणनीतिकार र राष्ट्रिय हितका संवाहकका रूपमा पनि अगाडि आएका छन् । विशेषगरी, आणविक शक्ति सम्पन्न राष्ट्रका सैन्य प्रमुखले विश्वव्यापी सुरक्षा र स्थायित्वमा प्रत्यक्ष प्रभाव पार्छन् । असिम मुनिरको वासिंटन र बेइजिङ भ्रमणले सैन्य कूटनीतिको बढ्दो महत्वलाई स्पष्ट पार्छ । यस्ता भेटघाटमा द्विपक्षीय रक्षा सहयोग, गुप्तचर आदानप्रदान, आतंकवाद नियन्त्रण र क्षेत्रीय सुरक्षा चुनौतीबारे छलफल हुन्छ । यसले राष्ट्रबिचको विश्वास निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ र तनाव कम गर्न मद्दत गर्छ । राष्ट्रपति ट्रम्पसँगको भेटमा मुनिरले भारत–पाकिस्तान तनाव व्यवस्थापनमा खेलेको भूमिकाको प्रशंसा गर्नुले उनको व्यक्तिगत र संस्थागत प्रभावको पुष्टि गर्छ । ट्रम्प प्रशासनका लागि पाकिस्तानको स्थायित्व र क्षेत्रीय शान्तिमा उसको भूमिका महत्वपूर्ण छ ।

विश्वका प्रमुख शक्ति राष्ट्रले सैन्य प्रमुखसँगको सोझो संवादलाई महत्व दिन्छन्, किनकि उनीहरूले देशको सुरक्षा नीतिमा प्रत्यक्ष प्रभाव पार्छन् र राजनीतिक नेतृत्वभन्दा फरक, दीर्घकालीन र प्राविधिक दृष्टिकोण प्रस्तुत गर्न सक्छन् । यसले संकटको समयमा प्रत्यक्ष सञ्चार र समन्वय स्थापित गर्न मद्दत पुर्याउँछ, जसले द्वन्द्वको जोखिम कम गर्छ । 

बढ्दो भूराजनीतिक तनाव र सेना : वर्तमान विश्वव्यापी भूराजनीतिक परिदृश्य जटिल र तनावपूर्ण छ । अमेरिका र चीनबिचको बढ्दो प्रतिस्पर्धा, युक्रेन युद्ध, मध्यपूर्वमा इजरायल–इरान द्वन्द्वको बढोत्तरी र दक्षिण चीन सागरमा तनावले विश्वलाई बहुध्रुवीय द्वन्द्वको जोखिममा धकेलेको छ । यस्तो अवस्थामा सैन्य शक्ति र यसको कूटनीतिक प्रयोग अझ महत्वपूर्ण भएको छ । सैन्य नेताहरूले बढ्दो भूराजनीतिक तनावलाई व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका खेल्छन् । उनीहरू नीति निर्मातालाई वास्तविक समयको सुरक्षा विश्लेषण र रणनीतिक विकल्प प्रदान गर्छन् । उनीहरू अन्तर्राष्ट्रिय सैन्य गठबन्धन र साझेदारीलाई सुदृढ पार्न, संयुक्त अभ्यास सञ्चालन गर्न र गुप्तचर सूचना आदानप्रदान गर्नमा प्रत्यक्ष संलग्न हुन्छन् ।

भारत–पाकिस्तान द्वन्द्व र मध्यपूर्वको बढ्दो तनावका सन्दर्भमा सैन्य प्रमुखको भूमिका महत्वपूर्ण देखिन्छ । उनीहरूले मात्र सुरक्षा चुनौतीलाई सबैभन्दा राम्रोसँग बुझ्छन् र सम्भावित समाधानका उपाय प्रस्तुत गर्न सक्छन् । ट्रम्पसँगको भेटमा इरान–इजरायल तनावबारे छलफल हुनुले पाकिस्तानको सैन्य नेतृत्वले क्षेत्रीय मात्र नभई, विश्वव्यापी सुरक्षा मुद्दामा पनि आफ्नो दृष्टिकोण राख्न सक्षम रहेको देखाउँछ । चीन भ्रमणका क्रममा चिनियाँ नेतृत्वले पाकिस्तानी सेनालाई ‘राष्ट्रिय हितको दृढ रक्षक’ र ‘चीन–पाकिस्तान मित्रताको दृढ समर्थक’का रूपमा प्रशंसा गर्नुले बेइजिङका लागि पाकिस्तानी सेनाको महत्व दर्साउँछ । भ्रमणले पाकिस्तानले आफूलाई विश्वव्यापी भूराजनीतिमा एउटा पुलका रूपमा प्रस्तुत गर्न खोजेको पनि देखाउँछ । शीतयुद्धको समयमा अमेरिका र चीनबिचको सम्बन्ध स्थापनामा पाकिस्तानले महत्वपूर्ण भूमिका खेलेको थियो । वर्तमान परिस्थितिमा पनि पाकिस्तानले त्यस्तै भूमिका खेल्न सक्ने सम्भावना छ ।

निष्कर्ष : नेपालले आज सामना गरिरहेको राजनीतिक अस्थिरता, भूराजनीतिक दबाब र सुशासनको चुनौतीलाई सामान्य राजनीतिक सोचबाट मात्रै समाधान गर्न सम्भव छैन । यसका लागि नागरिक समाज, राजनीतिक दल र विशेषगरी अनुभवी सेवानिवृत्त सैनिक अधिकारीको संयुक्त प्रयास आवश्यक छ । फ्रान्सका चाल्र्स डी गौलको उदाहरणबाट पाठ सिक्दै, बंगलादेशले देखाएको संयम र म्यानमारको गल्तीबाट शिक्षा लिँदै, हामीले प्रजातन्त्रलाई बलियो बनाउन र राष्ट्रिय सुरक्षालाई मजबुत बनाउनुपर्छ । हाल नेपाली सेनाले छिमेकी राष्ट्र भारत र चीनसँगै अमेरिकालगायतका देशसँग गर्ने गरेको सैन्य अभ्यासलले सैन्य कूटनीतिको झल्को दिन्छ । अझै अन्य छिमेकी देशसँग यस्ता सैन्य कूटनीति बढाउनु जरुरी देखिन्छ ।

सेवानिवृत्त सैनिक नेतृत्वले राष्ट्रिय सुरक्षा, अनुशासन र सुशासनको महत्व उजागर गर्दै राजनीतिक नेतृत्वलाई जिम्मेवार बनाउन सक्छन् । उनीहरूको ज्ञान, अनुभव, नेतृत्व, स्रोत व्यवस्थापन र दूरदर्शिताले नेपाललाई भूराजनीतिको चेपुवाबाट सुरक्षित राख्न र एक समृद्ध, स्थिर र बलियो राष्ट्रका रूपमा अगाडि बढ्न मद्दत पुग्छ । यसरी, सेवानिवृत्त वरिष्ठ अधिकारीको भूमिका प्रजातन्त्रलाई बलियो बनाउन र राष्ट्रको भविष्यलाई उज्ज्वल बनाउन महत्वपूर्ण हुनेछ । त्यसका लागि सेवानिवृत्त सैनिक अधिकारीमा पनि तत्परता देखिनुपर्छ । उनीहरू राजनीतिक दलभन्दा माथि उठेर राष्ट्रिय हितको पक्षमा वकालत गर्ने एक स्वतन्त्र र विश्वसनीय आवाज बन्न सकेमा त्यसले नेपाली राजनीतिमा सकारात्मक परिवर्तन ल्याउनेछ ।

(कार्की नेपाली सेनाका अवकाशप्राप्त उपरथी हुन्) पूर्वकार्यकारी महानिर्देशक, राष्ट्रिय सेवा दल हाल : संरक्षक, पूर्व सुरक्षाकर्मी परिषद् नेपाल
 

सुझावित समाचार