उपत्यकाव्यापी खुला मेयर कप : कीर्तिपुर नगरपालिकालाई ३–० ले पराजित गर्दै काठमाडौं महानगरपालिका फाइनलमा

आउदो शुक्रबार फाइनल खेल हुने तालिका

बुधबार, ३१ बैशाख, २०८२
डिजिटल संस्करण

कीर्तिपुर नगरपालिकालाई ३–० ले पराजित गर्दै काठमाडौं महानगरपालिकाको फुटबल टिम ‘उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल’को फाइनलमा प्रवेश गरेको छ । गोदावरी नगरपालिकाको चापागाउँ, ताहाखेल खेलमैदानमा हिजो  भएको खेलमा महानगरपालिकाका लागि राजकुमार पौडेलले पहिलो गोल र त्यसपछि मनीष सेढाईंले लगातार दुई गोल गरेका थिए । महानगरपालिका ‘समूह बी’बाट र कीर्तिपुर ‘समूह डी’बाट सेमिफाइनल खेलमा पुगेका थिए ।  

सेमिफाइनलको अर्को खेल आज ‘समूह ए’ र ‘समूह सी’का विजेताहरू आयोजक गोदावरी नगरपालिका र काठमाडौंको दक्षिणकाली नगरपालिकाबिच हुनेछ । 
भोलि आयोजक गोदावरी र काठमाडौंको दक्षिणकाली नगरपालिकाबिचकाे खेल सेमिफाइनल खेल हुँदै छ । यस खेलका विजेता टिम र काठमाडौं महानगरपालिकाको टिमबिच आउँदो शुक्रबार फाइनल खेल हुने तालिका छ ।

 गोदावरी उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल २०८२ खेलअन्तर्गत महानगरपालिकाको पहिलो खेल चाँगुनारायण नगरपालिकासँग भएको थियो । यस खेलमा चाँगुनारायणलाई महानगरपालिकाले  ५–० गोलले पराजित गरेको थियो । यस खेलमा राजकुमार पौडेल, विराज महर्जन, अखिलेश कार्की, सरोज तामाङ र मनीष सेढाईंले महानगरपालिकाका लागि एक–एक गोल दिलाएका थिए। ‘समूह बी’मा रहेको महानगरपालिकाले दोस्रो खेल मध्यपुर थिमीसँग खेलेको थियो । यस खेलमा सरोज तामाङले एक गोल गरेका थिए । 

महानगरपालिकाबाट प्रशिक्षक सन्तोष न्यौपाने र पूर्वराष्ट्रिय खेलाडी विराज महर्जनको कप्तानीमा खेलाडीहरू  प्रतिस्पर्धामा उत्रिएका छन् । खेलाडीहरूको व्यवस्थापन खेलकुदविज्ञ नवीन चित्रकारले गरेका छन् । प्रतियोगितामा काठमाडौं जिल्लाबाट काठमाडौं महानगरपालिका, चन्द्रागिरी नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका गरी ६ वटा स्थानीय तह प्रतिस्पर्धामा छन्। यस्तै, ललितपुर जिल्लाबाट ललितपुर महानगरपालिका, आयोजक गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका र बागमती गाउँपालिकासहित पाँचवटा स्थानीय तह छन् । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका, मध्यपुर थिमी नगरपालिकाले भाग लिएका छन् ।

प्रतियोगिताको विजेता टिमलाई नगद पाँच लाख रुपैयाँसहित ट्रफी, उपविजेता टिमलाई नगद तीन लाख रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ । 
 

सुझावित समाचार