सहकारी बचतकर्तासँग सम्बन्धित विभिन्न नौवटा संघ–संस्थाले बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गर्नुपर्ने माग गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ), लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, सत्य र न्यायको खोजी अभियानलगायत संघ–संस्थाले काठमाडौंमा संयुक्त रूपमा पत्रकार सम्मेलन गरी बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गरी रकम अपचलन गर्ने सञ्चालकलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने माग गरेका हुन् ।
महासंघका अध्यक्ष कुशलभ केसीले वर्षौँसम्म वित्तीय शोषण गर्ने सहकारी संस्थालाई कारबाही गर्दै पीडित सर्वसाधारणलाई न्याय दिने विषयमा सरकारले ढिला गर्न नहुने धारणा राखे । लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले पीडित न्यायका लागि निरन्तर संघर्षमा रहँदा पनि सरकारले न्याय दिन ढिलाइ गरिरहेको बताए ।