साबिक विजेता नेपाल पुलिस क्लब दोस्रो वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक वीरगन्ज युनाइटेड क्लबलाई सडेन डेथमा हराउँदै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको हो।
आदर्शनगर रंगशालामा जारी खेलमा निर्धारित समयमा दुवै टिम विनागोल बराबरी बनेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा पनि दुवै टिमको स्कोर बराबरी भएपछि खेल सडेन डेथमा प्रवेश गरेको थियो।
टाइब्रेकरमा पुलिसका लागि उज्जवल राई, रामचन्द्र बाजी, संजीव लामा, अमित टामाटा, विवेक पाण्डेले हानेका थिए। जसमा राईले पोलबाहिर र लामाले हानेको बल किपरले रोकेका थिए।
त्यसपछि सडेनडेथमा पुलिसका शिशिर चौधरी, निरज खड्का, प्रज्जवल चौधरी र सुनील तामाङले गोल गरेका थिए।
टाइब्रेकरमा वीरगन्जका आशा गुरुङ, सनतबहादुर गुरुङ, सिसस थापा, बल्टोर र कृपाकान्त चौधरीले हानेका थिए। जसमा सन्तबहादुरले हानेको बल किपरले रोके भने बल्टोरले हानेको बल पोलमा लागेको थियो।
त्यसपश्चात् सडेनडेथमा वीरगन्ज अजित चौधरी, ब्रिकम ठाकुर, प्रमजय चौधरी र विवेक चौधरीले हानेका थिए। जसमा विवेकले पोस्टबाहिर हानेका हुन्।
खेलको ९औँ मिनेटमा वीरगन्जले पाएको पहिलो कर्नरलाई पूर्ण रूपमा सदुपयोग गर्न नसक्दा खेलको नतिजा फेरिएको हो।
खेलमा कमजोर देखिएको वीरगन्जले भने पुलिसभन्दा बढी अवसर पाएको थियो। तर, कुनै पनि अवसरलाई सदुपयोग भने गर्न सकिरहेको थिएनन्।
दोस्रो हाफमा लगातार दुईपटक फ्री किकको अवसर पाएको पुलिसले पनि सदुपयोग गर्न सकेन। साबिक विजेता नेपाल पुलिस जसरी भए पनि जितको खोजीमा थियो भने आयोजक वीरगन्जले सेमिफाइनलमा प्रवेश गरेको अवसरलाई छोड्न सक्ने अवस्थामा थिएन। खेलमा म्यान अफ द म्याच नेपाल पुलिस क्लबका गोलकिपर अमित टामाटा घोषित भए।
उनले नगद १० हजार र सिल्ड पनि पाएका थिए। बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा मच्छिन्द्र फुटबल क्लब र सहलेस फुटबल क्लब सिराहा भिड्नेछन्।