योगी नरहरिनाथको १११औँ जन्मजयन्ती मनाइयो

सोमबार, १९ फागुन, २०८१
डिजिटल संस्करण

राष्ट्रगुरु योगी नरहरिनाथको १११औँ जन्मजयन्ती काठमाडौंमा मनाइएको छ। आइतबार काठमाडौं मखनकी जीवितदेवी ‘मखँ तारिणी कुमारी माजु’को सान्निध्यमा राष्ट्रगुरु योगी नरहरिनाथको जन्मजयन्ती मनाइएको हो।

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश तथा हिन्दु राष्ट्रिय स्वाभिमान जागरण अभियानका राष्ट्रिय संयोजक गोपाल पराजुलीको प्रमुख आतिथ्यतामा काठमाडौं प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा योगी नरहरिनाथको जीवन र योगदानबारे चर्चा गरिएको थियो।

हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रगुरु योगी नरहरिनाथ सिद्ध पुरुष, कर्मयोगी, महात्मा, राष्ट्रभक्त भएकोमा जोड दिँदै उनले जीवनबाट सिकेर एकजुट भई अगाडि बढ्न सके नेपाल अझै हिन्दु राष्ट्र बन्ने दिन धेरै टाढा नरहेको दाबी गरे। योगी नरहरिनाथका योगदानको कदर गर्दै उनका प्रेरक विचार र दर्शन नेपाली जनजनमा पुर्याउन राष्ट्रिय विभूति घोषणा गरेर योगीको नाममा विश्वविद्यालय स्थापना गर्नुपर्ने बताए।

सुदूरपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा नन्दबहादुर सिंहले नेपालको पुनर्जागरणका महान् अभियन्ता नरहरिनाथलाई नेपालले चिन्न नसकेकोमा दुःख व्यक्त गर्दै योगीजीको सम्मान गर्न नेपालको १९औँ राष्ट्रिय विभूति घोषणा गर्न सरकारसँग माग गरे। सिंहले मौलिक धर्म–संस्कृतिको रक्षाका लागि नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्ने बताए।

कार्यक्रममा सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीले योगीलाई लामो समयसम्म सरकार र देशले चिन्न नसके पनि अब योगीको योगदानको खोजी हुन थालेकोमा खुसी व्यक्त गरे। योगी नरहरिनाथबाट प्रेरणा लिएर नेपालको मौलिक धर्म संस्कृतिको रक्षा गर्न एकजुट भएर अगाडि बढ्न आवश्यक रहेको उनको भनाइ थियो।

सुझावित समाचार