महावीर स्टडिज एन्ड एथलेटिक्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटमा लगातार दोस्रो जित निकालेको छ। शनिबार सोनु देवकोटाले उत्कृष्ट प्रदर्शन गरेपछि महावीरले डर्थ आई युथ क्लबलाई ६८ रनले पराजित गरेको हो।
लगातार समूह ‘ए’ मा दोस्रो जितपछि महावीर ४ अंकसहित शीर्ष स्थानमा छ। अन्तिम खेलमा महावीरले पुष्पलाल स्पोर्टस् क्लबसँग खेल्नेछ। लगातार दोस्रो जितपछि महावीर सेमिफाइनल नजिक रहेको छ। यसअघि महावीरले ओसिस क्रिकेट एकेडेमीलाई हराएको थियो।
दिनको अर्को खेलमा ओसिस क्रिकेटले पुष्पलाललाई ८३ रनले हराएको छ। मूलपनी मैदानमा टस जितेर ब्याटिङ गरेको महावीरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ६२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। प्रत्युत्तरमा डर्थ आईले आठ विकेट गुमाउँदा मात्र ९३ रन बनाएको हो।
अलराउन्ड प्रदर्शन गरेका सोनुले सर्वाधिक ३७ रन बनाउनुका साथै तीन अोभरमा १४ रन खर्चेर दुई विकेट लिएका थिए। प्रतिश जिसीले २७ रनमा अविजित रहे। मिलन थापाले ३४ रन बनाएका हुन्।
प्रतियोगितामा १४ वटा क्लब र एकेडेमीले प्रतिस्पर्धा गर्ने काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर घलेले बताएका छन्। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। दुई समूहमा चार टोली र बाँकी दुई समूहमा तीन टोली छन्। प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर र उत्कृष्ट ब्याटर नगदसहित सम्मानित हुनेछन्।