एनआरटी र फ्रेन्ड्स भिड्दै

आइतबार, १३ माघ, २०८१
डिजिटल संस्करण

नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगितामा आज क्वार्टरफाइनलको अन्तिम खेल हुँदै छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे हुने खेलमा न्युरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब आमने–सामने हुनेछन् । आजको खेलसँगै क्वार्टरफाइनल समीकरण पनि पूरा हुनेछ । 

अहिलेसम्म सेमिफाइनलमा संकटा र मच्छिन्द्र खेल्ने पक्का भइसकेको छ । यस्तै, आयोजक नेपाल लोकतान्त्रिक खेलकुद बागमती प्रदेश (आयोजक)को टोलीले पनि सेमिफाइनलमा स्थान बनाएको छ । 

आयोजकको टोलीले विभागीय क्लब नेपाल पुलिसमाथि २–१ गोलको पुनरागमन जित दर्ता गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । आज खेल्ने एनआरटी र फ्रेन्ड्सबिचको विजेताले मंगलबार फाइनल प्रवेशका लागि आयोजक टिमसँग खेल्नेछ । 

सोमबार भोलि भने फाइनल प्रवेशका लागि संकटा र मच्छिन्द्र आमने–सामने हुनेछन् । सर्वाधिक पुरस्कार राशिको नेपाली कांग्रेसका सभापतिको नाममा सञ्चालित नकआउट प्रतियोगिताको विजेताले नगद २६ लाख रुपैयाँ पाउनेछ। 

यसैगरी, उपविजेता टोलीले १३ लाखमा चित्त बुझाउनेछ । प्रतियोगितामा प्रत्येक खेल खेल्ने टोलीले नगद ५० हजार पाइरहेका छन् भने प्लेयर अफ दी म्याचले १५ हजार पाएका छन् ।

लामो समयदेखि रंगशालामा शीर्ष क्लबका खेलहरू नभइरहेका वेला सभापति कप आयोजना हुनुलाई खेलाडी एवं खेल समर्थकमा भने उत्साह थपिएको छ । प्रतियोगिताका हेर्नका लागि एक सय र तीन सय रुपैयाँको टिकट तोकिएको छ ।

See More On

सुझावित समाचार