मोती समुद्रमा मात्र पाइन्छ भन्ने आबुझाइ चिर्दै पछिल्लो समय पोखरी र तलाउमा समेत मोती उत्पादन गर्न थालिएको छ। नेपालमै केही व्यक्तिले मोतीखेती गर्न थालेपछि यो व्यवसाय परिचित बन्दै गएको छ।
यद्यपि, पोखरी र तलाउमै मोतीखेती कसरी गर्ने भन्ने प्राविधिक ज्ञानको भने कमी देखिन्छ। यही परिस्थितिलाई मध्यनजर गर्दै किसानहरूलाई मोती उत्पादनबारे तालिम दिन सक्ने कृषि अधिकृत र प्राविधिक तयार पार्न थालिएको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धनुषाले माछा जोन र सुपरजोन एकाइका कृषि अधिकृत र प्राविधिकहरूलाई दक्षता विकासका लागि चारदिने स्थलगत व्यावहारिक प्रशिक्षण दिएको हो। नार्कअन्तर्गतको मत्स्य अनुसन्धान केन्द्र बेगनास कास्कीमा माघ ६ देखि ९ गतेसम्म प्रशिक्षण सञ्चालन गरिएको हो।
माछा जोन, सुपरजोन एकाइहरू कैलाली, रुपन्देही, मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, बारा र बर्दियाका अधिकृत तथा प्राविधिकहरूलाई अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक तथा मोतीपालन विज्ञ डा. इकबाल हुसेनले प्रशिक्षण दिएका हुन्। प्रशिक्षणमा सहयोगी प्रशिक्षकको रूपमा परियोजना कार्यान्वयन एकाइ धनुषाका मत्स्यविज्ञ विष्णुदेव यादव रहेका थिए।
तालिम लिएर फर्केका कैलालीका कृषि अधिकृत लक्ष्मी साहले तालिममा सिकेको व्यावहारिक ज्ञानलाई आफ्नो जोनभित्रका किसानलाई सिकाएर मोती खेतीलाई बढावा दिने बताए। माछापालनसँगै गर्न मिल्ने यो व्यवसायमा धैर्यता आवश्यक रहेको र प्राविधिक ज्ञानसहित गरिने यो खेतीले कृषकलाई उत्साहित बनाउने उनको भनाइ थियो।
कृषि अधिकृत तथा प्राविधिकहरूलाई तालिमपश्चात् आफ्नो जोनभित्रका कृषकहरूलाई दक्ष बनाई मोतीखेतीको व्यवसाय बढाउन सहयोगी भूमिका निर्वाह गर्न सक्ने गरी क्षमता अभिवृद्धि गरिएको परियोजना कार्यान्वयन एकाइ धनुषा र मधेश प्रदेशका परियोनजा समन्वय एकाइ प्रमुख वरिष्ठ कृषि अधिकृत ललनकुमार सिंहले बताए।