कुवेतमा लगेर घरेलु काममा लगाइदिने प्रलोभनमा मानव बेचबिखन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
सिन्धुपाल्चोक जुगल गाउँपालिका–६ बस्ने २६ वर्षीय धर्म तामाङ र ३९ वर्षीय माईला लामा पाख्रिन भन्ने टिकाराम तामाङलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो। धर्मलाई लम्जुङ मर्स्याङदी गाउँपालिका–३ बाट गत बिहीबार र टिकारामलाई कास्की पोखरा महानगरपालिका–१६ लामाचौरबाट शुक्रबार पक्राउ गरी मुद्दा प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
उनीहरूले पीडितलाई फ्रि भिषा फ्रि टिकटमा कुवेतमा मासिक १ सय २० केडी कमाई हुने घरेलु काममा लगाइदिने प्रलोभनमा पारी २०८० साउन ४ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दुबई हुँदै कुवेतको अलजारा लगेका थिए । कुवेती घर मालिकलाई ९ सय कुवेती दिनार(करिब तीन लाख ९७ हजार रुपैयाँमा बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। सो घरमा पीडितको शोषण भएकोमा पछि उद्धार गरेर नेपाल ल्याइएको थियो।
