कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतक प्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)को चौथो खेलमा विराटनगर किंग्सलाई १८३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मंगलबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै कीर्तिमानी १८२ रन बनायो ।
प्रतियोगिताको एकै इनिङ्समा बनेको यो नै सबैभन्दा धेरै रन हो । यसअघि तेस्रो खेलमा कर्णाली याक्सविरुद्ध जनकपुरले दुई विकेट गुमाउँदै १४२ रन बनाएको थियो ।
इशान पाण्डे र दीपेन्द्रसिंह ऐरीबिच छैटौँ विकेटको लागि ४९ रनको बलियो साझेदारी भएपछि सुदूरपश्चिम प्रतियोगिताकै सबैभन्दा धेरै रन बनाउन सफल भयो । दीपेन्द्रले २४ बलमा तीन चौका र पाँच छक्कासहित अविजित सर्वाधिक ५७ रन बनाए । उनी अनिलकुमार शाहपछि अर्धशतक बनाउने दोस्रो नेपाली खेलाडी हुन् ।
छैटौँ नम्बरमा आएर १६ बलमा दुई चौका र एक छक्कासहित २१ रन बनाएका इशान पाण्डेलाई अनिल खरेल र विकेटकिपर लोकेश बमले रनआउट गराए ।
सुदूरपश्चिमका लागि स्कटल्यान्डका खेलाडी ब्रान्डन म्याकमुलेनले २६ बलमा समान दुई चौका र छक्कासहित ३६ रन बनाए । अनुभवी ओपनिङ ब्याटर विनोद भण्डारीले २० बलमा चार चौकासहित २३ रन जोडे ।
इंग्ल्यान्डका सेफ जैब १५ बलमा एक छक्कासहित १४ रन बनाएर पेभिलियन फर्किएका थिए । तीनै खेलाडीलाई अनिल खरेलले आउट गरेका थिए । न्युजिल्यान्डका ३२ वर्षीय स्कट कुगेलेइनले १० रन जोडे ।
यसअघि ओपनर अमित श्रेष्ठ एक रनमै आउट भएपछि सुदूरपश्चिम दबाबमा आएको थियो । आरिफ शेख पनि नाै रनमै आएट भएका थिए ।
विराटनगरका लागि अनिलले चार ओभरमा २६ रन खर्चिँदै सर्वाधिक तीन विकेट लिएका थिए । २२ वर्षीय अफगानिस्तानका इस्मत आलम, स्कटल्यान्डका ३० वर्षीय क्रिस सोल र बसिर अहमेदले समान एक विकेट हात पारेका थिए ।
कप्तान सन्दीप लामिछाने दोस्रो खेलमा पनि विकेटविहीन रहे । उनले चार ओभरमा ३१ रन खर्चिँदा कुनै विकेट लिन सकेनन् । पहिलो खेलमा जनकपुरविरुद्ध चार ओभरमा ३० रन खर्चिँदा पनि उनी विकेटविहीन भएका थिए ।
प्रतियोगितामा सुदूरपश्चिमको याे पहिलो खेल हो । विराटनगर भने पहिलो जितको खोजीमा छ । पहिलो खेलमा विराटनगर जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो ।
आज नै हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुनेछ। पोखराको पहिलो खेल हो भने चितवन दोस्रो जितको खोजीमा छ । चितवनले पहिलो खेलमा काठमाडौं गुर्खाजलाई हराएको थियो ।