संखुवासभामा जारी अरुण भ्याली फुटबल प्रतियोगिताको उपाधि पञ्चकन्या क्लबले जितेको छ। सोमबार चुलाचुली क्लब धनकुटा र पञ्चकन्या क्लब संखुवासभाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। २—१ गोल गर्दै पञ्चकन्या क्लबले उपाधि जितेको हो।
प्रतियोगिताको हाफटाइमअगाडि चुलाचुली क्लब धनकुटाका तपन कार्कीले एक गोल गर्दै क्लबलाई अग्रता दिलाएका थिए। हाफटाइमपछि पञ्चकन्याले एक गोल फर्काउँदै बराबरी गरेको थियो। त्यसपछि पुनः एक गोल थपेर पञ्चकन्याले उपाधि जितेको हो। फाइनल खेल अत्यन्तै रोमाञ्चक भएको थियो।
एडभान्स क्लबको आयोजनामा खाँदबारी नगरपालिका–३, मानेभञ्ज्याङमा भएको नवौँ संस्करणको प्रतियोगितामा सेकाहा क्लब र लोहोरुङ क्लब सेमिफाइनलिस्ट भएका छन्।
प्रतियोगिताको बिजेताले नगद दुई लाख, उपविजेताले एक लाख तथा सेमिफाइनलिस्ट दुई टिमले नगद २५-२५ हजार रुपैयाँ प्राप्त गरेका छन्। उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सांसद तथा पूर्वस्वास्थ्यमन्त्री राजेन्द्र कार्कीले पुरस्कार वितरण गरेका थिए।
प्रतियोगितामा खेलकुदका साथै मनोरञ्जनात्मक कार्यक्रमसमेत सञ्चालन गरिएको थियो। रियालिटी सो ‘मेरो भ्वाइस युनिभर्स’का फाइनलिस्ट परेश राईले सांगीतिक प्रस्तुति दिएका थिए।