जिम्बावेले तोड्यो नेपालको रेकर्ड

बिहिबार, ८ कार्तिक, २०८१
डिजिटल संस्करण

सन् २०२३ मा नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनाउँदै सबैभन्दा धेरै रन बनाउने कीर्तिमान बनाएको थियो

आइसिसी टी–२० क्रिकेटमा धेरै रन बनाउने नेपालको कीर्तिमान जिम्बावले तोडेको छ । जिम्बावेले आइसिसी पुरुष टी–२० सब रिजनल छनोटमा गाम्बियाविरुद्ध चार विकेट गुमाउँदै ३४४ रन बनाएको हो । यसअघि सन् २०२३ मा नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनाउँदै सबैभन्दा धेरै रन बनाउने कीर्तिमान बनाएको थियो ।

बुधबार टस जितेर ब्याटिङ गरेको जिम्बावेका लागि सिकन्दर राजाले १३३ रन बनाए । चौथो नम्बरमा क्रिजमा आएका उनले ४३ बलमा १५ छक्का र ७ चौका प्रहार गरे । त्यस्तै, ओपनर तादिवानासे मारुमानीले ६२, ओपनर ब्राइन बेनेटले ५० तथा क्लिभ मेन्डेनले ५३ रन बनाएका छन् । तादिवानासे र ब्राइनले पहिलो विकेटका लागि ९८ रनको साझेदारी गरेका थिए । प्रत्युत्तरमा गाम्बियाले १४.४ ओभरमा अल आउट हुँदा मात्र ५४ रन बनाउन सक्यो । गाम्बियाका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । जिम्बावेका रिचार्ड गाराभा र ब्रान्डन माभुताले समान तीन विकेट हात पारेका थिए । 

१९औँ एसियन्स गेम्समा नेपालले मंगोलियाविरुद्ध टस हारेर तीन विकेट गुमाउँदै ३१४ रन बनाएको थियो । प्रत्युत्तरमा १३.१ ओभरमा अल आउट हुँदा मंगोलियाले ४१ रन मात्रै बनायो । नेपाल २७३ रनले विजयी भएको थियो । 

नेपालको जितमा कुशल मल्लले अविजित १३७ रन बनाएका थिए । उनले ५० बलमा १२ छक्का र ८ चौका प्रहार गरेका थिए । कप्तान रोहितकुमार पौडेलले २७ बलमा ६१ तथा दीपेन्द्रसिंह ऐरीले १० बलमा ५२ रन बनाएका थिए । यही खेलमा दीपेन्द्रसिंहले ६ बलमा ६ छक्का प्रहार गरेका थिए । 
 

See More On

सुझावित समाचार