‘अन्य हरितगृह ग्यासको तुलनामा मिथेनको वृद्धि तीव्र’

मंगलबार, २५ भदौ, २०८१
डिजिटल संस्करण
‘अन्य हरितगृह ग्यासको तुलनामा मिथेनको वृद्धि तीव्र’

प्रतिकात्मक तस्बिर

वातावरणीय अनुसन्धानकर्ताले वायुमण्डलमा तीव्र रूपमा बढिरहेको शक्तिशाली हरितगृह ग्यास मिथेनका कारण जलवायु लक्ष्य पूरा गर्ने विश्वव्यापी प्रयासलाई खतरामा पार्न सक्ने चेतावनी दिएका छन्।

‘मिथेन अन्य प्रमुख हरितगृह ग्यासको तुलनामा सापेक्ष रूपमा छिटो बढिरहेको छ र पूर्वऔद्योगिक समयको तुलनामा हाल २.६ गुणा बढी छ,’ ग्लोबल कार्बन प्रोजेक्टको तत्वावधानमा अनुसन्धानकर्ताको अन्तर्राष्ट्रिय समूहले वातावरणीय अनुसन्धानपत्रहरूमा प्रकाशित गरेको अध्ययनमा भनिएको छ।

कार्बनडाइअक्साइडपछि मानव गतिविधिले सबैभन्दा प्रचुर मात्रामा उत्पादन हुने हरितगृह ग्यास मिथेन हो। कृषि, ऊर्जा उत्पादन र जैविक प्रदूषण यसका प्रमुख स्रोतहरू छन्।

सन् २००० को दशकमा वायुमण्डलमा प्रतिवर्ष औसत ६.१ मिलियन टन मिथेन उत्सर्जन हुन्थ्यो। सन् २०१० को दशकमा यो बढेर २०.९ मिलियन टन प्रतिवर्ष पुगेको थियो भने सन् २०२० को दशकमा यो ४१.८ मिलियन टन पुगेको छ।

यसको प्रमुख उत्सर्जक चीन र दक्षिणपूर्वी एसिया हो जसको मुख्य स्रोत कोइला निकासी, तेल र ग्यास उत्पादनसँग जोडिएको छ। बढ्दो मिथेन प्रदूषणले पृथ्वीको औसत तापक्रम पूर्व–औद्योगिक स्तरभन्दा २ डिग्री सेल्सियसभन्दा बढ्न नदिने विश्वव्यापी प्रयासलाई कमजोर बनाइरहेको छ।

सन् २०३० सम्म विश्वव्यापी मिथेन उत्सर्जन ३० प्रतिशतले कटौती गर्न युरोपेली संघ र संयुक्त राज्य अमेरिकाले सन् २०२१ मा ‘ग्लोबल मिथेन प्रतिज्ञा’ सुरु गरेका थिए। यसमा १५० भन्दा बढी राष्ट्रले हस्ताक्षर गरेका छन्। 

‘ग्लोबल मिथेन प्रतिज्ञाका लक्ष्यहरू प्राप्त गर्नु हाल मरुभूमिमा पानी भेटिनुजत्तिकै कठिन देखिन्छ,’ वातावरणीय अनुसन्धानपत्रका प्रमुख लेखक, स्ट्यानफोर्ड विश्वविद्यालयका वैज्ञानिक रोब ज्याक्सनले भने।

चीन र संयुक्त राज्य अमेरिकाले यस वर्षको अन्त्यमा कार्बनडाइअक्साइडबाहेक अन्य हरितगृह ग्याससम्बन्धी शिखर सम्मेलन आयोजना गर्ने तयारी गरिरहेका छन्।

सुझावित समाचार