एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी बिहीबार बस्ने गरी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएपछि पहिलोपटक सचिवालय बैठक बस्न लागेको हो ।
केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले मुलुकको समसामायिक राजनीतिक परिस्थिति र केन्द्रीय नेताहरूको कार्य विभाजनलगायतका एजेन्डा बैठकमा छलफल गर्ने तयारी छ । ‘केन्द्रीय सदस्यहरूलाई अन्तरजिल्ला हेर्ने गरी जिम्मेवारी दिइएको थियो, त्यसरी जिम्मेवारी दिइएको एक वर्ष पूरा भएकाले अबको बैठकबाट नयाँ कार्य विभाजन गरेर व्यवस्थापन गर्ने गृहकार्यसहित बैठक बोलाइएको छ,’ अधिकारीले भने, ‘त्यसबाहेक मुलुकको समसामयिक राजनीतिक घटनाक्रमलगायतका विषय बैठकका एजेन्डा बन्नेछन् ।’ उनले भूगोलबाहेक केन्द्रीय विभागहरूको जिम्मेवारी पनि आवश्यकताअनुसार हेरफेर हुन सक्ने बताए । एमालेमा ३२ वटा विभाग छन् ।
गत २६ असारमा बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यहरूलाई गृहजिल्लाबाहिर फरक कार्यक्षेत्रमा इन्चार्ज बनाएर काममा खटाएको एक वर्षअघिको निर्णयबाट पूर्वअवस्थामै फर्किने निर्णय गरेको थियो । त्यसअनुसार महासचिव शंकर पोखरेलले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शमा नयाँ कार्य विभाजनको गृहकार्यसम्बन्धी प्रस्ताव तयार गरेका छन् ।