सप्तरीको रूपनगर नन्दराज संग्रौला क्याम्पसका विद्यार्थीहरूलाई बिहीबार एक समारोहमा वडाध्यक्ष छात्रवृत्ति वितरण गरिएको छ। कञ्चनरूप नगरपालिका, वडा नम्बर १२ का वडाध्यक्ष देवीबहादुर खत्रीको पहलमा नगरपालिकाले उपलब्ध गराएको एक लाख रुपैयाँबाट क्याम्पसका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको हो।
क्याम्पस प्रमुख प्राध्यापक दीपककुमार गजुरेलका अनुसार वडाध्यक्ष खत्रीले क्याम्पसका एकजना जेहेन्दार र पाँचजना विपन्न गरी ६ जनालाई जनही १६ हजार ६६६ रूपैयाँका दरले छात्रवृत्ति रकमको चेक हस्तान्तरण गरे।
क्याम्पसमा आयोजित कार्यक्रममा अध्यक्ष खत्रीले क्याम्पसको प्रगतिका लागि सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। छात्रवृत्तिका लागि विद्यार्थी छनोट गर्न क्याम्पसले, कक्षामा उपस्थिति नियमित, लिखित परीक्षा, अन्तर्वार्ता, अघिल्लो परीक्षाको प्राप्तांकलगायत विभिन्न मापदण्डको प्रावधान राखेर छात्रवृत्ति कार्यविधि निर्माण गरेको थियो। सोही आधारमा छात्रवृत्तिको निर्णय भएको जानकारी क्याम्पस प्रमुख गजुरेलले जानकारी दिए।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित, बिबिएस पढाइ हुने रूपनगर क्याम्पसका विद्यार्थीहरूले यस वर्षदेखि ५ वटा छात्रवृत्ति पाउने व्यवस्था भएको छ। उनका अनुसार ती छात्रवृत्तिमा, विश्वविद्यालय अनुदान आयोगले दिने छात्रवृत्ति, मधेश प्रदेश सरकारको छोरी छात्रवृत्ति, वडाध्यक्ष छात्रवृत्ति, राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति, क्याम्पसले आफ्नै स्रोतबाट दिने छात्रवृत्ति गरी वर्षेनी पाँचवटा छात्रवृत्ति रूपनगर क्याम्पसमा भर्ना हुने विद्यार्थीहरूले प्राप्त गर्नेछन्।
विश्वविद्यालय अनुदान आयोगबाट दिइने छात्रवृत्ति यस वर्ष क्याम्पसका २२ जना विद्यार्थीले पाए भने मधेश प्रदेश सरकारले दिने छोरी छात्रवृत्ति चारजना छात्राले प्राप्त गरेका छन्। विश्वविद्यालय अनुदान आयोगको छात्रवृत्ति एकपटक पाउने विद्यार्थीले स्नातक पढुन्जेल ४ वर्षसम्म प्रत्येक वर्ष १५ हजार रुपैयाँ पाउने व्यवस्था छ।
यसैगरी, मधेश प्रदेश सरकारको छात्रवृत्तिको रकम वार्षिक २५ हजार रुपैयाँ छ। उपरोक्त दुवै छात्रवृत्ति सामुदायिक र आंगिक क्याम्पसमा पढ्ने विद्यार्थीले मात्र पाउने व्यवस्था रहेको गजुरेलले जानकारी दिए।